१२ असार २०८३, शुक्रबार

विमलराज क्षत्रीको नयाँ गीत 'घर त पर हो' युट्युबमा

विमलराज क्षत्रीको नयाँ गीत 'घर त पर हो' युट्युबमा

नेपाली लोकसंगीतका गायक तथा सर्जक विमलराज क्षत्रीको नयाँ गीत सार्वजनिक भएको छ ।

क्षत्रीले ‘घर त पर हो’ बोलको गीत विमलराज क्षत्री नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्। गीतमा उनको आफ्नै शब्द, संगीत, स्वर रहनुका साथै भिडियोमा अभिनय पनि गरेका छन्। 

डेढ दशकअघि नेपाली लोकसंगीतमा उनका गीत निकै हिट थिए। क्षत्रीका हरेक गीतले श्रोता र दर्शकको मन जितेको थियो । क्षत्रीले १५ वर्षपछि ‘घर त पर हो’ बोलको गीत सार्वजनिक गरेको जानकारी दिए। 'म संगीतको साधनामा नै थिएँ । हराएको चाहिँ होइन । अब निरन्तर लोकगीत बजारमा ल्याउँछु', उनले भने। 

२ दशकअघि ‘बल्लै भो भेट’ गीतबाट चर्चामा आएका क्षत्रीको रानीघाटैमा, मधुबनैमा, जापान टोकियो, ए हजुर एक्लो परानी, हिमाल सेतै छलगायत दर्जन बढी गीतले श्रोतामाझ बलियो स्थान जमाउन सफल भएका थिए । पर्वत घर भएका क्षत्रीले गीतसंगीतका साथै प्रशान्ति क्यासेट सेन्टर पनि सञ्चालन गरेका थिए। 

'२०६४ सालमा अन्तिम पटक मेरो आफ्नै लय, शब्द र स्वरमा ‘डुल्छु रन वन’ गीतमा मोडलिङ गरेको थिएँ । अहिले १५ वर्षको अन्तरालमा ‘घर त पर हो’ गीतबाट फेरि अभिनयमा फर्केको छु', उनले भने, 'यात्रा सहज नहुँदोरहेछ । चर्चा र लोकप्रियता शेयर बजारजस्तो हुँदो रहेछ । कहिले हरियो त कहिले रातो । भाइरलभन्दा पनि आउँदो पुस्ताले स्वीकार्न सक्ने सृजना दिनुपर्छ भन्ने लाग्छ ।'

शब्द, लय र स्वर उनकै रहेको उक्त गीतमा टीकाकुमारी क्षत्रीले साथ दिएकी छन्। भिडियोको निर्देशन उदिराम खड्काले गरेका छन भने अभिनय कविता गलाल, उदिराम खड्का, टीकाकुमारी क्षत्री र गायक क्षत्रीको रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्