
पछिल्लो ९ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रिएको छ । चालू आर्थिक वर्ष २०७९/८० को चैतसम्ममा विभिन्न देशबाट प्राप्त भएको रेमिट्यान्स आय ९ खर्ब ३ अर्ब ३९ करोड रूपैयाँ रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
यस्तो रेमिट्यान्स आय पछिल्लो ६ महिनादेखि लगातार मासिक १ खर्ब रूपैयाँभन्दा बढी संकलन भइरहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार औसतमा नेपालमा यो वर्ष मासिक १ खर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस्तो रेमिट्यान्स आय गत वर्षको चैतसम्मको तुलनामा २४.२ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा नेपालबाट ३ लाख ८७ हजार ८ सय ३९ जना नेपालीले श्रम स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भएको छ ।
यो अवधिमा २ लाख १७ हजार ९ सय ५९ जनाले पुनः श्रम स्वीकृति लिएको पनि देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो । यो अवधिसम्ममा कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड (१० अर्ब ९४ करोड डलर) पुगेको छ ।
यस्तो डलर सञ्चिति अघिल्लो महिना फागुनसम्ममा १० अर्ब ६९ करोड डलर रहेको थियो । चैतसम्ममा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रूपैयाँले बचतमा रहेको छ ।
चालू आर्थिक वर्षको पछिल्लो ९ महिनाको रेमिट्यान्स आय
