
राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पछिल्लो समय विमानस्थलबाट बाहिरिएको १०० किलोग्राम सुनसँग सम्बन्धित घटनाकामा निष्पक्ष छानबिनका लागि सभामुखसमक्ष संकल्प प्रस्ताव प्रस्तुत गरेको छ ।
संघीय संसद्मा विरोधका लागि विरोध नभई संसदीय प्रणाली र सविधानले दिएको संसदीय अधिकार प्रयोग गर्दै सुन सम्बन्धी पछिल्लो घटनाको पूर्ण र निष्पक्ष छानबिन गर्न आफूहरूले सभामुखलाई भेटेर माग गरेको सांसद मनिष झाले जानकारी दिए ।
सभामुखसमक्ष दलले अघि सारेको संकल्प प्रस्ताव प्रस्तुत गर्दै सभापति रवि लामिछाने सहितका सांसदले निष्पक्ष र पूर्ण छानबिनका लागि माग गरेको झाले बताए । उनले भने, ‘एकैपटक त्यति ठूलो परिमाणमा सुन कसरी छोडियो ? पूर्ण छानबिन नै नभई मन्त्रीको राजीनामा माग्ने, अनि बोल्नै नदिई सभा अवरुद्ध गर्नुभन्दा लोकतान्त्रिक संसदीय परिपक्क अभ्यास गर्दै अघि बढ्नुपर्छ भन्ने मान्यता राख्छौं र त्यसमा दृढ रहन्छौं, त्यसका लागि संकल्प प्रस्ताव दर्ता गराएका हौं ।’
संकल्प प्रस्तावमा पार्टीका सबै सांसदको हस्ताक्षर रहेकोे र संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएको सांसद झाले जानकारी दिए । प्रतिनिधिसभा नियमावलीको अधिनमा रही कुनै सदस्यले सार्वजनिक महत्त्वको राय वा सिफारिस प्रकट गर्न, सरकारको कुनै कार्य वा नीतिको समर्थन वा विरोध वा पुनर्विचारका लागि ध्यानाकर्षण गराउन तथा कुनै सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव पेश गर्न सकिने व्यवस्था छ ।
सभामुखले उपयुक्त र आवश्यक ठहर्याएको खण्डमा अन्य कुनै विपषयमा पनि संकल्प प्रस्ताव पेश गर्न अनुमति दिन सक्नेछन् । रास्वपाका सभापति लामिछानेले संकल्प प्रस्तावको उद्देश्य, आवश्यकता र औचित्यबारे व्याख्या गरेर सुनाएपछि सभामुखले सचिवालयमा दर्ता गराउन र कानून, न्याय र संसदीय मामिलामन्त्रीलाई जानकारी गराउन सुझाव दिएका सांसद झाले बताए ।
छलफलका लागि अनुरोध गर्दै ल्याएको प्रस्तावको प्रक्रियालाई सकारात्मक राजनीतिक अभ्यासका रूपमा आफूले लिएको जनाउँदै सभामुखले यथाशीघ्र अघि बढाउने प्रतिबद्धता जनाएका सांसद झाले जानकारी दिए । नियमावलीमा प्रस्ताव प्रस्तुतकर्ताले पेश गर्न चाहेको प्रस्तावको सूचना सचिवलाई दिनुपर्ने र त्यस्तो प्रस्ताव दर्ता भएको ७ दिनपछिको कुनै पनि बैठकमा छलफल गर्न सकिने प्रावधान छ ।
संकल्प प्रस्ताव स्वीकार योग्य छ वा छैन भन्ने प्रश्नको निर्णय सभामुखबाट हुनेछ ।