×

दिनचर्या

सञ्जाल बाहिर पनि छ दुनियाँ ! झनै आनन्द र चैनपूर्ण

काठमाडाैं | साउन १३, २०८०

उनकै कार्यकर्ताले मानेनन्, अझ भनौं झन् बढी उल्लंघन गरे, यो बेग्लै कुरा हो तर सरकारबाट हटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा असाध्यै राम्रो कुरा गरेका थिए २०७८ फागुन २७ गते पोखरामा ।

Laxmi Bank

अन्य दलका कार्यकर्ताले पनि विरोध गर्नु नपर्ने र अहिलेका युवालाई काम लाग्ने कुरा ।


Advertisment

पार्टी निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको भेलामा ओलीले भनेका थिए, ‘सामाजिक सञ्जालमा हामी यस्तो चिज मात्र लेखौं, जुन सही र उचित हुन सकोस् । हामी यसरी फेसबूकमा नलेखौं कि तिर्खा लाग्यो पानी पिउँ कि क्या हो ? फेरि एकछिनमा फेसबूकमा लेख्यो – पानी खाएको कस्तो मजा आयो । यसरी फेसबूकमा नलेखौं । हाम्रो जिन्दगी यति अमूल्य छ, खेर नफालौं । हाम्रो लेखाइले अरूको समय बर्बाद नगरिदिओस्, बरू केही फाइदा गरोस् । हामीले हाम्रो समय, बुद्धि र ज्ञानको सदुपयोग गर्नुपर्छ ।’


Advertisment

ओलीले यति आदर्शवादी कुरा गरेका थिए, दुर्भाग्य भन्नुपर्छ सामाजिक सञ्जालमा सबैभन्दा बढी फाल्तु कुरा उनकै कार्यकर्ताले लेखिरहेका छन् । तलका कार्यकर्ताको कुरा छाडौं केन्द्रीय तहका नेताहरूले यस्तै फाल्तु कुरा लेखेर सामाजिक सञ्जाललाई प्रदूषित बनाइरहेका छन् । एकअर्कालाई चाहिने/नचाहिने आरोप लगाएका छन् ।

सामाजिक सञ्जालको लत मानिसहरूलाई रक्सी–चुरोटको भन्दा पनि ज्यादा लागिसकेको छ । मानिसहरू छाक छाड्न तयार छन् तर सामाजिक सञ्जाल छाड्न तयार छैनन् । त्यो नहेरे पनि जीवनमा फरक पर्दैन तर मानिसहरू छाड्न तयार छैनन् । मानौं, यहाँभन्दा बाहिर दुनियाँ छैन ।

सञ्जालमा देख्न बाध्य ती भद्दा दृश्य

पेशाले पत्रकार त्यो पनि डिजिटल मिडियामा काम गर्ने भएकाले सामाजिक सञ्जालबाट टाढा बस्न कठिन छ । देश दुनियाँमा भइरहेका घटनाक्रमबारे जतिबेला पनि चनाखो हुनुपर्ने भएकाले छिनछिनमा सामाजिक सञ्जाल हेर्नुपर्ने बाध्यता छ । सूचना र समाचारको एउटा स्रोत बनेको सामाजिक सञ्जालबाट पत्रकार टाढा बस्न मिल्दैन । हेरिसक्नु पनि छैन !

सामाजिक सञ्जाल खोल्दा अपवादबाहेक चाहिनेभन्दा नचाहिने कुरा देखिन्छन् । एउटाले बिहान ५ बजे नै फेसबूकमा तस्वीर पोस्ट्याउँदै लेख्छ – यस्तो हेण्डम फोटो त सायद कसैको थिएन होला । आत्मप्रशंसाको भोक । जेठ महिनाको गर्मीमा पुसमा खिचिएको फोटो राखेर कमेण्ट गर्न आग्रह गर्छ । पुस महिनामा हाफ टिसर्ट लगाएको फोटो राखेर तमासा देखाउँछ । 

सबभन्दा भद्दा त आजकल टिकटकका भिडियोमा देख्न पाइन्छ – पतिपत्नी नाचेको भिडियो । पतिलाई कुनै रुचि–जाँगर छैन – पत्नीका लागि जबरजस्ती नाच्नु परेको छ । पत्नीले इन्कार गर्दागर्दै पनि पतिले जबरजस्ती भिडियोमा नचाएको छ । पति र पत्नी नाच्नैपर्ने कृत्रिम फेसन, अक्कल नमिलेका भिडियो ।

टिकटकमा राखिएका भिडियोले सालिन र भद्र व्यक्तिलाई पनि हल्का र उत्ताउलो बनाइदिएको छ ।

सामाजिक सञ्जालमा सस्तो लोकप्रियता कमाउने प्रतिस्पर्धाले मानिसहरू आफ्नो धरातल बिर्सन थालेका छन् । यो अर्थहीन र बेतुकको प्रतिस्पर्धाले मध्यम वर्गका अविभावक दबाबमा परेका छन् । जाबो एउटा टिकटक भिडियो बनाउनका लागि सेलिब्रेटीले लगाउने खालका कपडा/जुत्ता किन्नुपर्ने, कलाकार उभिएकै ठाउँमा जानुपर्ने जिद्दीले एकथरी अभिभावक आजित छन् ।

कर्णाली चिसापानीको पुलको मुखमा होटल सञ्चालन गर्ने एक दिदीले गत मंसिरको चुनावी रिपोर्टिङका क्रममा सुनाएअनुसार कर्णालीको पुलमा टिकटक बनाउनकै लागि काठमाडौं, पोखरा र बुटवलबाट युवाहरू पुग्छन् । प्रतिष्ठाभन्दा पनि चर्चा कमाउने तिर्खाले युवा पुस्तालाई गलत बाटोमा लगेको छ ।

सामाजिक सञ्जालले बिगार्दै लगेको युवा पुस्ता, जसले आफ्नो रीतिरिवाज र संस्कार बिर्सिसकेको छ । नाताले खुट्टा ढोग्नुपर्ने गाउँको भतिजोले म्यासेन्जरमा नमस्कार होइन, हाई लेख्छ ।

अर्को स्वाङ – आउनुस् कफी खाउँ !

एकजना नेत्रीले केही समय पहिले बानेश्वरबाट ट्वीट गरिन् – बानेश्वरतिर आउनुस्, कफी खाउँ ! नयाँ बानेश्वरको बेकरी क्याफेको अर्को टेबलमा बसेको मलाई देखे–नदेख्यै गरिन् । जबकि मैले उनीसँग रेडियोमा कैयौपटक अन्तर्वार्ता गरेको थिएँ । 

कुनै रेस्टुराँमा बसेर ‘आउनुस्, यस्तो खाऔं’ भनेर लेख्ने फेसन भइसकेको छ । त्योभन्दा सिधै म यस्तो रेस्टुराँमा खाजा खाँदैछु भनेर लेखे हुन्थ्यो । दानका नाममा जसले अक्षय तृतीयामा अरुलाई जौंको सातु र खुँदे पानी समेत खुवाउँदैन, उसले आउनुस् कफी खाऔं भनेर लेख्छ । कति हास्नु ? सामाजिक सञ्जालले मानिसलाई कति नक्कली बनायो !

खाना पकाएर सामाजिक सञ्जालमा सजाउनेको अर्को चर्तिकला देखिन्छ । खाना पकाएको लाइभ गरे पनि उसको व्यक्तिगत स्वतन्त्रताको विषय भयो, यसमा विरोध गर्ने र अरुले टाउँको दुखाउने विषय त भएन । ‘व्यक्तिगत नभई सामाजिक सञ्जाल’ भनिएकाले त्यहाँ समाजलाई भलो हुने र हित गर्ने चिजहरू नै राख्दा राम्रो हुन्थ्यो । 

जस्तो केही डाक्टरहरूले हेल्थ टिप्स दिइरहेका हुन्छन्, कसैले आयुर्वेद र खानको कुरा लेखिदिएका हुन्छन् । सबैले ज्ञान गुनका कुरा लेख्नैपर्छ भन्ने जरुरी छैन, आँखा नबिझाउने तस्वीर राखे पनि हुन्छ तर केपी ओलीले भनेजस्तै ‘५ मिनेट अगाडि तिर्खा लाग्यो भनेर लेखेको छ, ५ मिनेटपछि पानी खाएको मज्जा लाग्यो’ भन्ने खालका स्टाटसले व्यक्तिलाई हलुका बनाइरहेको छ । 

सर्वस्व यही होइन, बाहिर पनि दुनियाँ छ

राज्यकोषबाट तलब खाने सरकारी कर्मचारीहरू सञ्जालमा आदर्श छाटिरहेका हुन्छन् तर आफ्नो काम गरेका हुँदैनन् । सेवाग्राहीहरू कार्यालयमा लाइनमा हुन्छन्, उसले नेतालाई गाली गर्दै खुब आदर्शवान जस्तै गरी ट्वीट लेख्छ । विद्यार्थीलाई पढाउनुपर्ने शिक्षक मोबाइलमा भिडियो हेरेर बस्छ, फेसबूकको लतले कुनै नर्श बिरामीलाई समयमा औषधि दिन्न तर सामाजिक सञ्जालमा ऊ आदर्श र सेलिब्रेटी हुन्छ ।

केही मानिसहरू आफूलाई सामाजिक सञ्जालका जिम्वाल ठान्छन् । सञ्जालमा केही सय या हजार फलोअर्स भएका उनीहरूले आफूलाई अगुवा ठान्छन्, आफैंले लेखे/भनेको सही सत्य हो भनेर हल्ला गर्छन् । हुटिट्याउँले आकाश थामेको जस्तै आफ्नै ट्वीटले सारा परिवर्तन भइरहेको भ्रममा बाँच्छन् । अरनिको यातायातलाई माथ गर्ने गरी उनीहरूले सिण्डिकेट खडा गरेका छन्, एउटाले लेख्छ अर्कोले सही थप्छ ।

सामाजिक सञ्जालमा अर्को होलटाइमर छन्, बिहानदेखि बेलुकासम्म लेखेको लेख्यै छ । मानौं ब्रह्माण्ड त्यही एउटा मोबाइलभित्र मात्र छ, बाहिर केही छैन । वास्तविकता यस्तो पनि होइन । सूचना प्रविधिको विकास र इन्टरनेटको सहज पहुँचले गर्दा मानिसहरू सामाजिक सञ्जालमा उपलब्ध छन् । सञ्जालले मानिसलाई छिटोछिटो सूचित गरेको छ ।
 
मानिसको जीवनमा सकारात्मक परिवर्तन पनि ल्याएको छ, सञ्जालमा चलाइएका अभियानका कारण दिनदुखीले उपचार खर्च जुटाएका छन्, नयाँ जीवन पाएका छन् । सञ्जालकै माध्यमबाट मानिसहरूले नयाँ–नयाँ खालको व्यापार–बिजनेश गरिरहेका छन्, रोजगाजी सिर्जना गरेका छन्, राम्रो कुरा त छँदैछ । 

तर आधुनिक पुस्ताले बिर्सन लाग्यो, भर्चुअल सञ्जाल बाहिर पनि समाज छ । नक्कली आवरणले घेरिएकोभन्दा झन् राम्रो समाज छ, जीवजन्तु र जगत छ । 

सञ्जालको चपेटामा गाउँका सांस्कृतिक कार्यक्रम

डेढ दशक अघिसम्म दशैं र तिहारको समयमा बाल/युवा क्लबहरूले सांस्कृतिक कार्यक्रम आयोजना गर्ने चलन थियो पश्चिम पहाडी जिल्ला गुल्मी–अर्घाखाँची–पाल्पातिर । बहाना सांस्कृतिक कार्यक्रम भए पनि त्यसले देश–परदेशमा रहेका मानिसलाई त्यहाँ भेला गराउँथ्यो । 

स्कूलका क्लासमेट साथी भेट्ने थलो पनि त्यहीँ सांस्कृतिक कार्यक्रम हुन्थ्यो, मोबाइल फोन र सञ्जाल नभएको समयमा । सांस्कृतिक कार्यक्रम भनेपछि वल्लोपल्लो गाउँका मानिसहरू दिनभरको काम सकेर साँझ रमाइलो हेर्न आउँथे । गाउँमा सांस्कृतिक कार्यक्रम गर्दा बालबालिका र किशोरकिशोरीले आफ्ना प्रतिभा प्रस्फूटन तथा व्यक्तित्व विकासको अवसर पाएका हुन्थे । गाउँका सांस्कृतिका कार्यक्रममा कसैले राम्रो नाच्यो भने २–३ वर्षसम्म उसको चर्चा हुन्थ्यो । 

लाहुरे (त्यो बेला प्रायः भारतमा जाने)हरू कोही राम्रो नाच्यो भने १०० रुपैयाँको भारु (जसलाई गाउँका बूढापाकाहरू लम्बरी नोट भन्थे) दिन्थे । अर्थात् समाज सामाजिक थियो । 

विगतमा आफूले समेत यस्ता कार्यक्रमको नेतृत्व गर्ने गरेकाले गत वर्ष तिहारको बेला गाउँमा गएको समयमा मैले युवाहरूसँग सोधें – आजकाल गाउँमा सांस्कृतिक कार्यक्रम हुँदैन ? किन कसैले गर्दैन ?

उनीहरूको जवाफ थियो – को आउँछ यस्ता कार्यक्रम हेर्न, आजकाल मान्छेहरू घरमै टीभी/मोबाइल हेरेर बस्छन् । कोही नआउने भएपछि किन सांस्कृतिक कार्यक्रम गर्ने ? युवाहरूको त्यो जवाफले म निराश भएँ, दुःख लाग्यो । गुल्मीको थोर्गा, बलेटक्सार, रानीवास र दिगाममा हुने कार्यक्रममा हामी जान्थ्यौं । सांस्कृतिक कार्यक्रम हुने ती ठाउँमा आजभोलि गाँजाका बोट उम्रिएका छन् ।

मान्छेहरू घरमै टीभी/मोबाइलमा यूट्युब र फेसबूक हेर्न थालेपछि गाउँकै मान्छेहरूबीच भेटघाट पातलिएछ । घरमा कोही नयाँ मान्छे पाहुना आयो भने पनि कोही तल झर्दैनन्, मोबाइलमै झुम्मिएर बस्ने रोग गाउँमा पुगेछ । गाउँका चौतारीहरू भत्किएछन् । शहरमा मात्र होइन, गाउँमा समेत सञ्जालले समाजलाई एकलकाटे बनाउँदै लगेछ । 

गाउँदेखि शहरसम्म सञ्जालले मानिसलाई मानवबाट रोबर्ट बनाउँदैछ । समाजले कतै बिर्सन त लागेको छैन, सञ्जाल बाहिर पनि दुनियाँ छ, समाज छ । झन् आनन्द र चैनपूर्ण । 
 

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

साउन ३, २०८१

इप्क्षिता दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा पाइला टेक्दा मेरो मन ढुकढुक भयो । एकै समयमा ममा मिश्रित भावना पैदा भयो– अलि नर्भस र उत्साहित । अघि बढ्दै जाँदा मेरो चिन्ता ...

जेठ २, २०८१

नेकपा (एकीकृत समाजवादी)ले यतिबेला आफ्नो अस्तित्वको लडाईँ लडिरहेको छ । मैले अस्तित्व भनेर पार्टीमाथि धावा बोलेको हो कि भन्ने पाठकलाई लाग्न सक्छ, तर नेकपा एस यतिबेला अस्तित्वको लडाईँमै छ । पार्टी स्थापना भएको करि...

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

असोज ४, २०८१

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

x