१० साउन २०८३, आइतबार
राउण्ड अप

सरसर्ती २४ घण्टा : सर्वोच्चमा न्यायाधीश सिफारिस, राप्रपालाई फकाउँदै गठबन्धन

भदौ ११, २०८०
काठमाडौं
सरसर्ती २४ घण्टा : सर्वोच्चमा न्यायाधीश सिफारिस, राप्रपालाई फकाउँदै गठबन्धन

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्मा पौडेल सिफारिस भएका छन्। न्यायपरिषदले उनको नाम सिफारिस गरेको हो । 

गतवर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन ।
उनी हाल उच्च अदालत पाटनको कामु मुख्य न्यायाधीश हुन् ।
००००
प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले सोमवार पूर्णता पाउँदै छन् । समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता र सूची प्रकाशन आइतवारै भइसकेको छ। अब आज सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछन् ।

समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीका तर्फबाट उम्मेदवारी दर्ता भएको संङ्घीय संसद् सचिवालयले जनाएको छ । 
दशमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ ।
००००
सत्ता गठबन्धनले संसदीय समितिमा राप्रपालाई पनि भागबन्डा दिएर कोशी सरकार जोगाउने रणनीतिक बनाएका छन् । 
सत्ता गठबन्धनको सहमतिमा माओवादीले पाएको संसदीय समितिको सभापति राप्रपालाई दिएर कोशीमा बहुमत र्पुयाउन राप्रपाका दीपक सिंहलाई पूर्वाधार विकास समितिको सभापति बनाएको हो । 

यसै तयारीलाई मूर्तरूप दिन माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापतिको उम्मेदवारीबाट माओवादीका माधव सापकोटा फिर्ता भएका छन् । 

गठबन्धनले यस्तो गर्नुका पछाडि कोशीको सरकार टिकाउने स्वार्थ जोडिएको देखिएको छ । यसैले सापकोटाले उम्मेदवारीबाट पछाडि हट्दै सिंहको समर्थक आफैं बसेका हुन् । 

००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हिनामिना मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदन दर्ता गराएको छ ।

विशेषको फैसला चित्त बुझ्दो नभएकाले आइतवार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएको आयोगले जनाएको छ ।
००००
ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा किर्ते कसुरमा मुद्दा दायर गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनको सिफारिसका आधारमा सरकारी वकिलले उक्त कसुरमा मुद्दा दायर गरेको हो ।

सरकारी लिखत तथा दस्तखत किर्ते गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा दुई सय ८९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ । मुद्दा दर्ता गरिएकामध्ये ५२ जनालाई जग्गा जफत प्रयोजनमा प्रतिवादी बनाइएको छ ।

सरकारी वकिलले सरकारी दस्तखत तथा लिखत किर्तेको कसुरमा संलग्न भएको देखिएका सर्वसाधारण विरुद्ध एक वर्ष कैद सजाय माग दाबी गरेको छ । सरकारी अधिकारी र मन्त्रीहरूलाई दुई वर्ष कैदको सजाय माग दाबी गरिएको छ ।
००००
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल सरकारका बहालवाला सचिव कृष्णबहादुर राउतलाई प्रतिवादी बनाएको छ ।

सचिव राउतमाथि सरकारी जग्गा व्यक्तिको नाममा लैजान कीर्ते प्रमाण जुटाइदिने प्रपञ्चमा संलग्न रहेको भएको अभियोग लगाइएको छ ।
आइतवार जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा राउतलाई प्रतिवादी बनाई १० करोड ५१ लाख बिगो दाबी गरिएको छ ।
००००
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट बरामद ६० केजी सुन प्रकरणको कनेक्सन २ वर्षअगाडि भारतमा बरामद भएको १४७ केजी सुन तस्करीसँग जोडिएको छ । 

६० केजी सुन तस्करीको कनेक्सन भारतमा बरामद सुन र पक्राउ परेका ३ जना चिनियाँ नागरिकसँग देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अधिकारीहरूले बताएका छन् ।

उनीहरूका अनुसार चिनियाँ नागरिक याओ पुचेङ, ली वेन सुङ्ग र जिक्वान लिन भारतमा पक्राउ परेका थिए । भारतमा सन् २०२२ मे १२ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोबाटै ६१.५ केजी सुन बरामद भएको थियो ।

धाराको टुटी बनाएर ल्याएको सुन ‘गोल्डेन टप’ अपरेसन चलाएर भारतको राजस्व अनुसन्धान निर्देशनालय (डीआरआई)ले बरामद गरेको थियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त सुन हङकङबाट एयर कार्गो हुँदै भारत आएको थियो ।
००००
नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङ्गकङ्ग र दिल्लीमा नियमित उडान गर्ने भएको छ ।
यही भदौ १२ गतेबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडानका लागि निगमले टिकट बुकिङ्गसमेत खुला गरिसकेको छ ।
००००
सरकारले ७ वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई ललितपुरको भैँसेपाटीमा सरकारी आवाज हस्तान्तरण गरेको छ ।
संघीय सरकारको लगानीमा बनेका सरकारी आवास आइतवार सम्बन्धित प्रदेशका प्रदेश प्रमुखलाई हस्तान्तरण गरिएको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएको बताएका छन् ।
सरकारले गरेका राम्रा कामबाट अत्तालिएकाहरूले पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको उनको दाबी छ ।
००००
क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दामा आइतबार सुनुवाइ भएन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो । यसैबीच सन्दिप एसिया कप खेल्न आजै पाकिस्तान जाने तयारीमा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्