०९ साउन २०८३, शनिबार
कांग्रेस विद्रोहमा राष्ट्रपतिको चासो

कांग्रेसको कोशी विद्रोहपछि राष्ट्रपति पौडेलको शेखरसँग २२ मिनेट कुराकानी

असोज २६, २०८०
काठमाडौं
कांग्रेसको कोशी विद्रोहपछि राष्ट्रपति पौडेलको शेखरसँग २२ मिनेट कुराकानी

कोशी प्रदेशको मुख्यमन्त्री बनाउने विषयमा कांग्रेसमा विद्रोह भएपछि राष्ट्रपति रामचन्द्र पौडेल चिन्तित देखिएका छन् । कोशीमा ८ सांसदको विद्रोहपछि कांग्रेसमा त तरंग आयो नै राष्ट्रपति पौडेलले पनि चासोपूर्वक यो विषयलाई लिएका छन् । 

बिहीवार तनावपूर्ण रुपमा कांग्रेसका ८ सांसद एमालेसँग मिलेर सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध खडा भएका थिए ।

लगत्तै पार्टी नेताहरूको चासोकै शैलीमा राष्ट्रपतिले पनि कोशीको विषयलाई लिएर चिन्ता गर्दै डा. शेखर कोइरालालाई फोन गरेका हुन् ।

‘राष्ट्रपतिज्यूको राजनीतिक विषय, व्यक्तिमा चासो र दबाबभन्दा पनि संघीयता र परिवर्तनका विषयमा नै प्रश्न उठ्न थालेपछि कोशी मध्यावधि नजाओस् भनेर चासो देखाउँदै डा. शेखर कोइरालालाई फोन गर्नुभएको हो’ राष्ट्रपति पौडेल निकट स्रोतले भन्यो, ‘राजनीतिक विषय मिलाउने जिम्मा दलहरूको नै हो । तर संघीयताप्रति वितृष्णा बढिरहेको बेला कोशीलाई मध्यावधिमा नलैजानुस्, मध्यावधिको नतिजा तपाईं हामीले सोचेको भन्दा फरक हुन सक्छ त्यतातिर नपुग्नुस् भन्नुभएको हो ।’

अहिले कोशीमा एक अर्कालाई हिलो छ्याप्ने प्रवृत्तिले सबैतिर असर पार्ने भन्दै राष्ट्रपतिले शेखरलाई सम्झाएका थिए । डा. शेखर कोइराला निकट स्रोतले पनि कोशीको विषयलाई लिएर राष्ट्रपतिले चासो राखेको जानकारी दियो ।

‘राष्ट्रपतिले कोशीमा किन यस्तो भयो भन्दै चासो राखेर फोन गर्नुभएको थियो,’ शेखर निकट स्रोतले लोकान्तरसँग भन्यो, ‘उहाँ (शेखर)ले गठबन्धन भित्रैबाट सरकार बनाऔं भनेको हुँ, यही व्यक्तिलाई बनाउनुपर्छ भनेर भनेको थिइनँ । तर कुनै सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिमा साथीहरूलाई अगाडि सारेको हुँ, अब ब्याक हुन्नँ भन्नुभयो ।’

राष्ट्रपति र शेखरबीच २२ मिनेटजति कुराकानी भएको स्रोतको दाबी छ । शेखरले आफूलाई पार्टीले छलफलमा नबोलाउने, आफूखुशी निर्णय गर्ने, टिमबाटै जितेका महामन्त्री गगन थापाले पनि बेवास्ता गर्ने गरेको गुनासो राष्ट्रपतिसँग पनि गरेका थिए ।

कोशीको यही तनावपूर्ण अवस्थापछि प्रदेश प्रमुखले शुक्रवार ५ बजेसम्म दुई जनाको मुख्यमन्त्रीमा दाबी परे पनि नियुक्त गर्न सकेनन् । सत्ता गठबन्धन दलका तर्फबाट कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ४ र जसपाका १ गरी ४७ सांसदको हस्ताक्षरसहित माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन दाबी प्रस्तुत गरिएको थियो ।

तर कांग्रेसका यिनै २९ मध्येकै ८ सांसदले एमालेका २९ सहित ४७ जना सांसद पुर्‍याएर कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीलाई नियुक्त गर्न दाबी गरेपछि प्रदेश प्रमुख नै अलमलमा परेका हुन् । 

यसैले प्रदेश प्रमुखको कार्यालयले शुक्रवार बिहान ५ देखि दिउँसो २ बजेसम्म दुवै पक्षबाट दाबी भएको विषयमा सांसदको उपस्थितिमा सनाखत गर्ने सूचना निकालेको छ । प्रदेशसभा सदस्यको परिचयपत्रसहित उपस्थित हुन पनि सूचना जारी गरिएको छ ।

शेखरले यत्तिको विद्रोह गर्ने अवस्था आकलन नगरेको देउवाले शेखरलाई मनाउन राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेता ज्ञानेन्द्रबहादुर कार्कीसम्मलाई परिचालन गरेका छन् । तर शेखर टसको मस नहुने स्थितिमा पुगेको उनी निकट स्रोत बताउँछ । 

‘पार्टीको एउटा जिम्मेवार नेता भएपछि छलफल गर्न खोज्दा सभापतिले महामन्त्रीले मानेनन् भन्ने, हाम्रो टिमबाट जितेका महामन्त्री सम्पर्कमा नै नआउने, प्रधानमन्त्रीसँग कुरा हुँदा तपाईंको सभापति नै मानेनन् भन्ने अवस्था आएपछि पार्टी बचाउन शेखर दाइ अगाडि सर्नुभएको हो’ शेखर निकट स्रोतले भन्यो, ‘बिहीवार जे निर्णय भएको हो अहिले पनि उहाँको अडान त्यही हो । केदार कार्कीलाई मुख्यमन्त्री बनाउनेबाहेक उहाँको अर्को विकल्प छैन ।’

शुक्रवार दिनभर जसो एमालेका ३९ र कांग्रेसका ८ सांसद प्रदेश प्रमुखको कार्यालय आसपास बसेर मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त दिन दबाब दिएका थिए । शेखरको यो झट्कायुक्त विद्रोहपछि प्रधानमन्त्री प्रचण्डसँग परामर्श गरेपछि देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । बैठकमा प्रधानमन्त्रीले शेखरलाई मनाउन प्रधानमन्त्रीबाट गरिएको दुईवटा मध्यमार्गी प्रस्तावमा पनि मनाउन नसकिएको जानकारी दिइएको थियो । 

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति, कांग्रेसका पदाधिकारीसहितका नेताको बैठकमा तपाईंहरूको पार्टीले मुख्यमन्त्री नपाउँदा समस्या आएको हो र सर्वसम्मत रुपमा अगाडि बढ्नुहुन्छ भने माओवादीले आङ्बोलाई फिर्ता गर्छ भन्नुभयो’ कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘सभापतिले केदार कार्की बाहेकको अर्को नाम दिनुस् कि गठबन्धनकै उम्मेदवारलाई सहयोग गरेर जाउँ भनेर प्रस्ताव गर्नुभयो । तर शेखरले दुवैका विकल्पमा तयार रहेको बताउनुभएन । आफैंले भनेको उम्मेदवार हुनुपर्ने अडान लिनुभयो । त्यसपछि हामी कार्यसम्पादनमा उहाँलाई कुरेर बस्यौं तर आउनुभएन । अब हामी कार्यसम्पादन समिति बैठक फेरि भोलि गर्ने गरी हामी उहाँलाई कुरेर बस्छौं ।’

शेखर शुक्रवारसम्म आफूहरूको मध्यमार्गी प्रस्तावमा आउँन सक्ने बुझाईमा कांग्रेस बसेको छ । तर कांग्रेसले शेखर पक्षका केदार कार्कीलाई कुनै हालतमा मुख्यमन्त्री नमान्ने अडान लिने प्रष्टै बताएको छ । 

‘केदार कार्कीलाई मान्दा विद्रोहलाई अनुमोदन गरेको जस्तो हुन्छ । उहाँहरूले नेतृत्वको निर्णयलाई अस्वीकार र विद्रोह गर्नुभयो’ विश्वकर्माले भने, ‘कांग्रेसमा, २०५१ साल दोहोरियो । यसलाई समान्य अवस्थामा लिन सकिन्न । यसरी विद्रोहलाई स्थापित गर्दै जाने हो भने पार्टीको स्वरूप रहँदैन ।’

कांग्रेस युवा नेता गुरु घिमिरे दुवै पक्ष आफूखुशी मनलाग्दी हिड्दाको असर कोशी प्रदेशमा परेको बताउँछन् । ‘समयमै कोशीको विषयमा प्रभावकारी रुपमा सरोकारवालासँग छलफल गरिएको भए यस्तो समस्या आउने थिएन’ उनी भन्छन्, ‘कोशीबाटै प्रतिनिधित्व गर्ने हामी धेरै नेता छौं तर कोहीसँग पनि कसैले सल्लाह गरेको देखिएन । दलको विधि, विधान, पद्धति एकातिर हुन्छ । तर संविधानले फुकुवा गर्‍यो भन्दैमा सत्ताकेन्द्रित राजनीतिमात्रै गर्दा कसैको पनि हितमा हुँदैन ।’

युवा नेता घिमिरे राजनीतिमा विकल्पविहीन नहुने भन्दै प्रधानमन्त्रीले गरेको तेस्रो व्यक्तिको प्रस्ताव सकारात्मक भएको बताउँछन् । 

‘हिजो उद्धव थापाकोे विकल्प छैन भनेर अडान लिँदा समस्या आयो । अहिले अर्को विकल्प ल्याउनुस् भनेर प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको हो भने यो सकारात्मक छ’ घिमिरे भन्छन्, ‘कोशीलाई सेटल गर्न कांग्रेसको दुवै पक्ष तयार हुनुपर्छ । द्वन्द्वको उचित  निकास दिने हो भने विकल्पमा जान तयार हुनुपर्छ । कांग्रेसको नाम दिनुस् भनेपछि आङ्बो र कार्की बाहेकको विकल्पबाट कोशीको समाधान गर्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्