२७ असार २०८३, शनिबार
फेरि अर्को भूकम्प

डोटीको भन्दा सानो भूकम्प जाँदा पनि जाजरकोटमा किन धेरै भयो मानवीय क्षति ?

कात्तिक १८, २०८०
काठमाडौं
डोटीको भन्दा सानो भूकम्प जाँदा पनि जाजरकोटमा किन धेरै भयो मानवीय क्षति ?

२०७२ वैशाख १२ मा गोरखा बारपाकपछि शुक्रवार राति जाजरकोटलाई केन्द्र बनाएर अर्को ठूलो मानवीय क्षति पु¥याउने भूकम्प गएको छ । ७२ सालको विनाशकारी भूकम्पमा परी ९ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । 

विनाशकारी भूकम्पपछि सयौंको संख्यामा साना भूकम्प गएका थिए । तर ठूलो मानवीय क्षति पु¥याउने गरी जाजरकोट बारेकोट गाउँपालिका–१  रामीडाँडालाई केन्द्र बनाएर शुक्रवार राति ६.४ रेक्टरस्केलको भूकम्प गएको हो । 

भूकम्पले जाजरकोट र रुकुम पश्चिमा गरी १५७ को ज्यान गएको छ । जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाले ज्यान  गुमाएका हुन् । कम्तीमा ३७५ जना घाइते भएका छन् । जाजरकोट सदरमुकाम खलंगाका दर्जनौं घर क्षति विक्षत भएका छन् ।

७२ सालको भूकम्प शनिवार दिउसो ११ बजेर ५६ मिनेटमा गएको थियो । बिदा र दिउँसोको समय हुँदा ठूलो भूकम्प गए कम मानवीय क्षति भएको थियो । तर जाजरकोटमा शुक्रवार मानिसहरू मस्त निद्रामा रहेका बेला भूकम्प आयो । यस्तोमा यसपटक तुलनात्मक रुपमा सानो भूकम्प भए पनि मानवीय क्षति धेरै भएको छ । 

ढुंगा र माटोले बनेका अधिकांश घर भत्किएका छन् । ओछ्यानमा सुतेकै समयमा भूकम्प गएपछि मध्यराति मानिसहरू घरबाटसमेत बाहिर निस्किन सकेनन् । थोरैले मात्रै घरबाट निस्किएर ज्यान जोगाएका छन् । यो भूकम्पलगत्तै राति तीनवटा र बिहान र दिउँसो गरी पाँचवटा पराकम्प गए । यी सबै पराकम्प ४.६ मुनिका छन् ।

गतवर्ष कात्तिक २२ गते डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टरस्केलको भूकम्प गएको थियो । बिहान २ बजेर १२ मिनेटमा सो भूकम्प गएको थियो । सो भूकम्पमा परी डोटीमा ६ जनाको मृत्यु भएको थियो । गत असोज १७ गते बझाङलाई केन्द्र बनाएर ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो । जसमा बाजुरा र बझाङमा एक–एक जनाको मृत्यु भएको थियो । तर गत वर्ष डोटीमा गएको भन्दा सानो भूकम्प जाँदा पनि जाजरकोट भूकम्पमा बढी मानवीय र भौतिक क्षति भएको छ । 

मुख्यगरी ढुंगा–माटोले बनेका कच्ची घर र राति मानिसहरू सुतेको समय हुनाले धेरै भौतिक र मानवीय क्षति भएको बताइएको छ । 

खानी तथा भूगर्व विभागका भूकम्पविद् मुकुन्द भट्टराई भौगोलिक विकटता, भिरालो जमिन, कमजोर संरचना, जनचेतनाको कमीका बीच राति भूकम्प जाँदा धेरै मानवीय क्षति भएको बताउँछन् । 

‘हाम्रो पश्चिम क्षेत्र मात्रै होइन सिंगो हिमालय नै भूकम्पको जोखिममा छ । पश्चिम नेपालमा त एक वर्षयता एकपछि अर्को भूकम्प निरन्तर गएका छन्,’  भट्टाई भन्छन्, ‘यसरी भूकम्प गइरहँदा अलि बढी सचेत हुनुपर्ने यो भएन । अझ भौगोलिक विकटता, भिरालो जमिन, कमजोर संरचना भएको ठाउँमा राति भूकम्प जाँदा मानवीय क्षति धेरै हुन पुग्यो ।’ 

७२ सालमा दिउँसो भूकम्प जाँदा तुलनात्मक रुपमा कम मानवीय क्षति भएको उनी बताउँछन् । 

‘७२ सालको भूकम्प ठूलो हो तर दिउँसोको समयमा गएकाले धेरै घर भत्किए पनि तुलनात्मक रुपमा कम मानवीय क्षति भएको मान्नुपर्छ । तर जाजरकोटमा राति सुतेको समयमा भूकम्प जाँदा मानिसहरू घरबाट बाहिर निस्किन पाएनन,’ उनी भन्छन्, ‘अर्कोतिर रातिको समयमा बत्ति, बाटो, सञ्चार नै विच्छेद हुँदा समयमा उद्दार हुन पाएन र घाइते धेरैको मृत्यु भयो ।’

१२ बजेको भूकम्पपछि मध्यरातिसम्म तीनवटा ठूला पराकम्प आएको र शनिबार दिउसोसम्म १७० साना पराकम्प आएको उनी बताउँछन् । बस्तीबाट नजिकको केन्द्रविन्दु हुँदा पनि यसपटक मानवीय र भौतिक क्षति बढी भएको उनको भनाइ छ । 

हिमालय क्षेत्र सधैं जोखिममा सचेत हुनुपर्छ 

भूकम्पविद् भट्टराई नेपालको ८ सय किलोमिटरको हिमालय क्षेत्र सधैं भूकम्पको जोखिमा रहेको बताउँछन् ।

अफगानिस्तानेदेखि म्यानमारसम्मको २४ सय किलोमिटरमध्ये नेपालको ८ सय किलोमिटर क्षेत्र सधैं भूकम्पको जोखिम क्षेत्र हो,’ उनी भन्छन्, ‘हामीले ठूला साना भूकम्पले सचेत हुन पटकपटक सन्देश दिइरहेको छ । पोहोर डोटीमा र यसपटक बझाङमा जाँदा पनि हामीले पूर्वतयारी गर्न सकेका छैनौं । सधैं जोखिममा भएकोले बलिया र भूकम्पप्रतिरोधी घर नै भूकम्पलाई जित्ने आधार हुन् ।’

भूकम्प गइसकेपछि मात्रै सरकार जाग्ने भन्दै सचेतना र सुरक्षित बस्ती निर्माणमा राज्यले समयमै प्रभावकारी अग्रसरता लिनुपर्ने उनी बताउँछन् । नभए जोखिम क्षेत्रमा जतिखेर पनि ठूलो भूकम्प जाँदा झन् ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपर्ने उनको भनाइ छ । 

‘हाम्रो स्थानीय तहदेखि केन्द्रीय सत्तासम्म घटना भएपछि मात्रै जाग्छ तर बलिया र सुरक्षित घर बस्ती बनाउने अभियान भूकम्प नजाँदै चाल्नुपर्छ,’ उनी भन्छन्, ‘यस्तो नहुँदा जतिखेर हामी ठूलो मानवीय र भौतिक क्षतिको त्रासमा बसिरहनुपर्ने हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्