
‘मंसिर ७ पछि के हुन्छ ?’ दशैंतिहारमा गाउँबाट शहर फर्केकादेखि विदेश बस्ने चिनजानका साथीसम्मले प्रश्न गरेपछि मात्र मलाई दुर्गा प्रसाईंले काठमाडौंमा प्रदर्शन गर्न लागेको थाहा पाएको थिएँ ।
प्रश्न सोध्नेलाई मेरो सहज जवाफ हुन्थ्यो, ‘मान्छे कति आउँछन् थाहा भएन, तर बैंकको ऋण तिर्दिनँ भनेर हिँडेको मान्छेको आन्दोलनले लेजिटिमेसी (वैधता) पाउँदैन होला ।’ मेरो जवाफले सन्तुष्ट नहुनेहरू ‘तिमीहरूले राजनीति केही बुझेका रहेनछौ, मंसिर ७ पछि देशमा उथलपुथल हुन्छ,’ भन्ने जवाफ फर्काउथे ।
उनीहरूले उल्टै प्रश्न गरे, ‘मान्छेको हत्या गरेर आएका नेता सत्तामा पुग्न हुने, प्रसाईं किन नहुने ?’ यो प्रश्नको जवाफ मसँग थिएन, मैले धेरै सवाल जवाफ पनि गरिनँ ।
बर्खेबाली स्याहारेर फुर्सदिला किसानका लागि गाउँमा यतिबेला गफको विषय बनेका छन्, दुर्गा प्रसाईं । प्रसाईंको अतीत के हो जनतालाई त्यो कुराको सरोकार छैन । कोसँग बिच्किएर प्रसाईंले गरिब मुक्तिको नारा लाइरहेका छन्, त्यो गाउँका जनतालाई मतलव छैन ।
राजनीतिक दलका नेताहरूप्रति गरेको चर्को भाषण र गालीले आमजनताको मन जितेको रहेछ । प्रसाईंको चर्को भाषण सुनेकै भरमा उनीहरू देशलाई तह लगाउने अब प्रसाईंले नै हो भन्ने निष्कर्षमा पुगेका छन् ।
मूलधारको पत्रकारितामा रहे पनि हाम्रा केही सीमितता हुन्छन्, समाजको सबै कुरा हामीलाई थाहा हुँदैन, जसरी प्रसाईंले गाउँमा आफ्नो सन्देश पुर्याएका छन् । चार वर्षअघि र्याप गायक समीर घिसिङ ‘भिटेन’ पक्राउ परेको समाचार आयो । नेपालमा ‘भिटेन’ नामको गायक छ भन्ने मैले पहिलोपटक सुनेको थिएँ ।

भिटेन पक्राउ परेको दिन लोकान्तर डट्कममा एउटा स्टोरी गएको थियो, ‘सालको पात टपरी करोड क्लबमा’ । जबकि भिटेनको ‘हामी यस्तै त हो नि ब्रो !’ भन्ने गीत दुई करोडले हेरिसकेका रहेछन् । त्यही साता रिपोर्टिङका लागि बाराको निजगढ र रौतहट जाँदा थाहा पाएँ, ‘टिनएज’माझ उनी सर्वाधिक लोकप्रिय रहेछन् । हामीले दोहोरीको लोकप्रियता देख्यौं, भिटेनको देखेनौं ।
राजनीतिक दलका नेताविरुद्ध आगो ओकलेर प्रसाईं अहिले गाउँमा लोकप्रिय भइरहेका छन् । अरू गफाडीभन्दा प्रसाईंको कुरा जनताले पत्याएका छन् । अहिलेका प्रधानमन्त्री र पहिलेका प्रधानमन्त्रीलाई घरमा लगेर भान्सा गराउने हैसियत रहेका प्रसाईंले नेताका गोप्य कुरा थाहा पाएका छन् भन्ने आमबुझाइ छ ।
ऋषि धमलासँगको कुराकानीमा त प्रसाईंले कुनै नेताको पैसा बोरामा राखेर कसैकोमा पुर्याएको समेत दाबी गरेका छन् । परन्तु, उनको दाबी पुष्टि गर्ने अन्य कुनै प्रमाण छैन । नेपालका नेताले विभिन्न देशमा पैसा लगानी गरेको भनेर प्रसाईंले बोलिरहेका छन् । प्रसाईंका यी दाबीलाई सर्वसाधारणले अकाट्य ठानेर पत्याइरहेका छन् ।
गाउँका गरिब किसानका के कुरा विदेशमा बस्ने र पढेलेखेकाले समेत प्रसाईंको आन्दोलनले देशमा केही परिवर्तन हुन्छ भनेर प्रतीक्षा गरिरहेका छन् । काठमाडौंका बुद्धिजीवीले पनि प्रसाईंको आन्दोलनले सत्तालाई केही धक्का दिन्छ कि भनेर अनुमान गरेका थिए ।
को हुन्, किन आए ?
बिहीवार बल्खुमा भएको कार्यक्रममा ओखलढुंगाका ७० वर्षीय वृद्ध वेदप्रसाद खतिवडादेखि ललितपुरका तन्नेरीसम्म उपस्थित भए । मंसिर ७ लाई ‘मुक्ति’को दिन घोषणा गरेका प्रसाईंले काठमाडौंबाट केही महत्त्वपूर्ण घोषणा गर्छन् भन्ने उपस्थितहरूको आमबुझाइ थियो ।
तर, प्रसाईंको कार्यक्रम त्यति व्यवस्थित देखिएन । बिहीवार बल्खुमा प्रसाईंले दुईपटक सम्बोधन गरे । पहिलोपटक सम्बोधन गरेको त्यहीँ रहेकाले समेत थाहा पाएनन् । बल्खुको आन्दोलन एकप्रकारले भन्दा मियोविनाको दाइँजस्तो थियो । तैपनि मान्छेहरू त आए, किन ? राजनीतिक दलका नेताप्रतिको वितृष्णाका कारण ।

सरकार/राज्यले जनतालाई डेलिभरी दिन नसकेकोमा जनतामा असन्तुष्टि र आक्रोश छ । सानो लगानीका व्यापारीहरूको चित्कार उनैले बोल्दिएका छन् ।
२०७३ सालमा डा. बाबुराम भट्टराईले दशरथ रंगशालाबाट नयाँ शक्ति घोषणा गर्ने कार्यक्रममा डा. सुन्दरमणि दीक्षितले भनेका थिए, ‘भेलमा बग्दै गरेको सहाराविहीनले परालको त्यान्द्रो देख्यो भने पनि त्यसलाई बाँच्ने सहारा ठान्छ, नयाँ शक्ति त्यस्तै हो ।’ प्रसाईंलाई नेपाली समाजको एक पंक्तिले त्यही त्यान्द्रोको रूपमा देखेको छ, जसले जनताका यावत समस्या समाधान गरिदेओस् ।
तर, प्रसाईंको आन्दोलन दोस्रो दिनमै खुम्चिएको छ । प्रशासनले बल्खुमा प्रदर्शनको अनुमति दिए पनि प्रसाईंले काठमाडौंको तीनकुनेमै कार्यक्रम राख्न चाहेका थिए । प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न नदिएपछि प्रसाईं शुक्रवार घरबाट बाहिर निस्किएनन् ।
आफू ‘होम एरेस्ट’मा रहेको दाबी गर्दै उनले घरमै पत्रकारहरूसँग कुरा गरे अनि मञ्च बनाएर भाषण गरे । नजरबन्दमा राखिएको व्यक्तिले त्यसरी भाषण गर्न कहाँ पाउँछ र ? तैपनि प्रसाईंले भन्दिए, ‘म होम एरेस्ट’मा छु । प्रसाईं घरबाट ननिस्किँदा काठमाडौं बाहिरबाट आएका उनका समर्थकहरू आज रनभुल्ल परे । कोही पशुपतिको दर्शनमा लागे, कोही घाम तापेर बसे ।
सत्ता पल्टाउँछौ भनेर २०६६ सालमा माओवादीले सिंहदरबार घेर्न हजारौंलाई काठमाडौं उतारेको थियो । तर, गाउँबाट ल्याइएकाहरू मकै छर्न भन्दै घर फर्किएपछि त्यो शहरी विद्रोह एक हप्तामै तुहिएको थियो । प्रसाईंको आन्दोलन एक दिनमै सीमित बनेको छ ।
प्रसाईंले सल्काएको झिल्को
राजनीतिक दलका नेतालाई चर्को गाली गरेर जनतामाझ स्थापित प्रसाईंले गाउँ–गाउँमा गरिबमाझ एउटा झिल्को सल्काइदिएका छन् । लघुवित्त र सहकारीको ऋण मिनाहा गर्नुपर्ने भनेर ‘असम्भव’ आश्वासन बाँडेका छन् ।
प्रसाईंले सल्काएको त्यो पपुलिस्ट नारा अन्य राजनीतिक दलका लागि टाउको दुखाइको विषय बनेको छ । प्रसाईंले ऋण मुक्तिको आश्वासन दिएका ती गरिब सर्वसाधारणले आगामी दिनमा गाउँ जाने नेतालाई सोध्नेछन्, ‘ऋण मिनाहा गर्दिने हो ?’
गरिब किसानको ऋण मिनाहा भारतमा समेत चुनावी नारा बन्ने गरेको छ । यो आश्वासन दिएर राजनीतिमा उदाएकाहरूको विषय समेटेर सिनेमा पनि बन्ने गरेका छन् । तर, न भारतमा यति ठूलो स्केलमा ऋण मिनाहा भएको छ, न त नेपालमा नै सम्भव छ ।
कर्मचारीका लागि तलब समेत खुवाउन हम्मे परेको सरकारले अहिले ऋण मिनाहा गर्ने सम्भावना देखिँदैन । ऋण मिनाहा गर्नका लागि देशमा तत्काल कुनै क्रान्ति सम्पन्न भएको छैन र निकट भविष्यमा मुलुकमा चुनाव हुँदै पनि छैन । त्यही असम्भव मागलाई लिएर प्रसाईंले उनकै शब्दमा भुइँमान्छेलाई प्रलोभनमा पारेका छन् ।
‘मलाई मदन भण्डारी बनाउन खोजियो भने पनि नेपाली जनतामा चेतना भर्दिएको छु,’ प्रसाईंले शुक्रवार आफ्नै निवासबाट पत्रकारलाई भनेका थिए । प्रसाईंले अभियानमा समर्थन गर्न भनेर काठमाडौंवासीलाई अपिल गरे पनि उनको आन्दोलनमा होमिइहाल्ने अवस्था देखिएको छैन ।

काठमाडौं आएका समर्थकहरू तितरबितर भएसँगै प्रसाईंको योपटकको आन्दोलन यत्तिकै सेलाएर जानेजस्तो देखिएको छ । मंसिर ७ पछि के हुन्छ भन्ने प्रश्नको जवाफमा व्यंग्यमा समेत खप्पिस पत्रकार राजकुमार रेग्मीले दुईदिन अघि एउटा भिडियो विश्लेषणमा ‘मंसिर ८ आउँछ, अरू केही हुँदैन’ भनेका थिए । रेग्मीकै विश्लेषण सही ठहरियो, मंसिर ७ पछि ८ आयो अरू केही भएन ।
यति हुँदाहुँदै पनि बिहीबार बल्खुमा आएका सर्वसाधारण जनताको अवमूल्यन गर्न मिल्दैन । विगतमा राजनीतिक दलको आन्दोलनमा आउने र अहिले प्रसाईंको आन्दोलनमा आएका उनै गरिबहरू हुन्, जसले आफ्नो जीवनमा सकारात्मक परिवर्तनबाहेक कुनै अपेक्षा राखेका छैनन् । आजको दिनमा प्रसाईंले जम्मा गरेको जति भीड जम्मा गर्न स्थापित भनिएका दललाई समेत हम्मेहम्मे पर्ने गरेको छ ।
ठूला दलको आह्वानमा सडकमा आउने जनता न्यायप्रेमी र परिवर्तनकारी अनि अन्य कसैले ल्याएका जनतालाई ‘अराजक भीड’ भनेर परिभाषित गर्न मिल्दैन । जबसम्म सरकारले जनतालाई डेलिभरी दिन सक्दैन, अस्पतालमा मानिसहरूले सहज उपचार पाउँदैनन् या गणतन्त्रको अनुभूति हुँदैन, तबसम्म बल्खुको जस्तो आक्रोश फेरि उठ्ने छ, भलै जनताको असन्तुष्टिमा नायक बन्न खोज्ने अर्को ‘दुर्गा प्रसाईं’को उदय किन नहोस् ।
पढ्नुहोस्, यो पनि :
बल्खुको भीडमा ५० भन्दा बढीसँग कुरा गरेपछि– को हुन् प्रसाईंको आन्दोलनमा आएका मानिस ?