
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुर्गम रुटमा उड्ने जहाज खरिद प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारले भ्रम सिर्जना गरेको भन्दै यस सम्बन्धमा स्पष्ट पारेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले शुक्रवार जारी गरेको विज्ञप्तिमा खरिद प्रक्रिया पारदर्शी ढङ्गले अघि बढाइएको र आवश्यक रकम आन्तरिक स्रोतबाटै जुटाइने उल्लेख छ ।
‘खरिद पारदर्शिता सम्बन्धमा निगमको जहाज खरिद प्रक्रिया पारदर्शी ढङ्गले गर्नका लागि तालुक मन्त्रालयको समेत सहमति लिई निगमले सार्वजनिक खरिद ऐन, नियम बमोजिम मिति २२ अक्टोबर, २०२३ मा सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक स्रोतका सम्बन्धमा निगमले ३ वटा स्लट रुट मा उड्ने जहाज ६–६ महिनाको अन्तरमा ल्याउने भएकाले सम्पूर्ण रकम एकमुष्ट तिर्ने नभई पटक पटक तिर्दै जाने हुँदा सोको व्यवस्थापन आन्तरिक स्रोतबाट गर्न निगम सक्षम छ ।’
विज्ञप्तिमा निगमको सुधारका लागि बनेका आयोग, अध्ययन समिति र निगमभित्रकै अध्ययन प्रतिवेदनले समेत बजारमा ध्वजावाहकले आफ्नो उपस्थिति देखाउन तत्काल स्लट रुटमा उड्ने जहाज आवश्यक रहेको औँल्याएको विज्ञप्तिमा उल्लेख छ ।
निगममा सात जना सञ्चालक समिति सदस्य रहने र निर्णय प्रक्रियामा सर्वसम्मत वा सामान्य बहुमतबाट निर्णय गर्न सकिने प्रावधान रहेको विज्ञप्तिमा उल्लेख छ । ‘अर्थ मन्त्रालयको प्रतिनिधिबाहेक सबै ६ जना सञ्चालकहरूले जहाज खरिद गर्ने निर्णयको पक्षमा र अर्थ मन्त्रालयका प्रतिनिधिले सुझाव सहित हस्ताक्षर गरेको हुँदा निर्णय प्रक्रिया विधिसम्मत भई टेन्डर समेत आह्वान भईसकेकोले यसमा अन्यथा मानिराख्नु नपर्ने निगमको भनाइ छ ।
मुलुकको हवाई क्षेत्रमा निगमले पुर्याउँदै आएको सेवा, अफगानिस्तानमा भएको उद्धार, कोभिड महामारीको बखत चीनको वुहानबाट नेपालीहरूको उद्धार, इजरायलबाट नेपालीहरूको उद्धार, जाजरकोटमा गएको भूकम्पबाट भएका घाइतेहरूको उद्धार जस्ता विभिन्न विपद् तथा सङ्कटमा राष्ट्रिय ध्वजावाहकको योगदान तथा मुलुकको पर्यटन प्रवर्द्धनमा खेल्दै आएको भूमिका महत्त्वपूर्ण विषय भएको विज्ञप्तिमा उल्लेख छ । उक्त कुरालाई मध्यनजर गर्दै निगमको वर्तमान व्यवस्थापनले राष्ट्रिय ध्वजावाहकको गुणात्मक सुधारको लागि उल्लेखनीय कार्यहरू गर्दै आएको समेत विज्ञप्तिमा दाबी गरिएको छ ।