०९ साउन २०८३, शनिबार
नेपाली उत्पादनको व्यावसायिक फड्को

जहाँ नेपाली त्यहाँ एसियन थाइफूड्सः अमेरिकासहित २५ देशमा निर्यात, अन्यत्र पनि लाने तयारी

१०० भन्दा बढी ब्रान्ड, प्याकेटमा ७ वटा भाषा प्रयोग
माघ ६, २०८०
विराटनगर
जहाँ नेपाली त्यहाँ एसियन थाइफूड्सः अमेरिकासहित २५ देशमा निर्यात, अन्यत्र पनि लाने तयारी

आठ वर्षअघि नेपालमा रहेका भुटानी शरणार्थीलाई अमेरिका, अष्ट्रेलिया लगायतका देशमा पुनस्र्थापना गर्ने काम शुरू गरियो । नेपाली मूलका भुटानी शरणनार्थी अमेरिका लगायतका देशमा गएपछि नेपाली उत्पादनसमेत त्यो देशमा भित्रिन थाल्याे । अमेकिकामा नेपाली चाउचाउ भित्र्याउनेको अग्रपंत्तिमा पर्नेमा विराटनगरका उद्योगी महेश जाजू पनि हुन् । 

त्यसो त नेपालमै रँदा पनि भुटानी शरणार्थीलाई युएनएचसीआरले खाद्यान्न कार्यक्रमअन्तर्गत रमपम चाउचाउ दिने गरिएको थियो । शरणार्थीहरू अमेरिका गएपछि त्यही चाउचाउको माग बढ्न थाल्यो । भुटानी शरणार्थीले त्यहाँ बस्ने अन्य देशका नागरिकलाई पनि नेपाली चाउचाउ चखाउन थाले । उनै महेशको  कम्पनी एसियन थाइफूड्स प्रालिले उत्पादन गर्ने चाउचाउ हो रमपम । अहिले अमेरिकामा  रमपम र टू पीएम ब्राण्डका स्न्याक्सको माग तीव्ररुपले बढिरहेको सञ्चालक महेश बताउँछन् ।

एसियन थाइफूड्सका केही उत्पादन । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसपछि नेपालका उद्योगधन्दामा ठूलो असर परेको तथ्यांक छ । यसबीच पनि एसियन थाइफूड्सले भने कोरोनापछि बजार राम्रो भएको बताउँदै आएको छ । ‘नेपाली र नेपाली मूलका मानिसको बाहुल्यता रहेका देशहरूमा एसियन थाइफूड्सले आफ्नो उत्पादनलाई तीव्र अन्तर्राष्ट्रियकरण गरिरहेको छ,’ महेश भन्छन् ।

कोरोनापछि आफ्नो उत्पादनको विदेश निर्यात बढेको उनी दाबी गर्छन् । गत वर्षमात्रै थाइफूड्सले झण्डै ५० करोड रुपैयाँको आफनो उत्पादन विभिन्न देशमा निर्यात गरेको थियोे । यो वर्ष १ अर्ब र अर्को वर्ष २ अर्ब हुँदै ५ वर्षसम्ममा ५ अर्बको उत्पादन विदेश निर्यात गर्ने लक्ष्य रहेको उद्योगका बजार प्रमुखसमेत रहेका सञ्चालक महेशले बताए ।

सञ्चालक महेश जाजू ।

विदेशका महोत्सवहरूमा नेपाली उत्पादन देख्दा त्यहाँ गएका नेपालीहरू खुसीले रुने गरेको आफूले देखेको उनी अनुभव सुनाउँछन् । उनका अनुसार केही समयअघि यूएईमा गल्फ फूड दुबई (फुड फेस्टिभल) आयोजना गरिएको थियो । उक्त फेस्टिभलमा विभिन्न देशका प्रतिष्ठित ब्रान्डबाट उत्पादित वस्तुको स्टल राखिएको थियो । नेपालको तर्फबाट एसियन थाइफूड्सले उत्पादन गरेको टू पीएम र रमपम चाउचाउलगायत अन्य स्न्याक्ससमेत राखिएको थियो । खाद्यान्नबाहेक नेपाललाई चिनाउने प्रशिद्ध तीर्थस्थल पशुपतिनाथको मन्दिरदेखि सर्वोच्च शिखर सरगमाथासम्मका तस्वीरहरू राखिएको थियो । ती स्टलमा बिक्री गर्न बसेका पनि नेपाली नै थिए । ‘त्यहाँ आएका नेपालीले नेपालमा उत्पादित बस्तुहरू खोजी–खोजी किनेका थिए । एक नेपाली भने स्टलमा दौडिँदै आएका थिए । उनले त्यो स्टल देखेपछि एकछिन् रोएका थिए । ती नेपालीले अन्तर्राष्ट्रिय मेलामा नेपाली उत्पादन देखेको भन्दै खुसीका आँसु झारेका थिए,’ उनले भने ।

२५ वर्षअघि १५ करोडको लगानी

एसिएन थाइफूड्सले विराटनगरमा सन् १९९९ बाट १५ करोड रुपैयाँको लगानीमा चाउचाउ उत्पादन गर्न थालेको थियो । अहिले त्यो लगानी २ अर्ब नाघेको अर्का लगानीकर्ता पवन सारडा बताउँछन् । सन् २०१० को आसपास उत्पादन क्षमता थप गरिएको थियो । सन् २०१९ मा अन्तर्राष्ट्रिय स्वादको प्रिमियम चाउचाउ र २०२२ मा टू पीएम प्रिमियम स्न्याक्सको प्रक्षेपणसँगै एसियन थाइफूड्स नेपालमा चाउचाउ र खाजाको सबैभन्दा ठूलो उत्पादक कम्पनी बनेको लगानीकर्ताहरूको दाबी छ । यस कम्पनी भर्खरै गल्फ फूड दुबई, आहार इन्डिया, वल्र्ड फूड टर्की र वल्र्ड फूट इन्डियाजस्ता ग्लोबल प्रदर्शनीमा समेत सहभागी भएको थियो । अहिले पनि २५ मुलुकमा आफ्ना उत्पादन निर्यात गरिरहेको सञ्चालक महेशले बताए ।

null

भारत, अष्ट्रेलिया, बहराइन, बेल्जियम, भुटान, क्यानडा, फिनल्यान्ड, जर्मनी, इजरायल, इटली, यूएई, कुवेत, मलेसिया, यमन, ओमन, प्यालेस्टाइन, दक्षिण कोरिया, बेलायत, अमेरिका, न्युजील्यान्ड र कतार लगायत देशमा व्यापार तीब्र बनेको उनले जनाए । केही दिनमा जापान, इजिप्ट र दक्षिण अफ्रिकामा पनि निर्यातको तयारीमा रहेको उनको भनाइ छ । ‘अमेरिकामा वार्षिक १५ करोड रुपैयाँको रमपम चाउचाउ जान्छ । भारतमा ५० करोड रुपैयाँभन्दा बढीको सामग्री पुग्छ । नेपालमा ४ अर्ब रुपैयाँ बराबरको खपत हुने गरेको छ  । आउने दुई वर्षमा नेपालमा हुने खपत बराबरको उत्पादन विदेश निर्यात गर्ने लक्ष्य लिएका छौ,’ महेश भन्छन् ।  

एसियन थाइफूड्सका उत्पादनहरू अमाजन, फ्लिप्कार्ट, इस्पेन्सर, मेसो लगायतका प्रतिष्ठित अनलाइन कम्पनीले पनि अनलाइनमा राखेका छन् । केही दिनमा दराज, ब्लिङ्केटजस्ता कम्पनीले पनि अनलाइनमा राख्ने तयारी गरेको उनले बताए । 

एसियन थाइफूड्सका १०० भन्दा बढी ब्रान्ड छन् । प्याकेटहरूमा ७ वटा भाषा उल्लेख गरिएको छ । निर्यातका लागि सरकारले अरू विषयमा ध्यान दिनसके विश्वमा व्यापार बढाउन सकिने महेशको अनुभव छ । अधिकांश आफ्ना उत्पादनमा नेपालकै खाद्यवस्तुका कच्चापदार्थको उपयोग गरिरहेको उनको दाबी छ । ‘मैदा, स्न्याक्सहरूमा मकै, चामल, तेल, नेपालकै समावेश छ । प्याकेजिङ पनि स्वदेशकै हो,’ उनी थप्छन्, ‘मिल्क पाउडर पनि नेपालकै प्रयोग भइरहेको छ । 

सेफ साह ब्रान्ड एम्बेस्डर 

विश्वमा झण्डै ८ अर्ब जनसंख्या छ । यसैले आफ्ना उत्पादमा बजारको समस्या नहुने महेश बताउँछन् । आफ्ना उत्पादनबारे संसारभरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनले सुनाए । एसियन थाइफूड्सले चर्चित सेफ सन्तोष साहलाई ब्रान्ड एम्बेस्डर बनाएको छ । साह बेलायतको लन्डनमा काम गरेर ख्याती कमाएका नेपाली शेफ हुन् ।  सन् २०२० मा पाककलासम्बन्धी बेलायतको परपट टीभी शृंखला ‘बीबीसी मास्टरशेफ द प्रोफेसनल्स’मा उनी प्रतिस्पर्धीसमेत थिए । 

ब्रान्ड एम्बेस्डर सन्तोष साह ।

भारतका अर्बपति मुकेश अम्बानीका ८०० भन्दा बढी डिपार्टमेन्टल स्टोर छन् । ती स्टोरहरूमा रमपम र टू पीएमका ब्रान्ड पनि राख्ने विषयमा कुराकानी भइसकेको र अब चाँडै राखिने महेशले जानकारी दिए । जहाँ नेपाली छन् त्यहीँ गएर मार्केटिङ शुरू गरेको उनले बताए । ‘जहाँ नेपाली छन् । त्यहाँ सामान पठाएँ,’ उनी भन्छन्, ‘नेपालीहरूकै माध्यमबाट ती देशका नागरिकले पनि स्वाद लिन पाए । जब स्वाद लिए अनि माग बढ्यो । युवाहरू विदेशतिर जाँदा निर्यातसमेत बढिरहेको छ ।’ 

नेपालमा उत्पादित आफ्ना सामान युरोपमा उत्पादन भएभन्दा आधा सस्तो पर्ने सञ्चालक महेशको दाबी छ । नेपालीहरू कम रहेको इजरायलमा पनि एसियन थाइफूड्सका उत्पादन निर्यात भइरहेको उनले बताए । ‘जुनसुकै खाद्यान्नको आइटम बिक्री गर्नका लागि मुस्लिम देशमा हलाल सर्टिफिकेट लिनुपर्छ । हिन्दू बाहुल्य देशमा हमाम सर्टिफाइट हुनुपर्छ,’ उनी भन्छन्, ‘एसियन थाइफूड्सले सबै प्रक्रिया पूरा गरेको छ । विदेशीलाई चाहिने सबै सूचना प्याकेटमै उल्लेख गरिएको छ ।’  केही समयपछि आफ्ना उत्पादन जापानमा पनि जाने महेशले जानकारी दिए । दक्षिण कोरियामा पनि भर्खरै १ कन्टेनर (२५ लाख मूल्य पर्ने) सामान पठाइसकेको उनले बताए ।  मार्केटको ‘पोजेटिभ रेस्पोन्स’ले धेरै उत्साहित बनेको उनी बताउँछन् । 

अधिकांश विदेशीको मुखबाट नेपालमा पनि यति राम्रो प्याकेजिङ हुन्छ,  यस्तो स्वादिलो बनाउन सक्छ ? भन्ने प्रश्न गर्ने गरेको भन्दै उनी खुसी देखिए । तर, सबैभन्दा नजिकको छिमेकी देश भारत निर्यात गर्दा भने केही झन्झट ब्यहोरिरहेको उनको दुःखेसो छ । नेपालको खाद्य परीक्षणलाई भारतले मान्यता दिनुपर्ने उनको माग छ । 
 

salt training

कमेन्ट गर्नुहोस्