
भारतीय टेलिभिजन गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन १४ को प्रतिस्पर्धाबाट बाहिरिएकी गायिका मेनुका पौडेल नेपाल आइपुगेकी छन् ।
आइतबारको एपिसोडमा उनी शोबाट बाहिरिएको घोषणा भएको थियो । उत्कृष्ट १० सम्म पुगेर बाहिरिएकी पौडेल सोमवार आफ्नो गृहजिल्ला झापा आएकी हुन् । गायिका पौडेललाई स्वागत गर्न थुप्रै शुभचिन्तक एवं संगीतकर्मी फूलमाला लिएर मेची भन्सार नाका पुगेका थिए । उनलाई त्यहाँ भव्य स्वागत गरिएको थियो ।
गायिका पौडेललाई सोमवार झापामा विभिन्न संस्थाले समेत अभिनन्दन एवं सम्मान गरेका छन् ।
झापा आएसँगै मिडियाकर्मीसँग कुरा गर्दै उनले इण्डियन आइडलमा गाउन पाउँदा एकदमै खुशी लागेको बताइन् ।
उनले इण्डियन आइडलमा प्रस्तुति दिनु नेपालकै जित रहेको बताइन् । ’किनकी, इण्डियन आइडलमा गाउन पाउनु नै हाम्रो लागि ठूलो कुरा हो’ उनले भनिन् ‘मलाई माया गर्नुहुने सबैलाई सम्झन चाहन्छु । धन्यवाद दिन चाहन्छु ।’
झापाको हल्दीवारी– ४ की पौडेलले इण्डियन आइडलमा दिएको प्रस्तुतिले सबैको मन जितेको थियो ।
आइडलमा रहँदा उनले भारतीय फिल्ममा समेत गीत गाइसकेकी छन् । इण्डियन आइडलबाट बाहिरएसँगै उनले ‘यो मेरो सुरुवात हो, समाप्ति होइन’ लेखेकी थिइन् ।