२५ जेठ २०८३, सोमबार
खानेपानी सचिवको गम्भीर पदीय विचलन

सचिवको अक्षम्य अपराधः सरकारले स्वीकृति नदिएपछि घरबिदा लिएर विदेशमा सरकारी प्रतिनिधित्व !

फागुन ८, २०८०
काठमाडौं
सचिवको अक्षम्य अपराधः सरकारले स्वीकृति नदिएपछि घरबिदा लिएर विदेशमा सरकारी प्रतिनिधित्व !

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रिपरिषदको स्वीकृतिबेगर विदेश भ्रमण गरी सरकारी टोलीको नेतृत्व गरेको पाइएको छ ।

मन्त्रिपरिषदबाट विदेश भ्रमण स्वीकृत नभएपछि सचिव आचार्यले घरबिदा लिएर अन्तर्राष्ट्रिय निकायद्वारा आयोजित कार्यक्रममा सरकारी टोलीको नेतृत्व गरेका हुन् ।

बिदामा रहेको अवस्थामा उनले कूटनीतिक मर्यादा एवं सरकारी स्वीकृतिबेगर भारतको ओडिसामा आयोजित एक अन्तर्राष्ट्रिय सेमिनारमा खानेपानी मन्त्रालयको नेतृत्व गरेका थिए ।

माघ ४ देखि ६ गतेसम्म यूएन हेबिट्याटले प्रायोजन तथा ओडिसा प्रान्त सरकारले आयोजना गरेको 'इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ कार्यक्रममा सचिव आचार्यले सरकारी टोलीको नेतृत्व गरेका थिए ।

उक्त भ्रमणमा सहभागिताका लागि खानेपानी मन्त्री महिन्द्र राय यादवले आचार्यसहितको टोलीलाई स्वीकृति दिएको भए पनि मन्त्रिपरिषदले भने स्वीकृति दिएको थिएन ।

'मन्त्रिपरिषद्ले स्वीकृति नदिएपछि उहाँले मुख्यसचिवबाट घरबिदा स्वीकृत गराउनुभएको थियो,' खानेपानी मन्त्रालयका एक कर्मचारीले लोकान्तरसँग भने, 'घरबिदा स्वीकृत गराएर उहाँ भारतको उडिसामा यूएन ह्याबिटेटले प्रायोजन गरेको कार्यक्रममा सहभागी हुनुभयो ।'

उक्त भ्रमण टोलीमा सचिव आचार्यसँगै मन्त्रालयका सहसचिवहरू मीना श्रेष्ठ, अर्जुन गौतम, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, विभागका दुई सीडीई रवीन्द्र पोखरेल र रतिश ओझासँगै खानेपानी मन्त्री यादवका छोरा (स्वकीय उपसचिव) सुनिल पनि सामेल थिए ।

मन्त्री यादवका छोरा कर्मचारीको कोटामा गएका हुन् ।

भ्रमण टोलीमा सहभागी खानेपानी मन्त्रालयका सहसचिव अर्जुन गौतम पनि उक्त अवधिमा सचिव आचार्यको बिदा रहेको स्वीकार्छन् ।

'माघ ३ देखि ६ गतेसम्म ४ दिन उहाँ बिदा बसेको रेकर्डमा देखिन्छ,' उनले लोकान्तरसँग भने ।

सचिवको बिदा मुख्यसचिवले स्वीकृत गर्छन् ।

'भ्रमणमा जानकै लागि उहाँले बिदा स्वीकृत गराउनुभएको थियो,' भ्रमण टोलीका अर्का एक सदस्यले लोकान्तरसँग भने, 'हामी जुन प्लेनबाट गएका थियौं, त्यो प्लेनबाट उहाँ जानुभएको थिएन, अर्कै प्लेन चढेर पुग्नुभयो । फर्किँदा पनि हामी मुम्बई भएर आयौं, उहाँ अर्कै प्लेनमा आउनुभयो ।'

तीन दिनसम्मको सेमिनारमा भने सचिव आचार्य पनि सहभागी भएको उनले बताए ।

सचिव आचार्यसँगै सोही कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरका डीई देवेन्द्र झा पनि घरबिदा लिएर पुगेका थिए । खानेपानी मन्त्री यादवले स्वीकृति दिएको भ्रमण टोलीमा समेत डीई झाको नाम छैन । उनले उक्त कार्यक्रममा सहभागिता जनाउनकै लागि बिदा लिएको देखिन्छ ।

विदेश जाने प्रयोजनका लागि उनले खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठबाट बिदा स्वीकृत गराएको देखिन्छ ।

यता खानेपानी मन्त्रालयका सचिव आचार्य भने आफू ओडिसा नगएको जिकिर गर्छन् । 'म ओडिसा गएकै छैन । त्यतिबेला बिदामा छु,' उनले लोकान्तरसँग भने, 'म बिदा बसेको हो । त्यो अवधिभर पूर्व गएको थिएँ ।'

सचिव आचार्यले ढाँटे पनि उनी कार्यक्रममा सहभागी भएको तस्वीर नै लोकान्तरले प्राप्त गरेको छ । उक्त तस्वीरमा सचिव आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरेको देख्न सकिन्छ ।

null

तस्वीरमा गोलो घेराभित्र सचिव आचार्य । बाँयाँबाट तेस्रो बिदा लिएर  पुगेका डीई झा,सचिव पछाडि डीजी श्रेष्ठ,कोटमा सहसचिव मीना श्रेष्ठ तथा अन्य सहभागी ।

यूएन ह्याबिटेटकी नेपालस्थित नेसनल प्रोफेसनल अफिसर सुधा श्रेष्ठले 'गभर्मेन्ट टु गभर्मेन्ट मिटिङ' हुने भएकाले खानेपानी सचिवलाई पनि आमन्त्रण गरिएको बताइन् ।

'हामी (यूएन ह्याबिटेट)ले कोअर्डिनेट मात्र गरेको हो, आमन्त्रण भने ओडिसा सरकारले नै गरेको थियो,' श्रेष्ठले लोकान्तरसँग भनिन्, 'नेपालबाट औपचरिकरूपमा सचिवबाहेक ६ जनाको मात्र आमन्त्रण स्वीकृत भएको थियो । गोभर्मेन्ट टु गोभर्मेन्ट मिटिङ हुने भएकाले ओडिसा सरकारले खानेपानी सचिवज्यूलाई पनि आमन्त्रण गरेको थियो ।'

नेपाल, भारत र बंगलादेश तीन देशका खानेपानी तथा सरसफाइसँग सम्बन्धित सरोकारवालाहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुपर्ने भएकाले सचिव आचार्यलाई बोलाइएको उनले बताइन् ।

'खानेपानी सचिव आचार्य सरले ओडिसा प्रान्तका चिफ सेक्रेटरी, विभिन्न डोनर एजेन्सीका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै बाइल्याटरल मीटिङ गर्नुभएको थियो,' उनले लोकान्तरसँग भनिन्, 'लिखित निर्णय केही भएन । फेरि जुनमा एकपटक भेट्ने सहमति भएको छ ।'   

कुनै पनि कर्मचारीले सरकारी टोलीको नेतृत्व गर्दै विदेश भ्रमणमा जान मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्छ । मन्त्रीस्तरीय निर्णयको भारत सहभागिता जनाउन मिल्दैन ।

मुख्यसचिव वैकुण्ठ अर्यालले बिदा स्वीकृत भएको अवस्थामा रातो पासपोर्ट बोकेर विदेश भ्रमण गर्न नमिल्ने बताए ।

'बिदा स्वीकृत गराएर सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै विदेशमा हुने कार्यक्रममा सहभागी हुन मिल्दैन,' मुख्य सचिव आचार्यले लोकान्तरसँग भने, 'सचिवले काम छ भनेर बिदा मागेपछि मैले बिदा स्वीकृत गर्ने गरेको छु । यसरी सरकारी प्रतिनिधित्व गरेर कार्यक्रममा जान त सरकार (मन्त्रिपरिषद्)को निर्णय नै हुनुपर्छ ।'

सचिव आचार्य त्यसरी सहभागी भएको विषय भने आफूलाई जानकारी नरहेको उनको भनाइ छ । 'त्यस विषयमा बल्ल तपाईंले भनेपछि थाहा पाएको हो, मैले पनि बुझ्नैपर्छ,' मुख्यसचिव अर्यालले भने ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले कुनै प्रतिक्रिया दिन मानेनन् ।

सुशासनको पक्षमा निरन्तर कलम चलाउँदै आएका पूर्वसचिव गोपीनाथ मैनाली यस्तो विषय कल्पना नै गर्न नसकिने बताउँछन् ।

'तपाईंले भनेजस्तो घरबिदामा बसेको कुनै सचिव विदेशमा आयोजित कार्यक्रममा सहभागी भएर राष्ट्रको प्रतिनिधित्व गर्‍यो भन्ने कुरा म कल्पना पनि गर्न सक्दिनँ,' मैनालीले लोकान्तरसँग भने, 'यदि यस्तो भएको हो भने त्यो धेरै ठूलो गल्ती हो ।'

सरकारको स्वीकृति बेगर यस्तो कार्यक्रममा जान नमिल्ने उनको भनाइ छ ।

'त्यसरी जान पाइँदैन । निजामती कर्मचारीको आचरण महलले दिँदैन । निजामती कर्मचारीसम्बन्धी नियमावलीले पनि दिँदैन,' मैनालीले थपे, 'व्यवस्थापनको सिद्धान्तले पनि दिँदैन । जवाफदेहिताको सिद्धान्तले पनि दिँदैन । त्यसरी गएको हो भने त्यो ब्लन्डर नै हो । यसमा विभिन्न कानूनहरू आकर्षित हुन्छन् ।'

अर्का एक पूर्वसचिवले यस्तो गतिविधि राष्ट्रघातसरह रहेको बताए ।

'बिदा बसेको बेलामा सरकारी प्रतिनिधित्व गर्नै मिल्दैन । त्यस्तो बेला ऊ सचिव नै भए पनि सामान्य नागरिकसरह हो, ' ती सचिवले लोकान्तरसँग भने, 'बिदा बसेको अवस्थामा अनधिकृतरूपमा सरकारी प्रतिनिधित्व गर्दै विदेश भ्रमण गर्नु, मीटिङमा सहभागी हुनु भनेको एक हिसाबले राष्ट्रघात नै हो ।'

पछिल्लो समय यस्तो प्रवृत्ति मौलाएको उनको भनाइ छ । खास गरेर पदमा बहाल रहँदासम्म देशका महत्त्वपूर्ण सूचना आईएनजीओ र डोनर एजेन्सीहरूलाई दिने अनि सेवानिवृत भएलगत्तै त्यस्ता निकायमा जागिर खाने लोभले यस किसिमको बेथिति बढेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्