कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
धनगढी | फागुन १२, २०८०
काँधमा झोला, हातमा डायरी, अल्लारे ठिटो । एक्लो यात्रा, एक्लोपन ! झट्ट हेर्दा लाग्छ, उनी पर्यटक हुन् । तर केहीबेर उनका कुरा सुन्दा थाहा हुन्छ, उनीभित्र एक हुटहुटी छ । यो परिचय भारतको नागपुरका रोहन अग्रवालको हो ।
रोहन जलवायु परिवर्तनसम्बन्धी सन्देश दिन साढे तीन वर्षदेखि यात्रामा छन् । यो अवधिमा उनले भारतका २९ राज्य र बंगलादेशका ६४ जिल्लासहित नेपालका १२ जिल्ला पुगिसकेका छन् । १५ दिनअघि दार्चुलाको सीमाक्षेत्रबाट नेपाल प्रवेश गरेका उनी हाल धनगढीमा छन् । यो अवधिमा उनले दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीका विभिन्न ठाउँमा जलवायुसम्बन्धी जनचेतना फैलाउने काम गरेका छन् । योबाहेक उनले कोशी प्रदेशका ६ जिल्ला पनि घुमिसकेका छन् ।
‘विद्यालय, क्याम्पससँगै बढी भीडभाड हुने ठाउँहरूमा मैले जलवायु परिवर्तनका असर, यसका कारण र अब गर्नुपर्ने कामका बारेमा जानकारी गराएको छु । त्यतिमात्रै होइन जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सामाजिक काममा सक्रिय व्यक्तिहरूसँग पनि प्रकृति बचाउनका लागि अनुरोध गरेको छु,’ लोकान्तरसँगको कुराकानीमा उनले भने ।
भारत, बंगलादेश र नेपालका भू–भाग घुम्दा आफूले जलवायु परिवर्तनका असर धेरै देखेको रोहन बताउँछन् । ‘भारतको क्षेत्रफल ठूलो छ त्यहाँ जनसंख्या पनि ठूलो छ । त्यहीअनुसार जलवायु परिवर्तनका असर देखिने गरेका छन् । नेपालमा जनसंख्या कम छ, भारतको तुलनामा यहाँ केही कम मात्रामा वातावरण परिवर्तन भएको देखिन्छ । मैले सुदूरपश्चिम र कोशी प्रदेशका ६–६ जिल्ला घुमेको छु । पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा वातावरण बढी दूषित छ । तराईमा प्लास्टिकको प्रयोग पनि बढी भएको देखे,’ उनले थपे ।
इन्जिनियर बन्ने सपना त्यागेर यात्री
रोहन अहिले २२ वर्षका मात्र भए । उनको पारिवारिक स्थिति मध्यम खालको छ । बुवाले जुसको पसल चलाएका छन् । त्यहीँ पसलबाट उनको परिवार चलिरहेको छ । आमा सीमा गृहिणी हुन् । उनकी बहिनी अध्ययनरत छिन् । परिवारको जेठो छोराको रुपमा रहेका रोहनको इन्जिनियर बन्ने सपना थियो । त्यसका लागि उनले दिल्लीस्थित एक विद्यालयमा अध्ययनसमेत गरिरहेका थिए । सामाजिक कार्यमा समेत सक्रिय उनी विभिन्न जनचेतनामूलक कार्यक्रममा सहभागी भइरहन्थे । जलवायु परिवर्तनको असर बढ्दै गएपछि देश–विदेशमा यसको सन्देश फैलाउने हुटहुटी उनमा पलायो । ‘भारतका चारधामको यात्रा गरे पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ । कसैले धर्म र जातका लागि, त कसैले रहरका लागि विभिन्न यात्रा गरिरहेका छन् । तर मैले पृथ्वी जोगाउनका लागि यात्रा गर्ने संकल्प लिएको छु,’ उनले भने ।
जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउन भारतका विभिन्न प्रान्तहरूमा जान थालेपछि उनको पढाइ प्रभावित बन्दै गयो । सपना एकातिर अनि काम अर्कोतिर हुन थालेपछि उनले इन्जिनियर बन्ने सपनामा पूर्ण विराम लगाए । ‘सचेतना फैलाउन बाहिर जाँदा पढाइ छुट्न थाल्यो। अनि मैले विषय नै परिवर्तन गरेँ । अहिले म कमर्स अध्ययन गरिरहेका छु । इन्जिनियर बन्ने मेरो सपना सपनामै सीमित रह्यो,’ उनी थप्छन्, ‘अझै पाँच वर्ष म यही काममा सक्रिय हुन्छु । त्यसपछि फेरि इन्जिनियरिङ पढ्नका लागि मेरो उमेर नै ढल्किहाल्छ । युवापुस्तामा जलवायुसम्बन्धी सचेतना फैलाउन पाइरहेको छु, म यसमै सन्तुष्ट छु ।’
रुससम्म पुग्ने संकल्प
जलवायुको सन्देश बोकी धनगढी आइपुगेका उनी यहाँका विद्यालय, कलेज, सरकारी कार्यालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा जनचेतनामूलक कार्यक्रम गरी कर्णाली प्रदेशका लागि हिँड्ने बताउँछन् । ‘प्रकृति मासिँदै गएको छ । वातावरण दूषित हुँदै गएको छ । युवा पुस्ता सचेत हुनुपर्ने बेला आयो । होइन भने विश्व नै तहस–नहस हुने अवस्था सिर्जना हुन्छ,’ उनी भन्छन्, ‘यही सन्देश बोकेर अहिले म नेपालको यात्रामा छु । गत वर्ष कोशी प्रदेशको भ्रमण गरेको थिए । धनगढीपछि कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेश पुगेर सन्देश फैलाउन चाहन्छु ।’
मधेस प्रदेश हुँदै भारत जाने र त्यहाँबाट भुटानको यात्रामा निस्किने उनको योजना छ ।
भुटानपछि म्यानमार, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, लाओस, सिंगापुर, चीनलगायत २० देश पार गरी रुससम्मको यात्रा गर्ने उनले तालिका बनाएका छन् ।
अन्तिम गन्तव्य साइबेरिया
रुसको साइबेरिया यस्तो ठाउँ हो जहाँ जाडो मौसममा तापक्रम माइनस ७० डिग्री सेल्सियसभन्दा तल जाने गर्दछ । त्यहाँको ओम्याकोन संसारको सबैभन्दा चिसो ठाउँ हो । जहाँ मानिस स्थायी रुपमा बस्छन् । यो आर्कटिक सर्कलको चिसो उत्तरी ध्रुव क्षेत्रमा अवस्थित छ । तापक्रम माइनस ५५ डिग्री सेल्सियसभन्दा बढी भए मात्र यहाँका विद्यालयहरू बन्द हुन्छन् । जाडोमा औसत न्यूनतम तापक्रम माइनस ५५ डिग्री सेल्सियस हुन्छ । ‘मलाई विश्वको सबै भन्दा चिसो ठाउँ सम्म पुग्नु छ । अहिले चिसो ठाउँमा पनि जलवायु परिवर्तनले तातो बढ्न थालेको छ,’ रोहन भन्छन्, ‘त्यहाँ पुगेर पनि म सचेतता फैलाउन चाहन्छु । त्यहाँको अवस्थाको अध्ययन गर्न चाहन्छु ।’
जलवायु परिवर्तनका असर देखिएका देशहरूमा पुगी सचेतना फैलाउने उनको लक्ष्य छ ।
पाँच वर्षको अवधिका लागि यात्रा तालिका बनाइसकेका राेहनले त्यसपछिको यात्रा भने तय गरिसकेका छैनन् । स्थानीय सहयोगीबाट उनको यात्राको खर्च चलिरहेको छ । अधिकांश समय पैदल यात्रा नै गरिरहेका उनी बेला–बेला लिफ्टको पनि प्रयोग गर्ने गर्दछन् ।
भारतबाट शुरुवात भएको उनको यात्रा रुसमा टुङ्गिने छ । ‘साढे तीन सालदेखि निरन्तर यात्रामा छु । मेरो मुख्य उद्देश्य जलवायु परिवर्तनका खतरनाक प्रभावबारे जनचेतना फैलाउनु र यसको नियन्त्रणका लागि एकताको सन्देश दिनु हो,’ उनले थपे, ‘पर्यावरणका बारेमा आफ्नो सन्देश दिनका लागि मैले धेरै विद्यालय र संस्थानको भ्रमण गरेको छु ।
मुख्य उद्देश्य– जलवायु परिवर्तनको सन्देश
जलवायु परिवर्तनको असर बढ्दै गएकाले यसको न्यूनीकरणका लागि सचेत हुनुपर्ने बेला आइसकेको रोहन बताउँछन् । ‘जलवायुको नकारात्मक असर बढ्दो छ । यसैकारण चिसो समयमा पनि गर्मी, गर्मी समयमा चिसो, वर्षायामको समयमा पनि पानी परिरहेको छैन,’ विज्ञको शैलीमा उनी भन्छन्, ‘पानी नपर्नु पर्ने मौसममा पानी परिरहेको छ । जलवायुकै असरले नेपालमा भूकम्पको प्रकोप पनि बढ्दै छ ।’
जलवायु परिवर्तनका असर र बच्ने उपायका लागि एक्लो प्रयासले केही नहुने भन्ने तर्क गलत भएको उनी दाबी गर्छन् । ‘एक्लो प्रयासले धेरै हुन्छ । मैले नेपाल लगायतका २० वटा देशमा सचेतना फैलाउने हो । विद्यालय शिक्षामा जलवायुलाई जोड दिनुपर्छ । बालबालिका यसका बारेमा सचेत भए प्रकृतिको संरक्षण हुन्छ । वनजंगल मासिँदैन र यसले विनाश निम्ताउँदैन,’ उनको दाबी छ ।
प्रकृतिको विनाश यही गतिमा हुँदै गए पृथ्वी नै तहस-नहस हुन सक्ने उनको भनाइ छ । ‘मान्छेलाई सास फेर्न मुस्किल हुन्छ । प्राकृतिक विपत्ति बढ्छ । रुख र पानीका मुहान सुक्न थाल्छन् । महामारी फैलिन्छ । जनावर मर्न थाल्छन् । त्यसैले हामीले बेलैमा सचेतना अपनाउनु पर्छ,’ उनले थपे ।
विश्वभरि तापक्रम बढिरहेका कारण पृथ्वी अहिले द्रुत जलवायु परिवर्तनको अवस्थामा रहेको रोहनको ठम्याइ छ । जलवायु परिवर्तनले मानिसलाई उपभोगका लागि आवश्यक पर्ने पानीको कमी हुन सक्नेतर्फ उनले सचेत गराए । यस्तै खाद्य सामग्री उत्पादन गर्न गाह्रो हुने र जसले गर्दा मानिसलाई बाच्न कठिन हुने उनको तर्क छ ।
‘केही स्थानमा जोखिमपूर्ण रुपमा नै अत्यधिक गर्मी हुन सक्छ । चर्को गर्मी, आँधी वा ठूलो वर्षाजस्ता चरम मौसमी अवस्था नियमित हुन सक्छ,’ उनले थपे, ‘पृथ्वीमा रहेका हिउँ र हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । साइबेरियाजस्ता स्थानका हिउँ पग्लँदा त्यहाँबाट मिथेन ग्यास निस्कन्छ । जसले जलवायु परिवर्तनलाई अझ खराब बनाउँछ । जीवजन्तु लोभ हुने अवस्था आउँछ ।’
जलवायु परिवर्तनका असर रोक्न अधिकतम मात्रामा वृक्षारोपण गर्न रोहनको सुझाव छ । ‘प्रकृतिलाई मास्नु हुँदैन बचाउनु पर्छ । साइकल वा वातावरणमैत्री सवारीको प्रयोग गर्न, मासु र दुग्ध पदार्थ कम खान आग्रह गर्छु,’ उनले कुरा टुंग्याए ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...
२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...
प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...