मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
काठमाडाैं | फागुन १८, २०८०
राष्ट्रिय सभा अध्यक्ष नेकपा (माओवादी केन्द्र)ले नै पाए पनि वर्तमान सत्ता समीकरण जोगिन मुस्किल देखिएको छ । गठबन्धनभित्रको विवाद पेचिलो बन्दै गएका बेला कांग्रेससँग माओवादी उम्मेदवारबाहेकको विकल्पमा छलफल समेत नहुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट स्रोतले लोकान्तरसँग बतायो ।
‘हामी ठूलो दल भएको हिसाबले स्वाभाविकरूपमा हाम्रो उम्मेदवार हुन्छ । कांग्रेससँग यो विषयमा छलफल गर्नु आवश्यक नै छैन, हाम्रो उम्मेदवारलाई मत दिनुस् भनेर सहयोगसम्म माग्न सकिन्छ,’ स्रोतले भन्यो ।
प्रधानमन्त्रीसँग निकै निकट रहेको उक्त स्रोतले थप्यो, ‘गठबन्धनका कारण पहिलो दल भएको कुनै रियलाइजेसन कांग्रेसमा छैन । उल्टै गठबन्धनले गर्दा मत घट्यो, अब गठबन्धन गर्दैनौं भनिसकेपछि ऊसँग जिहजुरी गरेर बसिरहने कुरा हुँदैन । माओवादी जनयुद्धलाई हिंसात्मक आन्दोलन भन्ने, २०४७ कै संविधान ठीक थियो, माओवादीले बिगारे भन्ने कुरा महासमिति बैठकबाटै पारित भएपछि कसरी सँगै रहन सकिन्छ ?’
कोशी प्रकरणका कारण पनि कांग्रेससँगको सहकार्य जटिल बनेको दाबी स्रोतले गर्यो ।
‘कोशीमा हाम्रो सभामुख गुम्यो, मुख्यमन्त्री गुम्यो, राष्ट्रिय सभा चुनावमा माओवादीलाई हरायौं भन्दै हिँड्नेलाई पनि कुनै कारबाही हुँदैन, यसले कसरी सहकार्य सौहार्द हुनसक्छ ?’ स्रोतले भन्यो ।
माओवादीको यो असन्तुष्टि बुझेको कांग्रेस उसलाई राष्ट्रिय सभाको अध्यक्ष दिएरै भए पनि गठबन्धन जोगाउने प्रयत्नमा छ । मन्त्रीको सेटै फेर्न समेत देउवा तयार भइसकेका छन् । ज्ञानेन्द्रबहादुर कार्कीमार्फत देउवाले प्रचण्डसमक्ष पनि यो सन्देश पुर्याएका छन् ।
तर, प्रचण्ड निकै अगाडि बढिसकेकाले यति विषयले मात्र पनि गठबन्धन जोगाउन मुस्किल देखिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटकको भेटपछि प्रचण्ड अब कांग्रेससँगको गठबन्धनबाट बाहिर निस्कने मनस्थितिमा पुगेको अर्को एक विश्वस्त स्रोतको दाबी छ । तर, यही राष्ट्रिय सभा निर्वाचन कि त्यसपछि कुनै बहानामा गठबन्धन फेरिने भन्ने निश्चित हुन सकेको छैन ।
‘शुरूमा अध्यक्षद्वयबीच सीमित रहेको यो विषय अहिले पार्टी पंक्तिमा समेत सञ्चार भइसकेको छ । सार्वजनिक चर्चा नै हुन थालिसकेको अवस्थामा धेरै समय कुर्दा सबै कुरा बिग्रिने जोखिम हुन्छ,’ स्रोतले भन्यो, ‘कांग्रेसले नै अब गठबन्धन हुँदैन भनेपछि यसमा सोचिराख्ने विषय बाँकी रहेन । तर, यही राष्ट्रिय सभा अध्यक्षको चुनावमै यो विषयको पटाक्षेप हुने कि केही समय कुर्ने भन्ने निर्क्यौल हुन बाँकी छ ।’
पुस १० मा एमाले, माओवादी, रास्वपा र राप्रपासहितको सरकार बन्दा दक्षिणी छिमेकी भारत असन्तुष्ट बनेको चर्चा थियो । पछि कांग्रेस–माओवादी गठबन्धन ब्यूँतिनुलाई पनि धेरैले भारतीय चासोसँग जोडेर हेरेका थिए । फेरि एमालेसँग मिल्दा आउन सक्ने चुनौतीलाई प्रचण्डले विचार गरिरहेको अर्को एक स्रोतले दाबी गर्यो ।
‘पहिलेजस्तो माइक्रो म्यानेजमेन्ट नै नगरे पनि यहाँ बन्ने सरकारमा भारतीय चासो लुकाइराख्नुपर्ने विषय होइन, त्यसैले भारतको चुनावसम्म कुर्ने अवस्था पनि हुनसक्छ,’ उक्त स्रोतले भन्यो ।
१४ महिनादेखि सरकार चलाए पनि कांग्रेसबाट सुशासनका निम्ति पर्याप्त सहयोग नपाउँदा र मन्त्री फेरबदल गर्न प्रचण्ड रुष्ट बन्दै आएका छन् । यही बेला कांग्रेसबाट कोशीमा पटक–पटक धोका भएको, महासमितिबाट गठबन्धन र चुनावी तालमेलविरोधी निर्णय आएको कुराले माओवादी थप चिढिएको हो ।
प्रचण्ड र ओलीका पछिल्ला भेट, अभिव्यक्ति, चितवनको भरतपुर महानगरकी मेयर रेनु दाहाल (प्रचण्डकी छोरी)को निम्तोलाई सहज स्वीकार्दै ओलीले प्रचण्डसहित गठबन्धनका नेतासँग मञ्च शेयर गर्नुले पनि परिस्थिति धेरै अगाडि बढेको संकेत गर्ने दाबी स्रोतहरूको छ ।
कांग्रेससँग प्रचण्डको दुरी बढेकै बेला चितवनमा ‘भरतपुर भ्रमण वर्ष– २०२४’ को उद्घाटन कार्यक्रमका लागि मेयर रेनुको निम्तो सहजै स्वीकार्दै ओली भरतपुर पुगेका थिए । ओली पुग्दा प्रचण्ड र रेनुले निकै प्रशन्न मुद्रामा स्वागत गरे ।
मञ्चमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी पनि उपस्थित थिए ।
प्रचण्डले ओली पुग्दा उठेरै हर्षित मुद्रामा स्वागत गरेका थिए । सम्बोधन गरेर फर्किंदा पनि अरू नेतासँग खासै कुरा गरेनन् । तर, प्रचण्ड, मेयर रेनु र नेकपा एसका नेता झलनाथ खनालसँग कुराकानी गरेर फर्किए ।
प्रचण्डसँग नजिकिँदो सम्बन्धबारे ओलीले सञ्चारकर्मीलाई काठमाडौंबाट अर्को प्रस्ट सन्देश दिएका थिए ।
शुक्रवार भरतपुर जानुअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले प्रचण्डसँग नियमित भेट भइरहेको स्पष्ट पारेका थिए । ‘सरकारलाई भन्नुपर्ने कुरा भए मलाई बताउनुस्, प्रधानमन्त्रीसँग मेरो भेट भइरहन्छ,’ नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको कार्यक्रम उद्घाटन समारोहमा ओलीले भनेका थिए ।
ओलीले मात्रै होइन, प्रचण्डले पनि बिहीबार चितवन पुगेर कांग्रेससँग दूरी बढ्नुको कारण अर्थ्याएका थिए ।
‘स्थायी कमिटी बैठकमा अत्यधिक सदस्यले अध्यक्ष हामीले छोड्नुहुन्न भन्ने सुझाव दिनुभएको छ । औपचारिक ढंगले लिखित निर्णय भइसकेको छैन । सीटौलाजीले शान्ति प्रक्रिया र संविधान लेखनमा खेलेको सकारात्मक भूमिकाका कारण उहाँ आउँदा सकारात्मक ढंगले सोच्न सकिन्छ भनेकै हो,’ प्रचण्डले भनेका थिए, ‘त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रमहरू अलि भिन्न ढंगले अगाडि गए । कोशीमा माओवादी केन्द्रको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसकै कारण आयो । कोशी प्रदेशका हाम्रा सबै नेता/कार्यकर्ता, समर्थक असाध्यै आक्रोशित स्थितिमा हुनुहुन्छ ।’
यतिमात्रै होइन, कांग्रेस दुरी बढ्दै गएको कारण र विस्तारै परिस्थिति थप बिग्रँदै जान लागेको संकेत पनि उनले गरेका छन् । ‘कांग्रेसले महासमितिबाट आवश्यक नभएको नयाँ निर्णय गर्यो भन्ने हामीलाई लाग्छ । गठबन्धन राम्रै गएको थियो । राम्रै लाने कुरामा हामी प्रतिबद्ध थियौं, अझै पनि छौं । तर, पनि गठबन्धन गरिँदैन भनियो,’ कांग्रेसप्रति गम्भीर प्रश्न उठाउँदै प्रचण्डले भने, ‘जुन पार्टीको भोट र समर्थनबाट नेपाली कांग्रेस एक नम्बर भएको छ, त्यही पार्टीसँग गठबन्धन गर्दैनौं, हामी रूखबाहेक भोट हाल्दैनौं भनेर अहिले बोल्नैपर्ने जरुरी थिएन । यसले पनि देशभर एउटा तरंग पैदा गरेको छ ।’
प्रचण्ड यत्तिकैमा रोकिएनन्, कांग्रेसको महासमिति बैठकमा प्रवेश पाएको हिन्दू राष्ट्रको विषय र माओवादी जनयुद्धलाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्तावमा हिंसात्मक द्वन्द्व भनिएको विषयलाई लिएर पनि प्रचण्डले आपत्ति जनाएका छन् ।
‘संविधानमा उल्लेख धर्मनिरपेक्षताको विषयमा पनि कांग्रेस बैठकमा जसरी चर्चा र परिचर्चा भए, जनयुद्धको बारेमा पनि अहिले बेमौसमको बाजा बजाएर किन बोलेको भनेर प्रश्न त उठेको छ,’ प्रचण्डले निकै चलाखीपूर्ण शब्द चयन गर्दै भनेका छन्, ‘तर, त्यसले तत्काल तात्विक रूपले ठूलो अन्तर र असर परिहाल्छ भन्ने ठाउँमा हामी पुगेको स्थिति छैन ।’
उनले तत्काल यही विषयले तनाव नल्याउने बताए पनि ढिलोचाँडो कांग्रेससँग समीकरणबाट अब टाढा हुने प्रशस्तै संकेत गरिदिएका छन् ।
माओवादी नेता लीलामणि पोखरेलले पनि कोशीमा तीनपटक माओवादीले पाएको धोका, मन्त्री फेर्न भएको अवरोध, आलोपालो समझदारीका कारण संवैधानिक परिषद्मा केही नहुने स्थिति र बजेट निर्माणका सिद्धान्तमै कांग्रेससँग कुरा नमिलेको बताउँछन् ।
‘हामीले कांग्रेसलाई २३ सीटबाट उठाएर ८९ सीटको बलियो अवस्थाको पहिलो दल बनाइदियौं, तर उनीहरू सन्दर्भ नै नभएको विषयमा माओवादीसँग तालमेल गर्दैनौं भनेर बेमौसमको बाजा बजाइरहेका छन् । शान्ति सम्झौताको भावनाविपरीत जनयुद्धलाई हिंसात्मक भन्दैछन्,’ पोखरेल भन्छन्, ‘गठबन्धन सरकार बन्ने मन्त्री फेर्न किचलो, ठूलो दललाई राष्ट्रिय सभाको अध्यक्ष नदिने अर्थतन्त्र डामाडोल हुँदा बलियो बजेट ल्याएर स्रोत परिचालन गर्नुपर्नेमा बजेटको सीमा घटाउने कांग्रेसको अडानले केही तनावजस्तो स्थिति आएको हो ।’
आफूहरू संविधान, जनप्रतिधिमूलक संस्थाको रक्षाका लागि कांग्रेससँग मिलेको भन्दै उनले एमाले वा वामपन्थीसँग मिल्नै नहुने पक्षमा नरहेको बताए ।
‘केपी ओलीजीले संविधान र संसदमाथि आक्रमण गरेकाले शेरबहादुरजी र हामीहरू एक ठाउँमा उभिने परिस्थिति बनेको हो । राजनीतिमा फेरिएको अवस्थामा अब फेरि यही परिस्थिति रहिरहनुपर्छ भन्ने पनि छैन,’ पोखरेलले भने, ‘प्रधानमन्त्रीले आफ्नो सहजताका लागि प्रमुख प्रतिपक्षी दलसँग कुरा गर्नु अनौठो होइन । विपक्षीको विश्वास पनि लिनुपर्छ । यसैले विपक्षी दलका नेतासँग भेट्दा कांग्रेस सशंकित हुनु पर्दैन ।’
तर, अहिले नै ०८४ को चुनावलाई मात्रै लिएर चिन्ता व्यक्त नगरिएको उनी बताउँछन् ।
‘म आफैं र हामी धेरै नेताहरू वामपन्थी ध्रुवीकरणको पक्षमा छौं । तर, अहिले नै ८४ को चुनावलाई लिएर चिन्तित छैनौं । तात्कालिक अवस्थाअनुसार तालमेल वा गठबन्धन बन्न सक्छ,’ उनी भन्छन्, ‘तर कांग्रेसकै एकथरीले गठबन्धन तोड्नुपर्छ भनेर लागेपछि परिस्थिति केही गम्भीर बनेको हो । तर, सम्हाल्नै नसक्ने स्थिति बनिसकेको छैन ।’
ओली र प्रचण्डले आफूहरू नजिकिँदै गएको दाबी गरिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले भने चितवन नै पुगेर गठबन्धन तलमाथि नहुने दाबी गरेका छन् ।
‘गठबन्धन केही पनि हुँदैन । मैले भनिसकें त, कति भन्नु,’ देउवाले भने, ‘गठबन्धन निरन्तर जान्छ, ढुक्क भए हुन्छ ।’ देउवा आफैंले पनि बिहीबार पदाधिकारीहरूसँगको छलफलमा राष्ट्रिय सभा अध्यक्षको विषयले गठबन्धनमा फाटो नआउने बरु आफ्नै दलले पाउने दाबी नेताहरूबीच गरेका थिए ।
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...