२६ जेठ २०८३, मंगलबार

गण्डकीका गणेशले बनाए राष्ट्रिय कीर्तिमान

बैशाख ४, २०८१
काठमाडौं
गण्डकीका गणेशले बनाए राष्ट्रिय कीर्तिमान
तस्वीर साभारः राखेप ।

गण्डकी प्रदेशका गणेश विकले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र हाइजम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । 

मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणेशले १.८१ मिटर जम्प गर्दै २०७५ सालमा भएको राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनीका प्रभु थारूले बनाएको १.७७ मिटरको कीर्तिमान भंग गरे । 

बागमतीका अविनाश सुनार (१.७५ मिटर) दोस्रो तथा लुम्बिनीका मिलन विश्वकर्मा (१.७० मिटर) तेस्रो भए । सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी सुष्मिता चौधरी (१.४१ मिटर) पहिलो, गण्डकीकी सीमा श्रेष्ठ (१.३८ मिटर) दोस्रो तथा लुम्बिनी प्रदेशकी पूजा नेपाली र कर्णालीकी हीरा बुढा (१.३० मिटर) तेस्रो भए । 

छात्र १ हजार ५०० मिटर दौडमा गण्डकीका बादल कार्कीले स्वर्ण जिते । उनले निर्धारित दूरी ४ मिनेट १९.१ सेकेन्डमा पूरा गरे । ४ मिनेट १९.६ सेकेन्ड समयमा कर्णालीका अजय विक दोस्रो तथा ४ मिनेट २२.७ सेकेन्ड समयमा सुदूरपश्चिमका विक्रम विक तेस्रो भए । उक्त स्पर्धाको छात्रामा कर्णालीकी कल्पना बुढा पहिलो भइन् । निर्धारित दूरी तय गर्न कल्पनाले ५ मिनेटमा ०४.४ सेकेण्ड समय लगाइन् । सुदूरपश्चिमकी देवकीकुमारी धामी (५ मिनेट १३.०९ सेकेण्ड) दोस्रो तथा बागमतीकी अष्मिता भुजेल (५ मिनेट १९.८ सेकेन्ड) तेस्रो बने । 

छात्राको ४०० मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ता पहिलो भए । उनले ५१.५ सेकेण्डमा दूरी तय गरे । बागमतीका सन्तबहादुर दराई (५१.९ सेकेन्ड) दोश्रो तथा कोशी प्रदेशका राकेश सार्की तेश्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा कर्णालीकी सरिता खड्का पहिलो भइन् । दूरी पूरा गर्न सरिताले १ मिनेट ०२.३ सकेन्ड समय खर्चिन् । लुम्बिनीकी अनिशा थारू (१ मिनेट ०३.५ सेकेन्ड) दोस्रो तथा कर्णालीकी भावना कर्साल (१ मिनेट ०३.७ सेकेन्ड) तेस्रो भए ।

छात्रको १०० मिटर दौडमा मधेशका आदेशकुमार यादव पहिलो भए । उनले निर्धारित दूरी पूरा गर्न ११.२० सेकेन्ड समय लगाए । बागमतीका प्रवीण राना मगर (११.३५ सेकेन्ड) दोश्रो तथा सुदूरपश्चिमका चन्द्र बोहरा (११.५२ सेकेन्ड) तेस्रो भए । सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी रितु जोशी पहिलो भइन् । रितुले निर्धारित दूरी १३.५८ सेकेन्डमा पूरा गरिन् । गण्डकीका एन्जल अधिकारी (१३.६६ सेकेन्ड) दोस्रो तथा निशा घर्ती (१३.७५ सेकेन्ड) तेस्रो भए । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भइरहेको राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश छन् । पहिलो दिन मंगलवार ८ स्पर्धाको फाइनल सम्पन्न भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्