
पछिल्लो समय एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाउने विषयबारे कांग्रेसले औपचारिक धारणा बाहिर ल्याएको छ ।
सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र सिनियर नेताको बैठकपछि कांग्रेसले सत्तालाई मात्रै कांग्रेसले प्राथमिकता नराखे पनि दीर्घकालीन हिसाबले सरकार चल्ने स्थिति आउने, संविधान शंसोधन हुने र निर्वाचन पद्धतिले ल्याएका अप्ठ्यारालाई मिलाउन सक्ने स्थिति भए नयाँ सरकारको विकल्पमा जाने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अप्ठ्यारालाई चिर्न सक्ने गरी विषय अगाडि बढे सरकारमा विचार गर्ने बताए ।
‘सबैभन्दा ठूलो पार्टीको हैसियतले सत्तामा नेपाली कांग्रेस हुनुपर्छ । नेतृत्व गर्नुपर्छ भन्ने अनौठो विषय भएन । तर बैठकमा सरकार केन्द्रित भएर छलफल भएको छैन । तथापि नेतृत्व तहले विभिन्न दलसँग छलफल गरिरहेको छ । राष्ट्रिय मुद्दामा छलफल गरेको छ । सत्ता हाम्रो प्राथमिकताको विषय होइन । मुद्दामा एकरूपता आयो । दीर्घकालीन रुपमा अगाडि जाने परिस्थिति बन्यो त्यो अवस्थामा यो विषयले प्राथमिकतामा पाउँछ,’ महतले बैठकपछि भने, ‘यी मुद्दामा छलफल गर्दा एक ठाउँमा उभिने परिस्थितिमा यो कुरा अगाडि बढ्ने कुरा हो । त्यसकारण यो विषयमा बोल्नु परिपक्व भइसकेको छैन । परिपक्व नभई यो विषयमा बोल्नु उपयुक्त हुँदैन ।'
तर संविधान शंसोधन गरेर चुनौतीलाई चिर्ने गरी अगाडि बढ्दा कांग्रेस त्यो दिशामा अगाडि बढ्ने उनले बताए ।
‘हाम्रो लागि मुख्य कुरा मुद्दा हो । विनामुद्दा खाली सरकारमा जानको लागि नेपाली कांग्रेसले यो विषयलाई प्राथमिकतामा राख्दैन । सम्पूर्ण रुपमा दीर्घकालीन हिसाबले सरकार चल्ने, परिणाममूलक काम गर्न सक्ने, अस्थिरताको अन्त्य गर्न सक्ने, निर्वाचन पद्धतिले ल्याएका अप्ठ्यारालाई कम गर्न सक्ने, देशलाई स्थिरता र समृद्धि तर्फ उन्मुख गराउन सक्ने परिस्थितिमा मात्रै यो विषयलाई विचार गर्छौ’ महतले भने ।
बैठकमा सभापति देउवाले एमाले अध्यक्ष ओलीसँग सौहार्दपूर्वक भेट भएको ब्रिफिङ गरेका थिए ।
‘बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग अत्यन्तै सौहार्दपूर्वक भेट भएको छ। सकारात्मक कुराहरू छन्,’ सभापतिको उद्धृत गर्दै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘यसका बारेमा अहिले धेरै टिप्पणी नगरौं ।’
गत शनिवार देउवा र ओलीबीच बालकोटमा ३ घण्टा वार्ता भएपछि नयाँ सत्ता समीकरणको प्रयास अगाडि बढेको थियो ।
त्यसपछि दलहरूबीच संवादको क्रम बाक्लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलसँग लगातार घण्टौं छलफल गरेका छन् ।
ओलीले आजै साँझ सरकारमा सहभागी भएका एमालेका ८ मन्त्रीलाई छलफलका लागि बालकोट बोलाएका छन् ।