
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको अध्यक्षतामा आज बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले जोशीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
मन्त्रालयका अनुसार जोशी खुला प्रतिस्पर्धाबाट छनोट भएका थिए ।
शिक्षा क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेर झण्डै दुई दशकको अनुभव बटुलेका जोशीले आजै शपथ लिइसकेका छन् ।
नवनियुक्त कार्यकारी निर्देशक जोशीले पछिल्लो कार्यविधिअनुसार आफू छनोट हुन सफल भएको भन्दै आफूले अब सबै पक्षसँग समन्वय गरेर आफूले सिकेका, जानेका कुराअनुसार त्यहाँको वस्तु स्थितिअनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
उनले पशुपति विश्वकै हिन्दूहरूको आस्थाको केन्द्र भएकाले त्यसलाई थप सशक्त बनाउने र विकासमा एउटा इँटा थप्ने आफ्नो प्रयत्न हुने बताए ।
पछिल्लो समय पशुपति विकास कोषको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियालाई लिएर आलोचना हुने गरेकोमा यस पटक मन्त्री तामाङको निर्देशनमा खुला प्रतिस्पर्धाबाट नियुक्त गरिएको हो ।
कोषको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गत जेठ २३ गते आवेदन माग गरिएको थियो ।
कोषको कार्यकारी निर्देशकको पद नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सचिव सरहको पद हो ।
जोशीले आजै पदभार ग्रहण गरेका कोषले जनाएको छ ।