
काठमाडौं, २८ कात्तिक– हेर्दा स्वास्थ देखिने, कपाल सेतै फुलेका आँखामा पावरवाला चश्मा लगाएर अल्का अस्पतालको मधुमेह परिक्षण गर्ने ठाउँमा बसिरहेका थिए त्रिभुवन विश्व विद्यालयका पूर्व प्राध्यपक डा. सर्वराज आचार्य ।
लोकान्तरसंगको कुराकानीमा डा.आचार्यले अस्पतालमा चिनी रोग अर्थात मुधमेहको परिक्षण गर्न आएको बताए । आचार्यले २ वर्ष अघि देखी मधुमेहको औषधी खादै आएको लोकान्तलाई बताए । पूर्व प्राध्यायपक समेत रहेका डा. आचार्यले मधुमेह नियन्त्रणको लागि स्वास्थ्यमा निकै ध्यान दिने गरेका छन् ।
‘२०५८ सालमा आँखा जाँच गराउन जादाँ डाक्टरले रगत पनि परिक्षण गराउन भने । त्यसपछि रगत परिक्षण गराएँ । परिक्षको रिपोर्टमा सुगर भएको थाहा भयो । उनले लोकान्तरसंग भने,‘ त्यतिवेला डाक्टरको सल्लाहमा धेरै व्यायाम, योग गर्ने हिड्ने, खानपानमा ध्यान दिने गरेर सुगनलाई नियन्त्रण गरे । औषधी खान थालेको २ वर्ष मात्रै भयो ।’
आचार्यले अहिले दिनमा २ पटक मधुमेह नियन्त्रणको लागी औषधी सेवन गर्दै आएका छन् । औषधीसँगै स्वास्थ्य जीवनशैली अपनाएको भन्दै उनी भन्छन्, ‘यो रोगलाई नियन्त्रण गर्न औषधी खाएर मात्रै हुदैन । म त दिनमा दुई देखि ३ घण्टा हिड्ने गर्छु । ६–६ महिनामा रगत जाँच गराउछु, अनि वर्ष वर्षम मुटु र आँखा पनि परिक्षण गर्छु ।’
डा. आचार्यले त्रिभुवन विश्व विद्यालयमा पढाउदाको कहानी सुनाउँदै भने, ‘पहिला क्याम्पसमा पढाउदा मोटो थिएँ । डाक्टरले मोटोपन घटाउनु भनेका थिए । मोटरबाइकलाई घरमै छोडेर पसीना आउने गरी दौडेर क्याम्पस पुग्थे ।’

‘मैले जस्तै रोगलाई नियन्त्रणमा राख्नुपर्छ । त्यसको लागि औषधी खाएर मात्रै हुँदैन । पहिलो कुरा डाक्टरको नियमित संम्पर्कमा रहेर उहाँको सल्लाह मान्नुपर्छ । समय समयमा रगत पिसाब, मुटु, आँखा परिक्षण गराउने, धेरै हिड्ने र पसिना आउने गरी व्यायम तथा योग गर्नुपर्छ,’ अन्य मधुमेहका रोगीहरुलाई पनि आफुले जस्तै स्वास्थ्य जिवनशैली अपनाउन आचार्यले सुझाव दिए ।
डा. आचार्यले जस्तै मधुमेहका विरामीले आफ्नो स्वास्थ्यमा ध्यान दिन सकेमा मधुमेहबाट हुने जोखिमलाई कम गर्न सकिन्छ ।
तर डा.आचार्य जस्तै सबै मधुमेह रोगीहरु आफ्नो स्वास्थ्यप्रति सचेत नभएको चिकित्सकहरु बताउँछन् । नेपालमा मधुमेहको अवस्था डरलाग्दो भएको चिकित्सकहरुले बताएका छन् ।
विश्वभर ४१ करोड मानिसमा मधुमेहको समस्या रहेको तत्थ्याङ्क छ । नेपालको कुल जनसंख्याको १९ प्रतिशत नेपालीहरुमा मुधुमेहको समस्या रहेको काठमाडौं डाइबेटिज तथा थाइराड सेन्टरका निर्देशक डाक्टर अंशुमाली जोशीले बताए । नेपालमा प्रत्यक घरहरुमा एक न एकजना मधुमेहको विरामी रहेको उनको भनाइ छ ।
नेपालमा रहेका मधुमेहका सबै विरामीहरु उपचारको पहँुचमा नरहेको डा. जोशीले बताए । उनले लोकान्तरसंग भने, ‘शहरी क्षेत्रमा रहेका मानिसहरु उपचारको पहुँचमा छन् । तर ग्रामिण क्षेत्रका धेरै विरामीहरु उपचारबाट बन्चित नै छन् । जसको कारण उनीहरुमा आँखा किड्नी विग्रसकेपछि मात्रै आउने गरेका छन् ।’
मधुमेह लागेको सुरुको अवस्थामा शरीरमा कुनै लक्षण नदेखिने गरेको उनले बताए । पचास प्रतिशत विरामीहरुमा मात्रै सुरुको अवस्थामा मधुमेहको लक्षण देखिने भएकाले पनि विरामीको अवस्था जटिल भएपछि उपचारमा आउने गरेको डा. जोशीको अनुभव छ ।
डा. जोशीका अनुसार मधुमेहका विरामीहरुमा यस्तो लक्षण देखिन सक्छ
पटक पटक पिसाब लागिरहन्छ ।
बढी तिर्खा लागिरहने ।
जति खाएपनि भोक लागे जस्तो मात्रै हुने ।
शरीर कमजोर भएजस्तो अनुभव हुने ।
छाला सुक्ने, शरीर चिलाउने ।
हातखुट्टा झम्झामाउने, दुखेको थाहा नहुने ।
पिसाव नली, योनीमा संक्रमण हुने ।
दाँत र गिजा पाक्ने समस्या देखिने ।
जति खाएपनि तौल घट्दै जाने ।
यौनशक्तिमा कमी आउने ।
यस्ता मानिसमा मधुमेहको सम्भावना बढि हुन्छ
तनाव धेरै लिने व्यक्ति
अस्वास्थ्यकर जिवनशैली अपनाउने व्यक्ति
मोटो व्यक्ति
गर्भवती महिला
जन्मदा ४ केजी वा सो भन्दा धेरै भएको शिशु
अन्तर ग्रन्थी, प्याङुक्रियाजको रोग भएमा
परिवारको कुनै सदस्यमा मधुमेह भएको अवस्थामा
मधुमेहका विरामीले समयमा उपचार र स्वास्थ्यमा ध्यान नदिदा यसले जटिल रुप लिनसक्छ । प्याङ्क्रियाज गन्थ्रीको ईन्सुलिन उत्पादन गनेए कोषिकाहरु घट्दै जाँदा रगतमा चिनीको मात्रा बढि हुन थाल्छ । जसको कारण मधुमेह रोगीलाई अन्य समस्याहरु पनि उत्पन्न हुन सक्छ ।
मधुमेहलाई समयमै नियन्त्रण नगर्दा यस्तो रोगको संक्रमण हुनसक्छ
आँखा भित्रको नशामा क्षति भई आँखा धमिलो हुने ।
रेटिनामा क्षति भई दृष्ट्रि गुम्न सक्छ ।
मृगौला सम्बन्धि रोग लाग्न सक्छ ।
हृदयघात र पक्षघातको सम्भावना हुने ।
खुट्टाको नशा क्षति भई खुट्टामा घाउ चोटपटक लाग्नेको थाहा नहुने ।
घाउ लामो समय सम्म निको नहुने । पाक्ने र खुट्टा काट्न पर्ने अवस्था समेत आउन सक्छ ।
स्मरणशक्तिमा ह्रास आउछ ।
मधुमेह लाग्नै नदिन र लागेपछि ध्यान दिनुपर्ने उपाय
खानपानमा ध्यान दिने ।
मदिरापान र धुम्रपान नगर्ने ।
नियमित शारीरिक व्यायाम र योग गर्ने ।
मधुमेहको समस्या देखिएमा चिकित्सकको सुझाव अनुसार नियमित औषधी सेव गर्ने ।
सक्रिय जीवनशैली अपनाउने ।
स्वास्थ्यकर खाना खाने ।
समय समयमा स्वास्थ्य परिक्षण गराउने ।
स्वास्थ्य परिक्षण गराउदा रगत, पिसाब, आँखा मुटु परिक्षण गराउने ।