
काठमाडौं, ७ माघ- स्थानीय तह, प्रदेश तथा केन्द्रिय तहको चुनाव तथा प्रदेश राजधानी र प्रदेश प्रमुख तोकिएसँगै मुलुकमा संघीय प्रक्रिया शुरु भएको छ । सरकारले ७ वटै प्रदेशका अस्थायी मुकाम र प्रदेश प्रमुखहरु नियुक्त गरिसकेको छ ।
अस्थायी प्रदेश तोकिएपछि आफ्नो क्षेत्रमा प्रदेश राजधानी नतोकिएको भन्दै विरोधहरु जारी रहेपनि अव प्रदेशका राजधानीमा संसद, सरकार बन्ने प्रकृया एक दुई दिनमै शुरु हुने छ । यससँगै राजनीतिक व्यवस्था विकेन्द्रित हुने छ भने उपत्यकामा केन्द्रित सेवा, सुविधा, उद्योग कलकारखाना पनि प्रदेशमा उपलव्ध हुने विश्वास गरिएको छ ।
यससँगै अब ‘काठमाडौं उपत्यका छिर्नेहरुको संख्या घट्ला त ?’ धेरैको चासोको विषय बनेको छ ।
जनसंख्याका प्राध्यापक पुष्पकमल सुवेदीको विचारमा उपत्यकामा जनसंख्याको चाप केहीमात्रामा कम हुने भएपनि तत्काल भने देखिनेगरि कम हुने छैन । सुवेदी भन्छन्,‘राजधानी उपत्यका सर्नेको संख्या तुलनात्मक रुपमा घट्नेछ, तर, तत्काल देखिने गरी भने नघट्ला । ’
लोकान्तरसँगको कुराकानीमा सुवेदीले भने, ‘ बसाइँ सराइ कति घट्छ भन्ने कुरा सरकारले प्रदेश राजधानीमा गर्ने विकासका क्रियाकलापमा भर पर्छ, मानिस आवश्यकताअनुसार सेवा सुविधाका लागि बसाईसराई गर्छ, ती सेवा सुविधा नजिकका शहरमा भए काठमाडौं मात्रै आउनेहरु विस्तारै घट्छन् ।’
पछिल्लो जनगणनालाई आधार मान्दा अहिले नेपालको जनसंख्या करिब ३ करोड छ भने त्यसको करिब १४ प्रतिशत (करिब ४० लाख) जनसंख्या उपत्यकामा रहेको छ । यसबाहेक बाहिरी जिल्लामा गणना भएका मानिसहरु पनि काठमाडौं रहेका छन् ।
पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी बसाइँ सरेर आउने जिल्लामा काठमाडौं नै अगाडि देखिन्छ भने दोस्रोमा ललितपुर रहेको छ । त्यसपछि क्रमशः चितवन, भक्तपुर, कञ्चनपूर, कास्की, झापा जिल्ला रहेका छन् । वार्षिक रुपमा बसाई सर्नेहरुमध्ये ३० प्रतिशत जनसंख्या काठमाडौं जिल्लामा मात्रै सर्ने गरेको तथ्यांकहरुले देखाउँछन् ।
‘काठमाडौं आएर पनि जीवनशैलीमा त्यति सुधार नहुँदा किन गाउँ नै फर्किन चाहदैनन् त मानिस ?’ लोकान्तरसको प्रश्नमा सुवेदी भन्छन्, ‘कुनै कुनै उद्देश्यसहित मानिसले पुरानो स्थान छोड्छ, त्यसैअनुसार नयाँ ठाउँमा गएर काम गर्न खोज्छ तर, त्यही पुस्ता पुरानो ठाउँमा फर्केर जान चाहदैन, यो मानवीय स्वभाव नै हो । सकेसम्म उद्देश्य हाँसिल गर्न चाहन्छ ।’
दुर्गम गाउँहरुमा शिक्षा स्वास्थ्य तथा अन्य आधारभूत सुविधाहरुको सहज पहुँच पुर्याउन सके आगामी पुस्ता पुरानो ठाउँ फर्किने र उता रहेका मानिसमा वसाइसराइको मानसिकता नआउँन सक्ने धारणा सुवेदीको छ ।
तर पछिल्लो समय प्रविधिको विकाससँगै मानिसहरु विधि मापदण्ड पुर्याएर विश्वका जुनसुकै ठाउँमा गएर पनि बस्ने रमाउने चलन बढिरहेको बेला बसाइसराइको दर त्यति नघटे पनि देशका अन्य शहरको विकासका आधारमा त्यता पनि बसाई सर्ने चलन बढ्न सक्ने सुवेदीको धारणा छ ।
उनी भन्छन्, ‘काठमाडौं अन्तर्राष्ट्रिय शहर हो, देशको राजधानी हो, यहाँ विश्वका अन्य देशका मानिस पनि आएर बसेका छन्, त्यसकारण यहाँको जनसँख्याको चाप त्यति घट्ने भने होइन तर, अलिकति पैसा हुने वित्तिकै काठमाडौं आएर घर जग्गाको किन्ने प्रबृत्ति केही वर्षमा कम हुन्छ ।’
काठमाडौं उपत्यकाको मात्रै कुरा गर्दा सबैभन्दा बढी छिमेकी जिल्लाहरुबाट २१ प्रतिशतको हाराहारीमा बसाई सर्ने गरेको र बाँकी अन्य टाढाका जिल्लाबाट बसाइँ सर्ने गरेका छन् । त्यसकारण पनि राजधानी उपत्यका छिर्ने छिमेकी जिल्लाका मानिसहरु भने तत्काल त्यति घटाउन नसकिने सुवेदी बताउँछन् ।
बसाई सर्नु राम्रो नराम्रो भन्दा पनि मानिसको अधिकारको कुरा भएको भन्दै सुवेदीले भन,‘सरकारले यसलाई रोक्ने होईन र रोक्न खोजे सक्ने पनि होईन स्थानीय तहमै विकास निर्माण गरेर उनीहरुको दैनिकी सहज बनाउने मात्रै हो, यसले विस्तारै जनसंख्या व्यवस्थापन हुनेछ ।’