काठमाडौं, १६ फागुन- अर्थविश्लेषक दीपेन्द्रबहादुर क्षेत्रीले संघीयताको सफल कार्यान्वयनका लागि आगामी आर्थिक वर्षको बजेट सिलिङ करिब ८ खर्ब बढ्ने दाबी गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेट सिलिङ ४ खर्ब बढ्ने प्रक्षेपण भइरहेका बेला ‘लोकान्तर विजनेस शो’मा कुराकानी गर्दै विश्लेषक क्षेत्रीले आगामी आर्थिक वर्षको बजेट २० खर्बभन्दा नघट्ने दाबी गरेका हुन् । संघीयताको सफल कार्यान्वयनका लागि आगामी आर्थिक वर्षमा अर्थमन्त्रालयले गरेको अनुमान फेल खाने उनको भनाइ छ ।
उनले भने, ‘सातवटा प्रदेशमा पूर्वाधारको विषयमा यति धेरै परिकल्पना गरिएको छ । यति धेरै प्रदेशहरू विकास निर्माणका लागि उत्साहित छन् । जसका कारण अर्थमन्त्रालयले अहिले अनुमान गरेको १६ खर्बको बजेट सिलिङ संकुचित हुन्छ ।’
उनले नयाँ अर्थमन्त्रीले विकास चाहेमा स्रोतको कुनै पनि समस्या नहुनेसमेत बताए । चालु आर्थिक वर्षभन्दा ८ खर्ब बढी को स्रोत जुटाउन अन्तर्राष्ट्रिय समुदायसामु हामी काम गर्छौं भन्ने विश्वनीयता कायम गर्न सके समस्या नहुने उनको भनाइ छ ।
आगामी आर्थिक वर्षका लागि करिब १५ खर्ब ७० अर्ब रुपैयाँको बजेट ल्याउने प्रारम्भिक योजना बनाएको अर्थमन्त्रालयले जनाएको छ । जुन चालू आर्थिक वर्षभन्दा करिब ४ खर्बले बढी हो । चालू आर्थिक वर्षको बजेट १२ खर्ब ६ अर्ब रहेको छ ।