२९ असार २०८३, सोमबार

स्वास्थ्यका विभाग र महाशाखाहरूमा व्यापक हेरफेर, मन्त्रालयबाट नर्सको दरबन्दी नै खारेज !

साउन ८, २०७५
स्वास्थ्यका विभाग र महाशाखाहरूमा व्यापक हेरफेर, मन्त्रालयबाट नर्सको दरबन्दी नै खारेज !
फाइल फोटो

काठमाडौं – संघीयता कार्यान्वयनका लागि सरकारले ल्याएको नयाँ संरचनामा स्वास्थ्य सेवा विभाग र विभागअन्तर्गतका महाशाहरू परिवर्तन भएका छन् ।

यसअघि स्वास्थ्य सेवा विभागअन्तर्गत ७ वटा महाशाखा रहेकोमा हाल पाँचवटा बनाइएको छ भने उक्त महाशाखाका २२ वटा शाखा रहने भएको छ । 

सरकारले तयार पारेको नयाँ संरचनामा स्वास्थ्य सेवा विभागअन्तर्गतका पाँचवटा महाशाखा खारेज गरी तीनवटा नयाँ महाशाखा बनाएको हो ।

सरकारले आपूर्ति व्यवस्था, परिवार स्वास्थ्य, बाल स्वास्थ्य, कुष्ठरोग नियन्त्रण र प्राथमिक स्वास्थ्य तथा पुनर्जागरण महाशाखा खारेज गरेको छ ।

यस्तै परिवार कल्याण, उपचारात्मक सेवा र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा नयाँ संरचनामा थप गरिएका छन् । नयाँ संरचनामा परिवार स्वास्थ्य तथा बाल स्वास्थ्यलाई मर्ज गरेर परिवार कल्याण महाशाखा बनाइएको हो । 

यसअघि रहेको कुष्ठरोग महाशाखालाई शाखाको रूपमा राखिएको छ । उक्त महाशाखालाई उपचारात्मक सेवा महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखामा राखिएको हो । प्राथमिक स्वास्थ्य तथा पुनर्जागरण माहाशाखा भने पूर्णरूपमा खारेज गरिएको छ । 

नयाँ संगठन संरचनामा नसर्ने रोग तथा मानसिक स्वास्थ्यका र मुख स्वास्थ्यका लागि पनि छुट्टै शाखाको व्यवस्था गरिएको छ ।

नयाँ संरचनामा नर्सको असन्तुष्टि

सरकारले ल्याएको नयाँ संरचनाप्रति नर्सहरूले असन्तुष्टि जनाएका छन् ।

सरकारले संघीय संरचना कार्यान्वयन गर्नका लागि बनाएको नयाँ संरचनामा स्वास्थ्य मन्त्रालयबाट नर्सको दरबन्दी नै हटाएको र नर्सिङ महाशाखा स्वास्थ्य मन्त्रालय अन्तर्गत नभएको भन्दै नर्सहरूले आपत्ति जनाएका हुन् ।

सरकारले यसअघि स्वास्थ्य मन्त्रालयमा रहेको ११औं तहका दुईजना नर्सको दरबन्दी खारेज गरेको छ । 

यस्तै नर्सहरूको माग सम्बोधनका लागि भन्दै सरकारले स्वास्थ्य सेवा विभागअन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा बनाएको छ ।

नर्सिङ क्षमता विकास शाखा बनाई नर्सिङ सेवाको गुणस्तर कायम गर्न र नीति तथा मापदण्ड निर्धारण लगायतका शाखाले गर्ने कार्यहरूको विवरण समेत सार्वजनिक गरेको छ । 

नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोख्रेलले स्वास्थ्य मन्त्रालयमा नर्सहरूलाई अन्याय भएको बताइन् । नर्सहरूले स्वास्थ्य मन्त्रालयअन्तर्गत छुट्टै नर्सिङ महाशाखा हुनुपर्ने माग राखेर आन्दोलन समेत गरेका थिए । सरकारले भने नर्सिङ महाशाखालाई स्वास्थ्य सेवा विभागअन्तर्गत रहने गरी संरचना निर्माण गरेको छ ।

उनले स्वास्थ्य मन्त्रालयबाट ११औं तहका नर्सको दरबन्दी खारेज गर्नु र नर्सिङ महाशाखा स्वास्थ्य मन्त्रालयअन्तर्गत नहुनुमा स्वास्थ्य सचिवको चलखेल रहेको आरोप समेत लगाइन् ।

नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पौडेलले स्वास्थ्य मन्त्रालयमा रहेको नर्सको दरबन्दी हटाएको र मन्त्रालयअन्तर्गत नर्सिङ महाशाखा नरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । ‘सरकारले नयाँ संरचनामा स्वास्थ्य मन्त्रालयमा रहको ११औं तहका नर्सको दरबन्दी समेत खारेज गरेको छ,’ उनले लोकान्तरसँग भनिन्, ‘हामी नर्सहरूलाई नेतृत्वमा पुग्न बञ्चित गर्न स्वास्थ्य मन्त्रालयबाट दरबन्दी हटाइएको छ, यसमा हाम्रो आपत्ति छ ।’

आफूहरूले स्वास्थ्य मन्त्रालयअन्तर्गत छुट्टै नर्सिङ महाशाखा हुनुपर्ने माग राखेको भएपनि सरकारले स्वास्थ्य सेवा विभागमा महाशाखाको संरचना ल्याएकोमा उनको असन्तुष्टि छ ।

‘हामीले मन्त्रालयअन्तर्गत नर्सिङ महाशाखा हुनुपर्ने माग राख्दै आएका थियौं, तर सरकारले स्वास्थ्य सेवा विभागअन्तर्गत राखिएको छ, यसमा पनि हामी सन्तुष्ट छैनौं,’ उनले भनिन्, ‘हामीले स्वास्थ्य सचिव ज्यूसँग पटक–पटक छलफल गरेका थियौं, तर स्वास्थ्य सचिवले नै हामीलाई अन्याय गर्नुभएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्