२६ जेठ २०८३, मंगलबार

‘ट्रेडमार्क चोरी’विरुद्ध उजुरीको चाङ, ११ वर्षमा २२ उजुरी मात्र फर्छ्यौट

मंसिर ६, २०७५
‘ट्रेडमार्क चोरी’विरुद्ध उजुरीको चाङ, ११ वर्षमा २२ उजुरी मात्र फर्छ्यौट

काठमाडौं – गत कात्तिक २८ मा एसियन डिस्टिलरी प्रालिले हिमाली डिस्टिलरी प्रालिको दर्ता खारेज गर्न माग गर्दै उद्योग विभागमा उजुरी दर्ता गर्‍यो । आफ्नो ट्रेडमार्क चोरी (नक्कल) गरेको भन्दै एसियन डिस्टिलरी प्रालिले नवलपरासीमा सञ्चालन गर्ने उद्देश्यले उद्योग विभागमा दर्ता भएको हिमाली डिस्टिलरीविरुद्ध उजुरी दर्ता गरेको थियो ।

उक्त उजुरीमा ‘नक्कल गरेर दर्ता माग गरिएको ‘ट्रेडमार्क’ खारेज गरिपाऊँ भन्ने उल्लेख गरिएको थियो,’ विभागका सूचना अधिकारी जीवनराज सेढाईंले भने ।

एसियन डिस्टिलरी प्रालिले गत कात्तिक २८ मा मात्रै तीनवटा उद्योगविरुद्ध आफ्नो ट्रेडमार्क नक्कल गरेको आरोपमा उजुरी दर्ता गरेको छ ।

यो एउटा उदाहरण मात्रै हो, विभागमा यस्ता उजुरी विगत ११ वर्षदेखि दर्ता हुँदै आएका छन् । यस्ता उजुरीको संख्या ६ सय ३३ पुगेको तथ्याङ्कले देखाउँछ । विभागमा दर्ता हुने अधिकांश उजुरीमध्ये धेरै मात्रामा ट्रेडमार्क चोरीका उजुरी नै दर्ता हुने गरेका छन् । ट्रेडमार्क चोरीबाहेक पेटेन्ट, डिजाइनका समेत उजुरी विभागमा दर्ता हुने गरेका छन् ।

‘२०६४ सालयता ट्रेडमार्क चोरीका मात्रै कुल ६ सय ३३ उजुरी परेका छन्,’ सूचना अधिकारी सेढाईंले भने, ‘२२ वटा फछ्र्यौट भइसकेका छन् ।’

ट्रेडमार्क चोरी बढेपछि विदेशी लगानी फिर्ता

आफ्नो ट्रेडमार्क चोरी भएको भन्दै करीब एक महिनाअघि मात्रै जापानी कम्पनी ‘क्यासियो’ले उद्योग विभागमा उजुरी दर्ता गरेको थियो ।

क्यासियोले आफ्नो ब्राण्डको नाममा नेपालमा छ्यापछ्यप्ति सामान बिक्री भइरहेको र त्यसलाई रोकी पाऊँ भन्दै विभागमा उजुरी दिएको थियो । क्यासियोले दिएको उजुरी अनुसार विभागले प्रमाण जुटाउनका निम्ति अुनगमन गर्दा ६० थान क्याल्कुलेटर भेटियो । उक्त परिमाणको क्यालकुलेटर जफत गरिएको विभागले जानकारी दिएको छ ।

क्यासियोकै उत्पादन भनेर बिक्री भइरहेका २ सय थान ‘जी–शेक’ नामक घडी पनि विभागले जफत गरेको सूचना अधिकारी सेढाईंले बताए । क्यासियो कम्पनीको सक्कली घडीको मूल्य १० हजारदेखि ५० हजार रुपैयाँसम्म रहेको र नक्कली घडीको मूल्य ३ सयदेखि ५ सय रुपैयाँ पर्ने विभागका अधिकारीहरू बताउँछन् ।

११ वर्षअघि २०६४ भदौमा अमेरिकाको डीएएनजेएक्युएलएलसी कम्पनीले आफ्नो ट्रेडमार्क चोरी गरेको भन्दै ओम डिस्टिलरी प्रालिविरुद्ध उद्योग विभागमा उजुरी दिएको थियो ।

बजारमा प्रतिष्ठा कमाएका कम्पनीका नाममा नक्कली सामान बिक्री गरिरहेकाले आफ्नो कम्पनीलाई नोक्सान हुनेभन्दै विभिन्न कम्पनीहरूले न्याय माग्दै विभागमा उजुरी दर्ता गराउँछन् । यसरी ट्रेडमार्क चोरीले आफ्नो उत्पादनलाई नोक्सानी  भयो भन्दै उजुरी दर्ता गराउनेमा स्वदेशीभन्दा पनि विदेशी कम्पनी धेरै रहेको विभागले जानकारी दिएको छ ।

‘विदेशी कम्पनीका ट्रेडमार्क चोरीको क्रम बढेपछि नेपालमा लगानी गर्न खोज्ने विदेशी कम्पनीहरूले नेपालमा लगानी गर्न रुचाउँदैनन्’ सेढाईंले भने ।

नेपालमा लगानी गर्न लागेको जापानी कम्पनी कन्साइ नेरोल्याकको ट्रेडमार्क उद्योग विभागमा दर्ता भएको पाइएपछि नेरोल्याक कम्पनीले नेपालमा कारोबार नगरेको उदाहरण उनले दिए ।

उपभोक्ताको स्वास्थमा हानी

बजारमा प्रतिष्ठित बनिसकेका कम्पनीका नाममा नक्कली सामान उत्पादन गरी बिक्री गर्ने क्रम बढेपछि उपभोक्ताको स्वास्थमा समेत हानी पुग्ने विभागका अधिकारीहरू बताउँछन् ।

नेपाली बजारमा घडी, क्याल्कुलेटर लगायतका प्राविधिक सामान मात्रै बिक्री हुने गरेका छैनन् । खाद्य तथा कस्मेटिक सामान समेत नक्कली बिक्री हुने गरेका विभिन्न उद्योगले विभागमा दिएको उजुरीबाट अनुमान गर्न सकिने विभागका अधिकारीहरूको भनाइ छ ।

सक्कलीको नाममा बिक्री भएका गुणस्तरहीन वस्तुले उपभोक्ताको स्वास्थमा हानी पुर्‍याउने विभागका उपसचिव टंकबहादुर महतले बताए । ‘नक्कली कस्मेटिक सामान प्रयोग गर्दा प्रयोगकर्तालाई हानी पुर्‍याउँछ,’ उनले भने, ‘नाम चलेका कम्पनीका नाममा गुणस्तरहीन सामानको प्रयोगले स्वास्थमा नराम्रो असर पार्छ नै, ।’

लेग्मी, पोन्स, फेयर एण्ड लब्ली, फेयर एण्ड हेण्डसम, सनसिल्क स्याम्पु लगायतका कस्मेटिक सामान बजारमा नक्कली रहेका र तिनले उपभोक्ताको स्वास्थमा हानी पुर्‍याउने दाबी विभागका अधिकारीहरूको थियो ।

कारवाही प्रक्रिया

पहिलेदेखि नै सञ्चालनमा रहेको उद्योगको नाममा कसैले उद्योग दर्ता गरेमा विभागले आफ्नो बुलेटिनमार्फत् सूचना जारी गर्छ । सूचनामा कसैको नाम तथा लोगो (ट्रेडमार्क) चोरी गरेको भेटिएमा ९० दिनभित्र लिखित उजुरी दिन उल्लेख गर्छ । उक्त सूचना अनुसार कुनै पनि उद्योगले आफ्नो ट्रेडमार्क चोरी गरेको ठहर गरेमा विभागमा उजुरी गर्न पाउने कानुनी व्यवस्था छ ।

उद्योगीले उत्पादनको नोक्सानी अनुसार सजाय गरी पाऊँ, क्षतिपूर्ति पाऊँ लगायतका माग गर्न सक्छन् । उजुरीका आधारमा विभागले ट्रेडमार्क चोरी गर्नेलाई पत्राचारमार्फत् विभागमा बोलाउँछ । पत्राचारमार्फत् विभागमा नआएमा राष्ट्रिस्तरको पत्रिमा सार्वजनिक सूचना जारी गरेर विभागले बोलाउन पाउने कानूनी व्यवस्था रहेको छ ।

उजुरीमा माग गरे अनुसार तथ्य र प्रमाणको आधारमा ट्रेडमार्क चोरी गरेर कुनै वस्तुको बिक्री गरेको पुष्टि भएमा बिक्री गरेको रकम बराबरको जरिवाना गरिन्छ ।

त्यस्तै कुनै उद्योगले ट्रेडमार्क चोरी गरेर उत्पादन मात्रै गरेको छ र बिक्री थालेको छैन भने मुद्दाको फैसला भएपछि उक्त वस्तु जफत गरी नष्ट गरिने कानूनका जानकार समेत रहेका उप–सचिव महतले बताए । उनका अनुसार विभागले हप्तामा तीनदिन मात्रै उजुरी हेर्ने गर्छ ।

उजुरीमा गरिएको माग, दाबी तथा प्रमाणका आधारमा मुद्दाको प्रकृति लम्बिन गएमा फैसला हुन पनि धेरै समय लाग्ने गर्छ । त्यसै कारण पनि उजुरीको संख्या बढी देखिएको विभागका अधिकारीहरूको भनाइ छ । नक्कल गरेकोले सजाय गरिपाऊँ भन्दै उजुरी परेमा पक्ष र विपक्ष सहितको उपस्थितिमा विभागका महानिर्देशको अध्यक्षतामा फैसला हुन्छ ।

सो फैसलाले कुनै उद्योगीको चित्त नबुझेमा अदालत जान्छन् र अदालतले अन्तिम फैसला गर्ने महतले बताए । यस किसिमको उजुरीमा संक्षिप्त कार्यविधि ऐन अनुसार कारवाही गरिने व्यवस्था रहेको छ । सो ऐनमा १ रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था भएकाले नक्कल गरेको प्रमाणित भएमा सोही अनुसार कारवाही गरिने महतको भनाइ छ ।

बजारमा नाम चलेको उद्योगको लोगो तथा नाम प्रयोग गरेर आफ्नो उत्पादनको बिक्री बढाउने उद्देश्यले उद्योगीहरूले ट्रेडमार्क चोरी गर्ने गर्छन् । ट्रेडमार्क चोरी विश्व व्यापार संगठन (डब्लूटीओ)को मान्यता विपरीत रहेको र यसलाई रोक्न नेपाल सरकारको दायित्व हुने जानकारहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्