आमै, बाउ र रेडियो !

-डा. रामकृष्ण आचार्य

‘बा, ए बा, भोक लागेन भन्या, खाजा पस्के है मैले त ?’ आमै  भान्सा घरको झ्यालबाट चिच्याइन् । 


Advertisement

‘आइहाले आफू खाँदै गर्नु’ बाउले तँ, तिमी र तपाईं ठ्याक्कै भन्न नसकेको झैं गरेर जवाफ दिए । करेसाबारीमा रूख टमाटर गोड्दै थिए उनी ।

भान्सा घरमा लामो टेबुल र बेञ्ची राखेको भए नि दुवै जना भुइँमै काठको पिर्कामा बसेर पिसेको जीरा, नुन र खोर्सानीमा आलु चोप्दै उसिनेको आलु खान थाले । 


Advertisement

‘आलु पनि हरियो भइसकेछन्, एकै पटक त्यत्रो नकिनेको भए हुने थियो,’ आमै फलाक्न थाल्छिन् । 

‘के गर्नु त अब केटाकेटी आउलान् भनेर किनिहालें अब आउन पाएनन् रे ! दुईजना मात्र हुँदा त म नि थोरै किन्ने थिएँ,’ बाउको आवाजमा निराशा थियो ।

खाँदा खाँदैको आधा आलु हातमा बोकि जुरुक्क उठेर अर्को हात साडीको फेरोमा पुस्दै आमै खोपामा राखेको रेडियो कट्याक्क खोल्छिन् । 

‘ब्याट्री हालेको नि धेरै दिन भयो सकिन लाग्या जस्तो छ अलिक सानो बज्न थालेको छ, नयाँ ल्याइ राख्न पर्‍यो । पैसा दि राख्नु है ।‘ बाउ नसुनेको झैं गरेर कुपुकुपु आलु खाइरहे ।

होइन यो समाचार भन्ने एफएम नि आउँदैन त भन्दै आमै मिटर बटार्दै थिइन् यति मै समाचार पढेको आवाज लाग्छ, ‘उज्यालो ९० नेटवर्कको अपरान्हको ३ बजेको नेपाल खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ ।’

‘लौ ३ पो बजिसक्यो ? कान्छाले ल्याइदिएको घडीको आग्लो नफेरी भएन, बजिको पत्तो हुन छोड्यो,’ भन्दै बोक्रा तासिसकेको एउटा आलु थाल मै छोडेर बाउ हिँड्छन् । 
पानीले दुवै हातका औंला-औंलामात्र धोएर सर्टमा पुछ्दै फेरि बारीतिर लाग्छन् ।

‘होइन, पसल जाने हैन भन्या ?’ 

‘यति सकेर जान्छु ।’

करेसाको झार उखेलेर सनक्क पारि सकेर माटो माटो भएको जुत्ता लगाएर बाउ चोक तिर निस्किन्छन् । 

‘भाई खोइ खोइ दुई जोर टाइगर ब्याट्री, कति पो हो ?’

‘८० रुपैयाँ दाजु ।’

‘नयाँ महंगो हुन्छ भन्थे समय नयाँ आए सँगै सबै महंगो हुँदै जाँदै छ ।’

‘अब दाजु महंगी अनुसार छोराहरूले पनि विदेशबाट पठाइ हाल्छन् नि ।’

‘त्यो त हो तर जमाना अनुसार उनीहरूको आफ्नै समस्या छन्, उनीहरूका आफ्नै इच्छा पूरा गर्न मुस्किल होला । अनि आधा पावा भिण्डी पनि राख्दिनु ।’

‘आधा पावाले दुईजनालाई पुग्छ र दाजु ? ’

‘अब मलाई खासै मन पर्दैन, भाउजु हुरुक्क हुन्छे । उसलाई मात्र धेरै हो पुगिहाल्ला नि । आलु थुप्रो छ त्यही थप्नुपर्छ । दुई ज्यान थोरै पकायो खायो, हाम्रो त सजिलो छ,’ बाउले दुई जना मात्र हुँदाको नरमाइलोलाई रमाइलो झैं गरेर भने ।

‘दाजु अनि कान्छो त आउने भन्ने सुनेको थिएँ त, के भयो ?,’  गाउँ घर तिर अर्काको खुब कुरा गर्न मन पराउने नत्र खाएको भातै नपच्ने झैँ गरि पसलेले बाउलाई सोधे ।

‘आएन भाइ यस पाला, भिसा थप्नुपर्ने भयो रे । अब कति महिना बस्नै पर्ने भयो भन्छ । अब हामी सक्ने नै छौं, मैले पनि नआइज भन्दिएँ ।’

‘मानिसको शरीर हो दाजु अहिलेसम्म सक्ने भरे नसक्ने हुन्छ, कति बेला के हुन्छ भन्नै गाह्रो ।’

बाउ अनुत्तरित हुन्छन् अनि भिण्डी र ब्याट्री एउटै प्लाष्टिकको झोलामा पोको पारेर घर फर्किन्छन् । 

साँझ पर्दै गए सँगै आज हावा चल्न थाल्दै थियो । सल्लाहरू सधैं भन्दा धेरै सुसाउँदै थिए, उत्तिसका पातहरू बताससँगै उड्न खोज्दै भुइँमा बजारिँदै थिए । फुलेका गुराँसका थुंगासँगको आत्मीयता छोड्न बाध्य हुँदै फेदमा झर्दै थिए । अचानक आकाश गडयाङ् गुडुङ् गर्‍यो । बाउ हतपत घर पुगे । भान्सा घरभित्र प्लाष्टिकको झोलाको सामान राखेर फत्तफताउँदै बाहिर निस्किन्छन् । 

‘पानी पर्न आँटिसक्यो यो चिया किन अझै सुकाइरहेको होला ?’ आमैले बिहानभर लगाएर माडेको घरमा खाने हरियो पत्ति सुकाएको मान्द्रो तानेर सिकुवासम्म पुर्‍याउँछन् । बिहान नुहाइधुवाइ गरेर सुकाएको कपडाहरू उठाएर भान्साघरको बेञ्चमा राख्छन् । भान्साको भित्ताको काँटीमा झुन्डिएको गाई दुने बाल्टी झिक्दै थोरै आर्मालीको बटुकाबाट नौनी घिउ निकालेर बाल्टीको भित्तामा टाँस्छन् ।

‘पानी तातेन ?’

‘तातिसक्यो हालेर लानु, मेरो हात खाली छैन,’ भन्दै आमै सब्जी सुधार्नतिर ध्यान दिन्छिन् ।

बाउले बाल्टीमा तातो पानी हालेर थोरै चिसो मिसाउदै औंला डुबाएर ठिक्कको भए नभएको जाँच गर्छन् । 

‘ओढ्ने लिएर जानु पानी पर्ला,’ बाहिर निस्किसकेका बाउले सुन्ने गरि आमै कराउँछिन् । पर्दैन… पर्दैन भन्दै बाउ बाल्टी बोकेर बारी तिर लाग्छन् । घरमा आमै रेडियो सुन्दै खान पकाउन व्यस्त हुन्छिन् । सिमसिम पानी पर्न थाल्छ । ‘घुम लिएर जानु भनेकै हो अब अस्ति भर्खरै ज्वरो आएको बल्झिने भयो,’ भन्दै आमै फतफताउँछिन् । 

बाउ भिज्दै घर आइपुग्छन् । आमै दूध तताउनतिर लाग्छिन् । बाउ घरभित्र कै जुठेलोमा तातो पानीले हात खुट्टा धुन थाल्छन् । वर्षा अझै बाक्लिन्छ । 

‘धन्न आइपुगेछु नत्र आउन नदिने रहेछ पानीले ।’ टिनको छानोमा पानीका ठूल्ठूला थोपा खसेको आवाजले आमैले केही बुझ्दिनन् । 

चुलोमा कालो कुँडेमा बसाएको दूध चलाउँदै आमै भन्छिन्, ‘के भन्नु भएको ? सुनिनँ ।’ 

‘केही हैन, त्यो रेडियो मार्देको भए हुन्थ्यो भनेको ।’

पानीमा भिजेको भए भन्ने सम्भावनाको कुरा गर्दा पक्का ‘भनेको मान्ने भए पो त घुम लिएर जानु भनेको त हो नि’ भनेर गाली खाइन्छ भनेर बाउले कुरो मोड्छन् ।

‘बन्द गर्दिनु नि त, चट्याङ् पर्दा बिग्रिन्छ कि ।’

बाउले खोपामा राखेको रेडियो झिकेर अघि ल्याएको ब्याट्री हाल्छन् र भुइँ मै राख्छन् । 

‘छोराहरू आउन्जेलमा गाई थाकिसक्छ होला,’ आमैले दुईटा ठूला ठूला गिलासमा नरिवलको खप्परले बनेको डाडुले दूध हाल्दै भन्छिन् । 

‘अब थाक्नु मात्र हैन उनीहरू आउँदा गाई अर्को बेत बियाइ सकेको हुन्छ ।’

‘आज त फोन नि गरेनन् व्यस्त भए क्या हो,’ आमैले विदेश बस्ने दुवै छोराको फोन नआएको दुखेसो पोखिन् । 

"गड्याङ् गुडुङ् गर्दै छ फोन अफ गरेर राख्नु, भोलि गरि हाल्लान् नि । "

"कान्छाले आमा हल्लिएको दाँत फुकालेर नयाँ राम्रा नक्कली दाँत लगाउनु पैसा पठाइदिन्छु भन्दै थियो । "

"अब बुढेसकालमा के राम्रो नराम्रो ? नक्कली लगाएर मकै चबाउन पाइने हैन होला।"

"ठूलो छोराको साथी दाँतको डाक्टर छ रे घोपामा, उसले मकै खान मिल्ने लगाइदिन्छु आमालाई भनेको छ रे।"

"ए भैगो त उसो भए, खै भात पस्की भोक लाग्यो ।"

आमैले भात पस्किन्छिन् । बाउले पहिलो गाँस हालिसक्दा कड्किन्छन् । "हैन डाक्टरले प्रेसर बढ्दै छ नुन कम खानु भनेको हैन? किन यति चर्को बनाएको, पिरो उस्तै छ। "

"केहि हुन्न कहिलेकाहीँ खाँदा, आज करेसाको धनिया देखेर टमाटरको अचार खाउ खाउँ लाग्यो । अब नुन र पिरो बिना कसरी अचार बनाउनु ? त्यही भएर अलिकति हालेको धेरै भैहालेछ। "

बाउले गिलासको दूध, भातमा हालेर मुस्दै थोरै भिण्डीको सब्जी छेउमा राखेर टमाटरको अचार चाट्दै कुपुकुपु भात खान्छन् ।

" खै मलाई थोरै अचार हाल्दिनु "
 
कति खाएकी अचार भन्दै बाउले एक चम्चा हाल्दिन्छन् ।

खाना खाइसकेर आमै भाँडा माझ्न थाल्छिन् । पानी साम्य भैसकेको छ, नयाँ ब्याट्री हालेको रेडियो घन्की राखे कै छ। बाउ चुलोको दाउरा हटाएर कोइला बाहिर तानेर तापि राखेका हुन्छन् । 

आमै भाँडा माझी सकेर चुलोको छेउमा अर्को पिर्कामा बस्छिन् ।

तताएको पानी सुरुप सुरुप स्टिलको गिलासमा राखेर पिउँदै आमैले भन्छिन्, 'यो टाउको पनि दुखि रहन्छ आजकाल । जचाँउन जाउँ भनेको खै एक्लै केही थाहा छैन । रेडियोमा भन्दै थियो बिर्तामोडको कोनि कुन चै क्लिनिकमा राम्रो डाक्टर आउँछ रे ।'

'अब मैले कहाँ कहाँ भ्याउँ, छोरीलाई फोन गरेर उ सँगै जानू नि त ।'

'ठूलेसँग पोहोर हस्पिटल जाँदाको कागजपत्र नि भेटिनँ, मुसाले कुन दुलोमा पुर्‍यायो कि ?' 

'म खोजी दिउँला भोलि, कता राखेर बिर्सिएको होला । मुसाले त्यत्रो कागज कता लग्छ ।'

'पोहोर नै फेरि आउनु प्रेसर घटेन भने भन्थे, नर्मलभन्दा थोरै धेरै छ, मुख बार्नु भनेको थिए स्वास्थ्य चौकीमा पनि ।' 

'अब भोलि जानू नि त ।'

'अब त्यसै गर्नुपर्ला, लाइन नि कति बेला आउने हो ? अब भोलि फोन गर्छु ठूलीलाई ।'

चुलोको कोइला पनि सकिन्छ, मास्तिर चढ्ने बेला पनि हुन्छ । 

एउटा तामाको अम्खोरामा थोरै तातो पानी हालेर दुईटा गिलास खप्टेर बुढा अघि लाग्छन् । आमै एक हातमा रेडियो बोकेर अर्को हातमा चाबी बोकेर भान्सा घरको ढोका थुन्दै पछिपछि लाग्छिन् ।

'कति रेडियो चेपेको सुन्दासुन्दै निदाउनेले के ओछ्यान मै रेडियो ल्याइराखेको ।' 

'अब के गर्नु त बोल्ने कोही छैन, केही सुनेर मन भुलाउन त पर्‍यो नि । यही ठूलेले किनिदिएको रेडियो त एउटा साथी छ ।'

हो पनि, आमै प्रायः एक्लै त हुन्छिन् । बाउको दिनचर्या उही घाँस, गोठ, खेती, चोकमा भएको क्यारेम बोर्ड, लुडोमा बित्छ । आमैको भने पकाउने, दिने, माझ्ने, धुने अनि रेडियो सुन्नेमा दिन बित्छ । बाउ कोही न कोहीसँग केही बोलिरहेका हुन्थे । आमै पहिला जस्तो घरीघरी पल्लो घर वल्लो घर गएर बस्न छोडिसकेकी थिइन् । गाउँमा जो कोही भेला हुँदा नि आजकाल कसैको कुरा काट्ने, फलानोले यसो गर्‍यो उसो गर्‍यो भन्ने कुरा मात्र हुन्छ। आमैलाई यस्ता गफ देखि दिक्क लाग्थ्यो ।

अब गाउँ नचाहर्ने आमैलाई बाउ नि दिनभरि घर नहुँदा भुल्याउने भनेको नै त्यही एउटा रेडियो थियो । 

बाउले नि यी कुरा महसूस भएजस्तै गर्छन् र भन्छन्, 'ल ल जेसुकै गर्नु अलिक सानो पार्नु म सुत्छु । अनि धेरै टाउको दुखेको भए सन्चो दलेर सुत्नु ।' बाउ सिरक तान्दै लमतन्न पर्छन् ।

'सञ्चोले जाती भएन दिउँसो लगाइहेरेको ।'

'त्यसो भए सुत्नु आराम गर्दा नि जाती होला ।'

ठूलो पलङ्को अर्को पट्टीबाट आमै पनि सिरकभित्र सुलुक्क छिर्छिन् । रेडियो बजिरहेको हुन्छ दुवै जना निदाउँछन् ।

बिहान छिटो उठ्ने बानी भएकोले बाउ ३:३० मै बिउझिन्छन् । रेडियो स्टेशन बन्द भएर स्वाँ ... गरिरहेको हुन्छ । रेडियो कटक्क पारेर बन्द गर्छन् । लामो श्वास तानेर खाटको छेउमा एकछिन बसेर अम्खोराबाट पानी सारेर घुटघुट पिउँछन् । बिजुली अझ आएको हुन्न । इमर्जेन्सी लाइट बालेर यसो आमैतिर हेर्छन् । आमै अर्को पट्टि फर्केर सुतिरहेकी हुन्छिन् ।

'टाउको दुख्यो भन्दै थिई, यतिबेर उठिन । एकछिन सुतोस्,' भनेर इमर्जेन्सी लाइट उनका आँखा तिर नपारी उठेर भान्सा कोठातिर झर्छन् । काखीमा रेडियो च्यापेर देब्रे हातले ताल्चा समातेर दाइनेले चाबी छिराएर खिटिक्क ताला खोल्छन् । 

चुलोमा आगो जोडेर नुहाउने पानी बसाएर गाई दुहुन बारीतिर लाग्छन् । आउँदा पानी तातेर खटखट भइसकेको हुन्छ । आधा जति चिसो पानी मिसाएर नुहाउनतिर लाग्छन् । झिस्मिसे अँध्यारोमा बाहिरै नुहाए पनि हुन्छ कसैले देख्ने वाला छैन । फेरि गाउँमा अरू कोही त्यति छिटो उठ्दैनन् । नुहाएर सधैं झैं नित्य पूजापाठ गर्छन् । बाउले रेडियो खोल्छन्, बिहान ५:३० बजेको नेपाल रेडियो नेटवर्कको समाचार बज्छ । आमै आज यतिबेला सम्म सुतिरहेकी नै थिइन् । अब चाहिँ उठाउनै पर्‍यो भनेर बाउ मास्तिर जान्छन् । 

आमै बाउ उठ्दा जस्तो सुतेकी त्यस्तै सुतिरहेकी छिन् । बाउको मनमा एक्कसी चिसो पस्छ । 

कति सुतेको घाम आइसक्यो, खै उठ म दूध डेरीसम्म पुर्‍याउन जानुपर्‍यो । 

'हैन उठ्न भन्या !' 

बाउले यसो झकझकाएर हेर्छन्, आमै चिसो हुन्छिन् । ओठमा मुस्कान चाहिँ हुन्छ । बाउको शरीर सिरिङ्ग हुन्छ, हलुका भएर घुमे जस्तो हुन्छ । टाउकोमा आकाश खसेर थिचेको झैं हुन्छ। 

घाँटीमा केहीले अठ्याएको जस्तो हुन्छ । आवाज गाठो परेर फोक्सोमै अड्केको जस्तो हुन्छ।  बेहोसीमै पल्लो घरतिरको झ्याल खोलेर टिनमा ड्याङ्ड्याङ् पार्छन् । 

आँखा मिच्दै भर्खर उठ्दै गरेको छिमेकको भतिजले झ्यालमा काकालाई केहिले अठ्याएको जस्तो, धेरै आत्तिएको जस्तो देख्दा आफैं अतालिन्छ, काका के भयो ? बा,आमा ! काकालाई के भयो ? बाआमा काकालाई के भयो ? भतिज चिच्याउँछ ।

काका घाँटीमा केही अड्क्याएर स्वास फेर्न नसकेको झैँ गरेर मुख मात्र चलाइ रहेका थिए । भतिज, भाइ र बुहारी खुट्टामा चप्पल नलगाइ बाउका तिर दौडिन्छन् । अरू वल्ला घर पल्ला घरका छिमेकीहरूले सबै दौडेको देखेर के भयो भनेर पछि-पछि आउँछन् । 

कोठामा सबै पुग्छन्, आमै खाटमा मुस्कानको मुद्रामा चिर निन्द्रामा हुन्छिन् । भतिजले हात छामी हेर्छ, चिसो हुन्छ । बररर ... आँशु झारेर ऊ थुचुक्क बस्छ । बाउ पनि थुचुक्क बसेर मुखमा मैलो टोपीको बुचो लगाएर रुँदै हुन्छन्, आवाज जति निकाल्न नखोजे नि उनीभित्र भित्र घुँक्क-घुँक्क गरेको सुनिन्छ । देख्नेहरू सबैका आँखा रसाएका हुन्छन् । बोल्ने कोहीसँग शब्द नै हुँदैन । कसैले कसैलाई सम्हाल्न असमर्थ हुन्छन् । 

भतिजको दिमागमा हिजो मात्र काकीले हातले माडेर बनाएको घरको चियापत्ति हालेर बनाएको चिया पिउँंदाको क्षण याद आउँछ । 'काकी अब चिया पिउन नि बसिन्छ कि बसिन्न भतिजलाई मीठो चिया पिलाउनु है नेपाल बसुञ्जेल चै ।'

'अब तँ नि त्यसो नभन दाजुहरू त फर्केला जस्तो छैनन्, लत लाग्दो रहेछ बाबु अर्काको देशको सुखको । तँ चै बरू जाँदै नजा ।'

भतिज अझ रुन्छ ।

आमैलाई खाटबाट भुइँमा झारिन्छ, रुँदै-रुँदै सबै कुराहरू हुन थाल्छन् । हिजोदेखि लाइन नभएकोले सबैका फोनहरू बन्द हुन्छन् । विदेशमा छोराहरूलाई गाउँको एउटा भाईको मोबाइलबाट फोन गरिन्छ, उठ्दैन ! नयाँ नम्बर बाट गरेर नउठेको होला भनेर आमै कै फोन जेनेरेटर भएको नजिकको डेरी उद्योगमा चार्ज गर्न लगिन्छ । मोबाइल १०-१५ मिनेट चार्ज गरेपछि ठूलो छोरोलाई फोन लगाइन्छ । फोन उठ्छ, 'आमा नमस्कार !' बुहारी पो बोल्छिन् । गाउँले भाइसँग केही दोहोरो कुरा हुन्छ, नरुनु अब जे हुनु भइसक्यो आदि यताबाट भनेको सुनिन्छ । ठूलो छोरो २ दिनको अत्ति महत्त्वपूर्ण यात्रामा कम्पनीको प्रतिनिधित्व गरेर त्यो देशबाट अर्को देशमा गएको कुरा थाहा हुन्छ । उनी नेपाल तत्काल आउन पहिला उनी गएको देश बाट उनी काम गर्ने देश फर्किनुपर्ने रहेछ । त्यसो गर्दा उनी ३ दिनमा मात्र आइपुग्ने पक्का हुन्छ । 

कान्छो छोरोलाई फोन लगाइन्छ । आमाको नम्बरबाट फोन आउन साथ 'ढोग गरें आमा' भन्छ । गाउँले भाइले केही भनेर सम्झाउँछन् र आफैं आँशु-आँशु हुन्छन् । सायद कान्छो धेरै रोयो होला फोन राखेर आमैको शरीर राखेको नजिकै आएर सबैलाई उनले भन्छन्, 'ठूलो त्यो देशबाट नि अर्को देश गएको रहेछ उसलाई आउन अझै ३ दिन लाग्छ रे ! सानोको भिसा थप्न पासपोर्टहरू बुझाएको रहेछ पर्सि मात्र आइपुग्ने रहेछ । अब पर्सिसम्म लास राख्नु भन्दा आजै सद्गती गर्नु उपयुक्त होला जस्तो लाग्यो मलाई चै । अब काकाहरु के भन्नुहुन्छ त्यसै गरौं ।' 

सबैको सल्लाह अनुसार र बाउको इच्छाअनुसार आजै सद्गती गर्ने निर्णय हुन्छ । रित पुर्‍याएर लास उठाइन्छ । उहिले जस्तो आजकाल मलामीहरू हिंडेर घाट सम्म पुग्न सक्दैनन् । फेरि बोकेर लग्न सक्ने जवानहरू पनि कान्छा र जेठा जस्तै विदेशिएका छन् । बोकेर केही माथि नागीसम्म पुर्‍याएपछि गाडीमा हालेर माई खोला लग्ने नयाँ चलन अनुसार लास उठाइन्छ । अगाडितिर दुवै बाँसमा एक्लै काँध दिन खोज्दा बाउको बलले पुग्दैन । भतिजले देब्रे कुम दिन्छ, बाउले दाइने कुम हालेर घरीघरी देब्रे कुमले आँसु पुछ्दैपुछ्दै गाडीसम्म पुग्छन् । 

आखिर जीवन के नै हो र ! टाउको अघि लगाएर धर्तीमा आउने अनि खुट्टा अघि लगाएर धर्तीबाट बिदा हुने । आमैको प्राण कति सजिलै गयो, उनले देह त्याग्ने बेला भएको नै थिएन । हिजोको टाउको दुखाइबाहेक उनको कुनै पीडा पनि थिएन । तर मान्छेको मन बाहिर हाँसेर भित्र-भित्र रोएको हुन्छ । कहिँ छोरा नातिनातिना बुढेसकालमा पनि सात समुन्द्र पारी रहेकोले संसारसँग मन मर्‍यो कि । समाज कस्तो निर्दयी- छोरा नजन्माउँदा पराइ झैं हुन्छ अनि छोराहरू कति निर्दयी- उनीहरूलाई जन्माएपछि पराइ हुन्छन् । आमैले सायद मीठो सपना देख्दा देख्दै बितिन् क्यारे । नत्र उनका ओठमा मुस्कान हुन्न थियो । 'मीठो सपना' सायद छोराहरू बालक हुँदा आफ्ना काखमा रमाएका क्षण वा फेरि छोराहरू विदेशबाट फर्किएपछि आफ्नै ममताको छहारी दिएको सपना । सायद जवान हुँदाको उमेर सपनाहरू देख्दा बित्यो, अनि आज स्वयं जीवन पनि उहि सपना देख्दै बित्यो ।

आफ्नी एउटै सहाराको शरीर खरानी बनेर खोलामा बग्यो । खोला जाँदा कमसेकम उनको श्वास नभएको स्वरूप थियो तर अब फर्किंदा यो संसारमा बाउ नितान्त एक्ला भए । केही मलामी अनि पुरोहितसँग उनी घर आइपुग्छन् । सधैं अर्काको मलामी गएर आउँदा भान्सा कोठाको ढोकाबाट खरानी छर्किदिने आमै घरमा थिइनन् । आज घर सुनसान थियो, मान्छेहरू यताउता गर्दै थिए । आमैले प्लाष्टिकका धोक्रामा रोपेका फूलहरू जीवन पाएर हाँस्दै थिए, आमै रापिलो ज्वालामा बिलाएर गइन् तर अस्ति उनले गोबरले लिपेको ठूला घरको भुइँ अझै चिसो थियो । 

'६ बजे छ म गाई दुहेर आउँछु,' भनेर भतिज उठ्छ । भान्सा कोठा देखिने गरिको ठूलो घरको भुइँमा मान्द्रोले बेरेर बनाएको कोरोमा सेतो कपडा बेरेर बसेका बाउले इशारा गरेर भान्सा घरको भित्तामा झुन्डिएको बाल्टी देखाउँछन् । बाउको नजर त्यही भित्तामा रहेको सानो खोपामा टक्क अडिन्छ, आँखाबाट आँसु झर्छन् । आमैले हिजो मात्रै रेडियोलाई आफ्नो साथी भनेको याद गर्छन् । सायद अब त्यही बाउको पनि साथी हुने होला । 

*************

१३ दिनको काम सकिन्छ, केही दिनपछि छोराहरू पनि विदेश फर्किन्छन् । ठूलो घरमा बाउ एक्लै हुन्छन् । अनि उनीसँग बोल्ने एउटा साथी मात्र रहन्छ, त्यही रेडियो ।

कमेन्ट गर्नुहोस्