पोखरामा अवैध बसोबास गर्ने पर्यटक वृद्धि

पोखरा - पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या २२ रहेको छ ।

त्यसमा रुसका धेरै छन् भने अन्यमा लेवनान, फ्रान्स, टर्की, केन्या, पोल्याण्ड, बेलायत, यमन, चीन, नेदरल्याण्डस्का नागरिक छन् । उनीहरुलाई लेकसाइड आसपासका क्षेत्रबाट पक्राउ गरिएको हो ।


Advertisement

आव २०७४/७५ मा अवैध बस्ने पर्यटकको सङ्ख्या ६ जना रहेको थियो । पर्यटक प्रहरी प्रमुख भगवती तिमिल्सिनाका अनुसार पछिल्लो समय विदेशी पर्यटकमा निगरानी बढाएको कारणले सङ्ख्या बढेको हो  ।


Advertisement

'पहिला कहीबाट आएको सूचनालाई आधार मानिन्थ्यो, अहिले हामी आफैँले विशेष चासोसाथ निगरानी बढाएपछि पक्राउ पर्ने बढेको हो,' तिमिल्सिनाले भनिन् ।

फिलिपिन्सका नागरिक अल्बर्टले १९ वर्षदेखि कास्कीको ठूलाखेतमा कुखुरापालन व्यवसाय गर्दै आएको भेटिएको छ भने नेदरल्याण्ड्सका रुवेन १० वर्षदेखि लेकसाइडकै एक होटलमा गैरकानूनी रुपमा काम गर्दै आएको भेटिएको उनको भनाइ छ ।

पक्राउ पर्ने अधिकांशको राहदानी र प्रवेशाज्ञा छैन । पक्राउ परेका विदेशीलाई अध्यागमन कार्यालय पोखरामार्फत विभागमा पठाइएको छ । अवैध बसोबास गर्ने अधिकांश नागरिक शहर भित्रका होटलभन्दा बाहिर अपार्टमेन्ट र हामेस्टेमा बस्ने गरेको होटल सङ््घका केन्द्रीय सदस्य भरतराज पराजुली बताउँछन् । 'हामीले अधिकांश पर्यटकको राहदानीको फोटोकपी र प्रवेशाज्ञा हेर्ने गर्छौ, तर अवैध बस्नेहरु आर्थिक रुपमा कमजोर रहेका पर्यटक हुन्छन् । उनीहरु शहरभन्दा अलि टाढा सुरक्षित स्थान खोजेर बस्ने गर्छन् ।'

पराजुलीले अब हरेक होटलमा राहदानीसँगै प्रवेशाज्ञा पनि निगरानी गर्न आवश्यक रहेको बताए ।

कमेन्ट गर्नुहोस्