४ सय ट्यांकरको ताला खोल्ने ‘मास्टर की’ गायब

नेपाल आयल निगमकोे सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो (मास्टर की) हराएको छ । साँचो हराएको पुष्टि १९ माघमा भएको हो । तर, अहिलेसम्म भेटिएको छैन । 

हराएको ‘मास्टर की’ले भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोदेखि सिनामंगलस्थित निगमको हवाई इन्धन डिपोमा तेल ओसार्ने एक सय ८१ ट्यांकरको ताला खुल्छ । त्यस्तै, बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोका दुई सय ट्यांकरको लक पनि सोही साँचोले खोल्न मिल्छ । 


Advertisement

साझा साँचो हराएको संयोग ट्यांकर चालकको माग सम्बोधन भएको समयसँग मिलेको छ । तापक्रम नोक्सानीबापत तेलको जति परिमाण देखाए पनि निगमले छुट दिने लिखित सहमति १४ माघमा आयल निगम र ट्यांकर चालकबीच भएको थियो । सिनामंगल डिपोमै तेल ओसार्दै आएका ट्यांकर चालकले राखेको माग निगमले सम्बोधन गरेको थियो । त्यसको ५ दिनपछि साँचो हराएको पत्ता लागेको हो । साँचो चालकको हातमा परेको भए आइओसीबाट तेल बोकेर आउनले ट्यांकर बाटैमा रोकेर केही परिमाण तेल चोर्न सहज भएको छ । चोरी गरेको तेल परिमाणलाई चालकले तापक्रम नोक्सानीमा देखाइदिन सक्छ । यसकारण साँचो चालककै हातमा पुगेको अनुमान छ । 

‘ट्यांकरको प्रत्येक चेम्बरमा केही परिमाण तेल झिक्यो भने अहिले कारबाही नहुने व्यवस्था छ । त्यसैले हराएको साँचो ट्यांकर चालकको हातमा पुगेको हुनुपर्छ,’ निगमको केन्द्रीय कार्यालयका एक कर्मचारीले भने । 


Advertisement

१ चैत ०७४ देखि तेल चोरी गर्न नमिल्ने लकिङ लगाउन थालेपछि चालकहरूले विरोध गरेका थिए । हवाई इन्धन डिपोमै इन्धन ओसार्ने चालक संगठनका अध्यक्ष पशुपति पाठकले त इन्धन चोरी गर्न पाउनुपर्ने भन्दै सार्वजनिक मञ्चबाटै उद्घोष गरेका थिए । तत्कालीन निमित्त प्रमुख सुशील भट्टराईले पनि लकिङलाई साथ दिन अनुरोध गर्दै चालकहरूलाई केही न केही सुविधा दिने आश्वासन दिएका थिए । 

साँचो हराएको विषयमा छानबिन गर्न नायब प्रबन्ध निर्देशक विशाल ओझाको संयोजकत्वमा २३ माघमा कमिटी गठन भएको छ । तर, यो कमिटीले अहिलेसम्म चोरी घटनाबारे ठोस प्रमाण फेला पारेको छैन । कमिटीको सदस्यसमेत रहेका प्रवक्ता वीरेन्द्र गोइतले छानबिनकै क्रममा रहेकाले सबै कुरा भन्ने अवस्थामा नरहेको बताए । ‘मास्टर की हराएको सुन्दा हामी पनि अचम्मित छौँ । यस्तो संवेदनशील साँचो हराउनु नै अपराध हो । त्यसैले हामीले यो घटनालाई गम्भीरताका साथ सूक्ष्म ढंगले अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘छानबिन सकिएपछि सबै कुरा बाहिर ल्याउँछौँ ।’

स्रोतका अनुसार डिपो प्रमुख महेशमान श्रेष्ठको कार्यकक्षमा पासवर्डसहितको गोदरेज दराजमा दुईवटा मास्टर की राखिएको थियो । त्यसमध्ये एउटा हराएको हो । ‘प्रत्येक डिपोमा स्पेयरसहितको मास्टर की राखिएको हुन्छ, सिनामंगलमा रहेका दुईमध्ये एउटा हराएको हो,’ स्रोतले भन्यो । प्रत्येक ट्यांकरमा रहेको ताला खोल्न अलग्गै साँचो पनि हुन्छ । तर, त्यस्तो साँचोले एउटाबाहेक अर्को ताला खुल्दैन ।

‘मास्टर की नितान्त डिपो कर्मचारीले प्रयोग गर्ने गरी बनाइएको हो । त्यसैले यो भुलवश हराउने भन्ने कुरै हुँदैन,’ स्रोतले भन्यो । टैंक ट्रक लकिङ प्रणालीसम्बन्धी कार्यविधि, ०७४ मा उल्लेख भएअनुसार मास्टर की गोप्य पासवर्डसहितको दराजमा राख्ने गरिएको छ । ‘मास्टर की राखिएको दराजको पासवर्ड डिपो प्रमुखलाई मात्र थाहा हुन्छ, अरूलाई थाहा हुन्न,’ स्रोतले भन्यो । बिहान खाली भएका ट्यांकर डिपोबाहिर पठाउनुअघि ताला लगाउन मास्टर की झिक्ने र बेलुका डिपो परिसरमा रहेका ट्यांकरको ताला लगाउन मास्टर की झिक्ने गरिन्छ । यसरी मास्टर की झिक्दा र राख्दाको समय र कर्मचारीको नामसमेत रजिस्ट्ररमा नियमित रूपले राख्ने गरिन्छ ।

सिनामंगल डिपो प्रमुखले भने मास्टर की राखेको दराजको पासवर्ड केही कर्मचारीलाई समेत दिएको निकटस्थलाई बताउने गरेका छन् । उनले तिनै कर्मचारीलाई दोष देखाउने गरेका छन् । ‘मैले विश्वास गरेका कर्मचारीले नै मास्टर की गायब गरिदिए भनेर डिपो प्रमुख श्रेष्ठले गुनासो गर्दै आएका छन्,’ स्रोतले भन्यो । निगममा १८ वर्षदेखि कार्यरत श्रेष्ठ पहिलोपटक डिपो प्रमुख भएर वैशाख पहिलो साता सिनामंगलमा खटिएका थिए । साँचो हराएको घटना बाहिरिएपछि करिब एक वर्ष कार्यकाल बाँकी छँदै उनको सरुवा भएको छ । गत शुक्रबारदेखि अभिषेक ठाकुरले सिनामंगल डिपो प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

१५ माघमा ठट्टा, १९ माघमा साँच्चै 
निगम र ट्यांकर चालकबीच लिखित सहमति भएको भोलिपल्ट १५ माघमा कार्यालय समय सकिने वेला प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलको कार्यकक्षमा कर्मचारी जम्मा भएर गफठट्टा गर्दै थिए । गफ छोट्याउन पौडेलले सबै डिपोका ‘मास्टर की’ कस्तो हालतमा छन् बुझ्न कर्मचारीलाई भने । आफैँले पनि केही डिपोमा फोन लगाए । तर, पौडेलले कुनै गम्भीर सोचले यो गरेका थिएनन् । कर्मचारीहरूको गफगाफ छोट्याएर घर जाने मेसो मात्रै मिलाएका थिए । 

तर, १५ माघको ठट्टा १९ माघमा साँच्चै पो भयो । सिनामंगल डिपोको मास्टर की हराएको सूचना केन्द्रीय कार्यालयमा आइपुग्यो । ‘हवाई इन्धन डिपोको मास्टर की हरायो भन्ने खबर केन्द्रीय कार्यालयको माथिल्लो कर्मचारी तहमा आगोसरी फैलियो,’ स्रोतले भन्यो, ‘ट्यांकर चालकलाई तेल चोर्न सजिलो हुने गरी सहमति हुनासाथ साँचो हराउनुलाई ठूलो अर्थमा लिइएको छ ।’ 
यो खबर थाहा पाएपछि प्रबन्ध निर्देशक पौडेल आफैँ सिनामंगल डिपो पुगेर सबै कर्मचारीसँग एक चरण बयान लिए । तर, कुनै प्रमाण नभेटिएपछि नायब प्रबन्ध निर्देशक विशाल ओझाको संयोजकत्वमा २३ फागुनमा छानबिन कमिटी गठन गरिएको हो ।

सिनामंगल डिपोबाटै चोरी हुन्छ इन्धन 
इन्धन चोरीमा सिनामंगलस्थित हवाई इन्धन डिपो अगाडि छ । गत चैतमा सोही डिपोबाट दुई हजार लिटर तेल दिउँसै चोरी भएको थियो । त्यतिखेर निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले ६ हजार लिटर इन्धन ड्रममा लैजाने स्वीकृति लिए पनि गेटबाट बाहिर आउँदा आठ हजार लिटर लगेको भेटिएको थियो । घटनामा संलग्न सबै कर्मचारी कारबाहीमा परेका थिए । 

त्यस्तै, चार वर्षअघि साउनमा गुणस्तर तथा नापतौल विभागले सिनामंगलकै डिपोमा अनुसन्धान गर्दा दिउँसोको औसत तापक्रमभन्दा बिहान र बेलुकाको चिसो औसत तापक्रम बढी देखाएर तेल अपचलन गरेको भेटिएको थियो । डिपोमा तीन महिनामा ५ करोडको तेल चुहावट हुँदा २ करोड ५९ लाख रुपैयाँको तेल भने कर्मचारी र चालकले मिलेर चोरी गरेको पुष्टि भएको थियो । विभागको रिपोर्टअनुसार ट्यांकरबाट प्राप्त गरेको तेलको तापक्रम उल्लेख भए पनि सोही तेल बिक्री गर्दाको तापक्रम भने लुकाइएको थियो । 

भारतबाट औसत ३४.९९ डिग्री सेल्सियसमा ट्यांकर चलान भई सिनामंगलस्थित डिपोमा २६.२७ डिग्रीमा आइपुगेको थियो । उक्त तेल २९.०६ डिग्री तापक्रममा बिक्री भएको थियो । यहाँ चलान भएको र प्राप्त भएको तापक्रमको अन्तर ८.२७ डिग्री (३४.९९–२७.२७) बनाएर दररेटअनुसार आउने तापक्रम नोक्सानीबापत तेल झिकिएको थियो । तर, ५.९३ डिग्रीको अन्तरमा (३४.९९–२९.०६) तेल बचेको विषय लुकाइएको थियो । यसरी ५.९३ डिग्रीमा वास्तविक नोक्सानी भएकाले सोहीअनुसार तापक्रम नोक्सानी हुनुपर्ने प्रतिवेदनले ठह¥याएको थियो ।  नयाँ पत्रिकामा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्