×

NIC ASIA

हिजो दिनभर : कतार र भारतमा अलपत्र १६३ नेपालीको उद्धार, तीनै तहका सुरक्षा निकायबीच उच्च सतर्कता

चैत ९, २०७६

Prabhu Bank
NTC
Premier Steels

सेनाका सबै ब्यारेक र गणहरू ‘लकडाउन’ जस्तै, सुरक्षा निकाय उच्च सतर्क

कोरोना भाइरस संक्रमण (कोभिड–१९) को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् ।

Muktinath Bank

सीमा जोडिएका देश चीन र भारतमा समेत संक्रमण फैलिएका बेला नेपालमा रोगको प्रवेश हुन नदिन र प्रवेश भइहाले तत्कालै काम गर्न सक्ने गरी सुरक्षा निकायले एकल तथा संयुक्त प्रयासमा आइसोलेसन वार्ड, क्वारेन्टाइन भवन बनाउनेदेखि हेल्थ डेस्क स्थापना गर्ने र सीमा क्षेत्रको निगरानी गरिरहेका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रहरीले अहिले १३ हजारभन्दा बढी जनशक्ति कोभिड–१९ कै लागि प्रशिक्षण दिएर तयारीमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । ‘आवश्यक पर्दा जनशक्ति जुनसुकै बेला ‘मुभ’ हुनेछन्, त्यसमा प्रहरीले पूर्ण तयारी गरेको छ,’ प्रवक्ता क्षेत्रीले भने । उनले जिल्ला र केन्द्रमा कोरोनासम्बन्धी हेल्थ डेस्क स्थापना गरिएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

प्रहरीको २ नम्बर गणमा ५० शय्याको क्वारेन्टाइन भवन र नेपाल प्रहरी अस्पतालमा २० शय्याको आइसोलेसन वार्ड तयार पारिएको जानकारी दिए ।

Vianet communication

शुक्रवार भिडियो कन्फ्रेन्समार्फत सातै प्रदेशमा उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको उनले जानकारी दिए । सीमा क्षेत्रमा समेत कतिपय ठाउँमा प्रहरीले आफ्नै तरिकाले हेल्थ डेस्क स्थापना गरेको र कतिपय स्थानमा सशस्त्र प्रहरीसँगको समन्वयमा डेस्क स्थापना गरेर निगरानी भइरहेको छ ।

कतिपय स्थानमा स्वास्थ्य संस्थासँग समन्वय गरेर डेस्क स्थापना गरिएको छ । दिपायल, नेपालगञ्ज र सप्तरीमा रहेको प्रहरी अस्पताल पनि आवश्यक तयारीका साथ बसेको उनले बताए ।

सशस्त्र प्रहरी बल नेपाल पनि आवश्यक तयारी जुटेको छ । नेपालमा कोरोनाको संक्रमण नभए पनि सम्भावित जोखिम रोक्न र रोग भित्रिएमा तत्काल परिचालन हुने गरी सशस्त्र प्रहरीले तयारी गरेको प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविनकुमार श्रेष्ठले जानकारी दिए । आवश्यक परेको खण्डमा १ हजार व्यक्तिलाई उपचार गर्न सक्ने गरी क्षेत्र छुट्याएर आइसोलेसन र क्वारेन्टाइनका लागि आवश्यक तयारी थालिएको उनले जानकारी दिए ।

नेपाल प्रहरी तथा विभिन्न स्वास्थ्य संस्थासँगको समन्वयमा सीमा क्षेत्र र मानिसको आवतजावत गर्ने क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । सीमा आसपास १४२ स्थानमा हेल्थ डेस्कमार्फत सेवा दिइरहेको श्रेष्ठले जानकारी दिए ।

सेनाको यस्तो छ तयारी

नेपाली सेना पनि संयुक्त र आफ्नै प्रयासमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्च तयारीका साथ काम गरिरहेको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार केन्द्रमा केही दिनअघि मात्रै सीमित स्रोत साधनका बीच कसरी काम गर्न सकिन्छ भनेर पूर्वाभ्यास नै गरिएको थियो । काठमाडौंमा ५४ टेन्ट बनाएर सफल अभ्यास गरिएको थियो । नेपालगञ्ज, इटहरी र पोखरामा रहेको क्षेत्रीय अस्पतालले समेत आफ्नो आवश्यक तयारी गरेर सेना बसेको छ । 
सातै प्रदेशका पृतनामा रहेका साना अस्पतालले प्रदेश सरकारसँग मिलेर आइसोलेसन र क्वारेन्टाइन बनाएको उनले बताए । पूर्वी पृतनाले प्रदेश सरकारसँग मिलेर मोरङ, झापा, उदयपुरमा झण्डै ४०० शय्याको छुट्टै क्याम्प (आइसोलेसन वार्ड) बनाइसकेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

अन्य पृतनाले पनि आवश्यक तयारी गरिरहेको छ । केन्द्रबाट पठाउने स्रोत सामग्रीहरू पठाउने क्रम जारी रहेको र भूकम्पका बेलाका सामग्री, टेन्ट सबै प्रयोग हुँदैछ । सेनाले सबै पृतनालाई आकस्मिक कोषका रुपमा २५ लाख रुपैयाँका दरले दिइसकेको छ । त्यसबाट तयारी भइरहेको छ । सरकारले आईसीयू सहितको २० श्यया बनाउन निर्देशन दिएअनुसार वीरेन्द्र सैनिक अस्पतालमा त्यसको तयारीको काम भइरहेको प्रवक्ता पाण्डेले बताए ।

उनले भने, ‘हाम्रा सबै ब्यारेक, गणहरू ‘लकडाउन’ जस्तै छ, बिदा भएर आउनेलाई अलग्गै क्वारेन्टाइनमा राखिन्छ, बिदा छुट्टी सबै बन्द भइसक्यो, आन्तरिकसँगै बाह्य सावधानी, रोकथाम र नियन्त्रणका लागि सेना पूर्ण तयारीमा छ ।’ उनले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि ‘कोर’ समूह तयार पारिएको जानकारी दिए । 

कुन ब्यारेक र गणमा सिपाही र कमाण्डर को–को खटिने सबै तयारीमा छ, सेनाका चिकित्सक र स्वास्थ्यकर्मी कसरी परिचालन हुने आइसोलेसनमा कसरी काम गर्ने, क्वारेन्टाइनमा सेनाको भूमिका कस्तो रहन्छ सबै कुराको तयारीमा नेपाली सेना रहेको छ । केन्द्रमा १० श्ययासहित विभिन्न स्थानमा गरी ५२ श्ययाको आइसोलेसन वार्डसमेत सेनाले तयारी अवस्थामा राखेको जनाइएको छ । 

सरकारको उच्च सतर्कता

सरकारले कोभिड–१९ भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । मुलुकमा भोलि आइतवारदेखि यही चैत २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरिसकेको छ । चैत १० गतेदेखि लागू हुनेगरी केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुवाहक सवारी साधन बन्द गरेको छ । 

अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरूपमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतंकित नहुन पनि सरकारले आह्वान गरिसकेको छ । यही चैत ९ गतेदेखि १८ गतेसम्म हवाईमार्ग हुँदै नेपाल आगमनमा रोक लगाउन शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिसकेका छन् ।

सबै सीमानाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गरिने, देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाइने भएकाले उच्च मनोबलका साथ कोरोना भाइरसलाई परास्त गर्ने उनले आह्वान गरे । चीनको वुहानमा गत डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा देखिएको थियो । यो कोरोनाको सातौं प्रजातिमा पर्छ । जनावरबाट मानिसमा सरेको भनिएपछि कुन जनावरबाट सरेको भनेर पत्ता लागेको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म १७७ मुलुकमा २ लाख ३४ हनार ७३ जना संक्रमित भइसकेका छन् । जसमा ९ हजार ८४० जनाको मृत्यु भइसकेको छ । कोभिड–१९ को नेपाल उच्च जोखिममा रहे पनि अहिलेसम्म संक्रमण देखिएको छैन ।

भारतको सीमानाकाबाट बढी जोखिम रहेकाले अहिले सरकारले सीमामा उच्च निगरानी बढाउँदै आएको छ । – नारायण ढुंगाना/रासस

कोरोनाले मान्छे मरेको भनेर अफवाह फैलाउने पक्राउ

काठमाडौंको नर्भिक अस्पतालमा कोरोना भाइरसको संक्रमणले मान्छेको मृत्यु भएको भनेर अफवाह फैलाउने रामेछापका विवेक थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

साइबर अपराध अनुसन्धान ब्यूरोका एसएसपी नविन्द्र अर्यालले भक्तपुर सिपाडोलमा अनाधिकृत रुपमा अनलाइन सञ्चालन गर्दै आएका थापा मगरलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।

मगरले नर्भिक अस्पतालमा मान्छे मरेको भनेर तयार पारेको अडियो सन्देश सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अस्पतालले शनिवारै विज्ञप्ति जारी गर्दै अडियो सन्देश भ्रामक भएको स्पष्ट पारिसकेको छ ।

पत्रकार महासंघको निर्णय : ‘गलत र अफवाहपूर्ण प्रचार हुन नदिन भूमिका खेल्ने’

नेपाल पत्रकार महासंघले कोरोना भाइरसको विश्वव्यापी महामारीबीच गलत र अफवाहपूर्ण सूचना प्रचार हुन नदिन भूमिका खेल्ने निर्णय गरेको छ ।

शनिवार बसेको महासंघ केन्द्रीय समितिको बैठकले पत्रकार र सञ्चारमाध्यमले दायित्व पूरा गर्ने, सही सूचना सम्प्रेषण गर्ने लगायत निर्णय गरेको छ ।

महासंघले पत्रकारलाई घरबाटै काम गर्ने वातावरण मिलाउन र अफिस पाउनै पर्ने भए सवारीसाधनको व्यवस्था गर्न समेत सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

कठिन अवस्थामा सूचना सम्प्रेषणको दायित्व पूरा गर्ने सञ्चारमाध्यम र पत्रकारलाई टेलिफोन, इन्टरनेट लगायतमा सहुलियत दिन समेत महासंघले सरकारसमक्ष माग गरेको छ ।

कोरोनाविरुद्ध खटिन सेनाका ५ हजार स्वास्थ्यकर्मी ‘हाईअलर्ट’ 

नेपाली सेनाले कोरोना (कोभिड–१९) को जोखिम नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ ।

सेनाले जोखिम रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने जनाएको छ ।

यसका लागि सेनाले मातहतका पृतना, बाहिनी र गुणस्तरमा आफ्नो तयारी गरिरहेको छ । सरकारले सेनालाई कोभिड–१९ को जोखिम रोकथाम र उपचारका लागि २० वटा सघन उपचार कक्ष निर्माण गर्न आवश्यक बजेट उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

भाइरसका बिरामी देखिएमा आइसोलेसन र क्वारेन्टाइनमा कसरी राखेर उपचार गर्ने भनी आन्तरिक तयारीस्वरुप सेनाले उपचार विधि, प्रक्रिया र अपनाउनुपर्ने आवश्यक सजगताबारे ५० चिकित्सकसहित १८१ जनालाई प्रशिक्षण दिइसकेको छ । ती जनशक्तिले केन्द्रमा १० सहित मुलुकभर ५२ स्थानमा नमूना क्वारेन्टाइन र अस्पताल तयार गरिसकेका छन् ।

सेनाको पूर्वी पृतना मातहत विभिन्न ३ स्थानमा ४४४ शय्याको क्वारेन्टाइन तयार गरिसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सेनाले कोरोना भइरसबाट सुरक्षित रहन र आवश्यक परेको बखत चुस्त–दुरुस्त रुपले परिचालन हुन सैनिकलाई बिदा बस्न बन्देज लगाइसकेको छ । 

सरकारको निर्णयअनुसार एकै पटक धेरै मानिस एकै स्थानमा जम्मा हुन नदिने हेतुले स–साना समूहमा रहेर बिहान–बेलुका खाना खुवाउने प्रबन्ध मिलाएको सेनाले जानकारी दिएको छ । सेनाले संगठनभित्र स्वास्थ्यसम्बन्धी तालिम लिएका ५ हजार व्यक्तिको रोस्टर तयार गरिसकेको जनाएको छ । 

जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गर्न तयारी हालतमा राखेको जानकारी दिइएको छ । सेनाले अहिले स्वास्थ्यसम्बन्धी तालिम लिएका भूतपूर्व सैनिकको पनि खोजी गरिरहेको छ ।

सेनाले हेलिकोप्टरबाट औषधि छर्कने बेलामा सर्वसाधारण घरभित्रै बस्नुपर्छ भन्ने ढुंगबाट आएको हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।

आइसोलेशनमा रहेका बिरामीमा देखिएन कोरोना

सिन्धुली जिल्ला अस्पतालमा कोभिड–१९ को आशंकमा आइसोलेशनमा राखेर उपचार गरिएका एक जना बिरामीमा कोरोना नभएको पुष्टि भएको छ ।

काठमाडौ टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा इन्फ्लुएञ्जा ए पोजेटिभ र कोभिड–१९ नेगेटिभ भेटिएको अस्पतालका प्रवक्ता डा प्रसन्न राजभण्डारीले जानकारी दिए । 

गत बुधबार ज्वरो अत्याधिक आएपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई अस्पतालको आइसोलेशन वार्डमा  भर्ना गरिएको थियो ।

यसैविच सिन्धुली अस्पतालले फिबर क्लिनिक आइतबारदेखि सञ्चालन हुने भएको छ । खोकी तथा ज्वरो आएका बिरामीको उपचार छुट्टै गर्ने व्यवस्था मिलाइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिए । अस्पतालले कोरोनाको जोखिम हुन नदिन यसअघि साबुनपानीले हात धुने व्यवस्था मिलाएको थियो ।

शुक्रबार  सहायक प्रजिअ विजया प्रसाईंको नेतृत्वमा बसेको सरोकारवाला निकायको बैठकले कमलामाई नगरपालिका–६ माझिटारमा खाली रहेको भूसंरक्षणको कार्यालयलाई क्वारेन्टाइनस्थल बनाउने निर्णय गरेको हो ।

बैठकले जिल्लाका सबैै स्थानीय तहको समन्वयमा सचेतनामूलक अभियानहरू सञ्चालन गर्ने, कोरोना भाइरस जोखिम  रोकथाम तथा बच्ने उपायसहित पर्चा, पम्प्लेट जस्ता सामग्रीका माध्यमबाट प्रचारप्रसारको अभियान चलाउने निर्णय पनि गरेको छ ।

कतार र भारतमा अलपत्र १६३ नेपालीको उद्धार, खरिपाटी क्वारेन्टाइनमा राख्दै सेना 

कतार र भारतका विमानस्थलमा अलपत्र परेका १६३ नेपालीको उद्धार गरिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको शुक्रवारको निर्णय अनुसार नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको हो ।

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याएर नेपाली सेनाले क्यारेन्टाइनमा राख्न लागेको छ । भारतको विमानस्थलबाट २८ जना र कतारबाट १३५ जना नेपालीलाई उद्धार गरेको ल्याइएको छ ।

नेपाली सेनाले क्वारेन्टाइनको लागि भक्तपुरको चाँगुनारायणस्थित खरीपाटीमा नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाएको क्वारेन्टाइन सेन्टरमा राख्न लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले लोकान्तरलाई बताए ।

विदेशमा अलपत्र नेपालीको उद्धार गर्नुपर्ने माग बमोजिम उच्चस्तरीय समितिले शुक्रवार उद्धार गरेर ल्याउने निर्णय गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x