कोरोनाले निम्त्याएको संकट : यी हुन् व्यक्ति, समाज र संघ–संस्थाका साझा कर्तव्य

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

समाज मानव प्रेम, अहिंसा र दयाजस्ता मूल्यबाट प्रेरित भएर नै यस अवस्थामा आइपुगेको हो । अरूलाई सेवा र सहयोग गर्नु मानव समाजको विशेषता हो । मानिस आफू लाई मात्र होइन, अन्य जातिप्रजातिलाई पनि सहयोग गर्ने मूल्यआदर्शमा रहन्छ । सहयोग त्यतिबेला चाहिन्छ जतिबेला व्यक्ति वा समाज समान्य अवस्थामा रहँदैन । ‘परोपकाराय पुण्याय..’ पूर्वी संस्कृति पनि हो । जब मानव जाति आफैं संकटमा हुन्छ, त्यतिबेला सहयोग र सेवाभाव स्वयं उसैका लागि पनि जरुरी हुन्छ । सामान्य अवस्थामा त उपकारी मनहरू निजी रामरौस र लोभलालच नगरी अरूलाई सेवा सहयोग गरी मानवीयता प्रदर्शन गरिरहेका हुन्छन् भने दुःख, महामारी र विपत्तिमा सेवा सहयोग गर्नु मानव मात्रको कर्तव्य हो । 

यतिखेर मानव समाज विपत्तिमा छ, मानव सभ्यता नै लरखराइरहेको छ । सर्वसाधारणहरू सन्त्रासमा छन् । अज्ञात शक्तिले यो सन्त्रास र विपत्ति हटाउन सक्दैन । यो संक्रमण मानिसले सिर्जना गरेको पनि होइन । कुनै स्वार्थ र इच्छापूर्तिका लागि प्रतिस्पर्धाको परिणाम पनि यो होइन । मानिस आफैंले आफ्नो सभ्यता विनासका लागि जैविक वाण हानेको पनि होइन । थोरै असावधानी भयो होला, केही कमजोरी रह्यो होला, अज्ञानताले पनि काम गर्‍यो होला ।


Advertisement

निजी स्वतन्त्रताको चाहनाले पनि काम गर्‍यो होला । यही असावधानी, कमजोरी र साझा सहकारीको अभावमा अर्थतन्त्रलाई १० वर्ष, २० वर्ष, ५० वर्षपछि धकेल्न सक्ने आँकलन गरिँदैछ । बुद्धिजीवी र अनुसन्धाताहरू आंकडा र प्रमाण विश्लेषण गर्न सकिरहेका छैनन् । आमसञ्चारका माध्यमहरू पनि सूचना र तथ्यहरू टिप्न सबैतिर पुग्न सकिरहेका छैनन् । सामाजिक सञ्जालका भित्ताहरूमा सूचना असावधानी देखिएको छ, जसले सावधानीभन्दा सन्त्रास फैलाउने डर छ । त्यसैले यो  विसम परिस्थिति आक्रोस पोख्ने, गल्ती औंल्याउने, आरोप गर्ने होइन, न आफैं निराशा र कुण्ठामा रहने हो । समाज, सभ्यता र समृद्धि जोगाउन पनि आ–आफ्ना कुण्ठा, संकुचन, आलस्य र स्वार्थलाई त्यागेर सेवा, सहयोग र सत्कार्यमा स्वयं प्रेरित हुनुपर्ने परिस्थिति हो । यो नै युगले हामीबाट मागेको योगदान हो । 

भुल्नु हुन्न कोरोना विरुद्धको अभियान युद्ध हो, नदेखिने शत्रुविरुद्धको युद्ध । नदेखिने भनेपछि जतापनि छ्यापछ्याप्ती हुनसक्छ । नदेखिएर संसारै हल्लाउने गरी, थाहा नै नपाउने गरी आक्रमण गर्ने हैसियतमा आएको छ । नदेखिने शत्रु विरुद्धको युद्ध शतप्रतिशत सावधानीमा लड्नुपर्छ । उसले सबैलाई शत्रु मानेपछि सबै नै उसविरुद्ध लड्नुपर्छ । तर उसविरुद्धको लडाईं हतियार लिएर होइन, सावधानी र स्वअनुशासित भए पुग्छ । आत्तिएर होइन, संयमित भएपुग्छ । हतियार नभएका संयमी र सावधानीहरूले नै युद्ध जिते । चीन र कोरिया यसका उदाहरण हुन् । हद गरियो भने, दम्भ देखियो भने हारिन सक्छ । अहोरात्र खटेर थकानमा पनि सक्रिय बनेका स्वास्थ्यसेवक, सुरक्षाकर्मी र राष्ट्रसेवकहरूको मनोबल घटाउने काम गरियो भने युद्ध हारिन सक्छ । र, यो युद्ध हारियो भने एक्लो मानिस होइन, समाज र सभ्यता नै हार्ने सम्भावना छ । त्यसैले युद्ध जित्नुपर्छ । 


Advertisement

सबैले लड्नुपर्ने युद्धमा मानवीय कमजोरी, अज्ञानता वा ढिलासुस्तीको आलोचना गर्नाले युद्ध किल्ला नै कमजोर हुन्छ । अहोरात्र खट्ने, नथाक्ने र अरूहरूको लागि आफूलाई पर्वाह नगर्नेलाई प्रोत्साहन गर्नु पनि युद्धमोर्चामा सामेल हुनुसरह हो । यतिबेला आफूसँग भएको अस्त्रसाथ युद्ध लड्नु समस्त मानवको कत्र्तव्य हो । यो युद्धमा विचारको कित्ता छैन, राजनीतिको कित्ता छैन, सम्पत्ति र विपन्नताको विभाजन पनि छैन, उमेर र वयको कित्ता छैन, कर्मचारी र गैरकर्मचारीको कित्ता पनि छैन । नागरिक र गैरनागरिक भन्ने पनि छैन । सक्ने र नसक्ने, हुने र नहुने, कसैको पनि कित्ता छैन । सत्ता र शक्तिको कित्ता पनि छैन । त्यसैले यो युद्ध साझा युद्ध हो । युद्ध किन र कसरी गर्नुपर्‍यो पृष्ठभूमिमा जाने समय पनि छैन । तर विलम्ब नगरी युद्ध मोर्चामा सामेल हुनुको विकल्प छैन । जोसँग जस्तो क्षमता छ, त्यही आधारमा लड्नुको विकल्प छैन । तर आजको युद्ध आजै लड्नुपर्छ, बिलम्व गरेर पछुताउनुको अर्थ छैन । यस्तो युद्ध इतिहासमा सधैँ लड्न पाइने पनि होइन । 

विचारले विभाजन ल्याउँछ, साझा बोली बोल साझा शत्रुविरुद्ध । बैंक, वित्तीय संस्था र व्यावसायिक फर्महरू पनि सामाजिक जिम्मेवारीमा जाऊ । व्यवसाय र नाफा अलिपछि गरौंला । 

नेपालीहरू साझा युद्ध लड्न खप्पिस छन् । बहत्तरको भूकम्पमा पनि राहत, उद्धार र सेवा सहयोगमा सबै नेपालीले साझा किल्ला सम्हालेका थिए । हुनेले भएका कुरा लिएर, नहुनेले श्रम र त्यो पनि नहुनेले सहभाव अनि माया दिएर अभियान सम्हालेका थिए । अहिले फेरि चार वर्षलाई पुनरावृत्ति गरेर लडे पुग्छ । त्यो भाग्यशाली इतिहास हामी नेपालीसँग मात्र छ । भगवान बुद्धका अष्ठसिद्धीले पनि प्रेरणा दिन्छ । वेदका ऋचा र पुराणको श्लोकले पनि ऊर्जा दिन्छ । श्रुतिका सूत्र र गीताका सुक्तिले पनि प्रेरणा दिन्छ । यी सबैले मानवता नै सिकाएका हुन् । 

हामीसँग यो महासमरमा लड्ने नागरिक र नागरिक समुदाय छन् । ठूल्ठूला संगठित र असंगठित नागरिक सञ्जाल छन् । आमसञ्चारले सही सूचना, सही समयमा दिएर सर्वसाधारणलाई सन्त्रासमुक्त र सावधान रहन सन्देश दिनसक्छ । कति ठूलो शक्ति छ आमसञ्चारको । सूचना प्रविधिले सही सूचना आवश्यक स्थानमा पुर्‍याओस् । अनलाइनहरू ‘लाइनका रेखाहरू’ कार्टुन तर अनुशासन र सामाजिक जिम्मेवारीका रेखा नकाटुन् । सामाजिक सञ्जाल सर्वसाधारणको ‘आमसञ्चार’ बनेको छ । सीमा र सम्भावनालाई यसले पनि नभुलोस् । सही समाचार सञ्चार युद्धामोर्चाको अजेय शक्ति हो । तर आग्रही सामाजिक सञ्जाल ‘बुमराङी भस्मासुर’ बन्न सक्छ । सूचना र सन्देशमा सतकर्ता चाहिन्छ ।

सहकारी सञ्जाल अझै व्यापक छ । नेपाली समाजमा सहकार्यको संस्कृति बोकेका सहकारीले यस युद्धमा सहकार्य गर्नुपर्छ । ६० लाख सदस्य भएको संगठित शक्ति आफैंमा ठूलो हो । स्वयंशासित, स्वअनुशासित, मर्यादित व्यवहार र सत्कार्य सहकारीका आचारण हुन् । बस यिनै हतियारले सहकारीले शिक्षा, सन्देश, सूचना र सामग्री देऊन् । उ त अरूको पनि उदाहरण बन्नुपर्छ । सहकारी मूल्य समाजमा संस्थागत गर्ने मौका पनि छ सहकारीलाई । गैरसहकारीको आरोप पखाल्ने अवसर पनि हो सहकारीलाई । सहकारी सामाजिक दायित्वबाट यो वा त्यो बहानामा पर रहन सक्दैन । नहुनेलाई हुने बनाउने त धर्म हुँदै हो, पहिला समाज बचाउन, सभ्यता बचाउन र आफै बाच्न कटुवाली गरोस् सहकारीले । हात धुन सिकाओस्, हिँड्न सिकाओस्, शिष्टाचार गर्न, व्यवहार कर्म गर्न सामाजिक सीप सिकाओस् । सामग्री पनि देओस्, सेवा पनि देओस् । बस सहकारी ‘सहकारी’ बन्ने छ । सहकारी बन्नु उपकारी बन्नु हो भनेर उसलाई कसले सिकाउनु पर्ला ?

गैरसरकारी संस्थाहरू आँखाका नानी थिए कुनै बखत । सरकारका विस्तारित हात बनेका थिए, सरकार पुग्न नसकेको स्थानमा सेवा व्यवस्थापनमा साथ दिएर । विपतका साथी र सुखका पनि साझेदार बनेका थिए । अहिले केही चुपचाप देखियो । हजारौं संख्यामा रहेका गैससहरू संक्रमणविरुद्धका सहयात्री बन्न सक्छन् । बुझौं आलस्य होइन, तयारी होला उनीहरूको । बुझेकै कुरा हो, गैसससँग सीप छ, सामथ्र्य छ, स्रोत पनि छ । परियोजना छैन, सशक्तीकरणमात्र काम हो भन्ने कुरा पछि गरौंला । पैरवीको कुरा पनि पछि गरौंला । अहिले दुःखमा परेकालाई उपचार, सन्त्रासमा भएकालाई ढाडस र सबैलाई सचेतना सहयोग र सेवा लिएर जाऔं । शहर बजारमा सूचना, सन्देश र नागरिक शिक्षा भए पुग्ला । मोफसलमा सामग्री र प्रत्यक्ष सेवा नै चाहिन सक्छ । वश्, गैसस आँखाका नानी बन्नेछन्, तेस्रो आँखा अनि सरकारका वास्तविक विस्तारित हात बन्नेछन् । त्यसैले कोरोनाविरुद्धको युद्ध गैससका लागि पनि अवसर हो आफ्नो औचित्य र उपस्थिति पुष्टि गर्ने । 

राजनीतिक दलहरू राजनैतिक स्रोत परिचालनमा माहिर छन् । त्यो स्रोत शक्ति र सत्तामार्फत सामाजिक हितका लागि थियो, आलोचना र आग्रहका लागि थियो । भैगो, चुनावसम्म यसलाई थाती राखेर साझा शत्रु विरुद्ध उपयोग गरौं । समाज रहे न शक्ति र सत्ता, विचार र सिद्धान्त चाहिने हो । राजनीति आफैं समाज सेवा हो भन्ने पुष्टि गर्न राजनीतिलाई पनि यो मौका हो, परीक्षणको घडी हो । प्रतिस्पर्धा त निर्वाचनका समयमा गरे भैगो नि १ पार्टीले ‘पार्ट’ मा विभाजन हुने समय त चुनावको बेला न हो । यस महासंकटमा ‘होल’ का लागि जुट्ने समय हो । सेवा र सहयोग अहिलेको सिद्धान्त हो । यो ‘होल’ समस्त समाज हो । 

कवि, कलाकार, गीतकार, गजलकार, गायक, नायक, साहित्यकार सबै गर्नेलाई गाली होइन, शत्रुविरुद्धका मोर्चामा शब्द, लय, संगीत, स्वर लिएर गएकै हो । अझै प्रखर बनुन्, प्रहरीको सम्झाइ भन्दा तिमीहरूको स्वर, शब्द, गीत, संगीतले सर्वसाधारणको मन पागाल्न सक्छ । अनुशासन र सावधानीमा ‘हिप्नोटाइज्ड’ गर्न सक्छ । यिनै हतियार लिएर कोरोनाविरुद्धको मोर्चा सम्हाल । तिमीहरू सधैं प्रिय थियौ, झनै प्रिय बन । 

नागरिक समाज–तिम्रो पहरेदारी, प्रतिक्रिया, शिक्षा, उपदेश सधैँ सक्रिय भएकै हो । संविधान नबन्ला कि भनेर कति करायौं, भूकम्प जाँदा आफैं दौडियौं पनि, अहिले चुपचाप बस्न पाउँदैनौं । तिमी जुन रूपमा भएपनि विचार, सिद्धान्त र वर्गमा विभाजित नबनी साझा शत्रु विरुद्धको किल्लामा मुखर हुनेछौं । विचारले विभाजन ल्याउँछ, साझा बोली बोल साझा शत्रुविरुद्ध । बैंक, वित्तीय संस्था र व्यावसायिक फर्महरू पनि सामाजिक जिम्मेवारीमा जाऊ । व्यवसाय र नाफा अलिपछि गरौंला । 

समाजमा जाने बुझेकाहरूको कर्तव्य बढी हुन्छ, जवाफदेहिता बढी हुन्छ । सहयोगको अपेक्षा उनीहरूबाटै हुन्छ र सहयोगमा परिचालित हुनु सामाजिक, नैतिक मात्र होइन, मानवीय एवं आत्मिक दायित्व पनि हो । यही दायित्व अलिहेको माग हो । (mainaligopi@gmail.com) 
 

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्