×

आइसोलेसन वार्डको दुर्दशा : जब ३६ वर्षीया महिला अस्पतालबाटै भागिन् ...

चैत २५, २०७६

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा भर्ना भएकी ३६ वर्षीया महिला सोमवार साँझ फरार भइन् । रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना रोगको लक्षण हुनसक्ने भन्दै धनुषाकी ती महिलालाई केही दिनअघि मात्रै आइसोलेसनमा भर्ना गरिएको थियो ।

साँझको खाना प्याक गरेर उनको टेबुलमा पुर्‍याएको बेला स्वास्थ्यकर्मीलाई झुक्याएर उनी बाहिरिएकी थिइन् ।


Advertisment

अस्पतालको कोरोना वार्डका फोकल पर्सन डा. कुलदिप पण्डितले साँझ साढे ६ बजेतिर ती महिला भागेको भनेर खबर आएको बताए । ‘त्यसपछि अस्पतालमै तैनाथ रहेका प्रहरीलाई खबर गर्दा उनी केही किलोमिटर अगाडिबाट पक्राउ परेकी थिइन्,’ उनले भने ।


Advertisment

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले मानसिक रुपमा समेत डिप्रेसनमा रहेकी ती महिला भागेको खबर पाउना साथ प्रहरी उनको खोजीमा परिचालन भएको बताए ।

‘अस्पतालभन्दा ५ किलोमिटर जति दूरीसम्म उनी पैदल नै आफ्नो गाउँतिर गइरहेको अवस्थामा पक्राउ गरेर अस्पतालको आइसोलेसन कक्षमा राति १० बजेतिर पुनः पुर्‍याइएको थियो,’ कार्कीले लोकान्तरसँग भने ।

कोरोना संक्रमण पुष्टि नभएपनि रोगको लक्षण रुघाखोकी, उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या देखिए वा निमोनिया रोगको लक्षण देखिएको अवस्थामा आउने बिरामीलाई सम्भावित कोरोना रोगको लक्षण हुनसक्ने भन्दै प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षको १६ र १७ नम्बर कोठामा भर्ना गर्ने गरिन्छ । अस्पतालका २ वटा कोठामा आइसोलेसनका लागि १२ शय्या बनाइएका छन् ।

डा. पण्डितका अनुसार एउटा कोठामा ५ शय्या र अर्को कोठामा ७ शय्या गरेर २ वटै कोठामा बाथरूमसहित छ । १ मिटरभन्दा बढीको दूरीमा शय्याको व्यवस्थापन गरिएको छ । दुवै वार्डको मुख्यद्वारमा तालाबन्दी गरेर राख्ने गरिन्छ । सीसीटीभी क्यामेराको निगरानीमा बिरामीको हेरचाह हुने गरेको उनले बताए ।

‘खाना पुर्‍याउने बेला कोठा खोलिएको थियो, त्यही मौका छोपेर ती महिला शौचालय जाने बहानामा भागेकी थिइन्,’ डा. पण्डितले भने, ‘उनलाई पक्राउ गर्न त सफल भयौं तर थप निगरानी आवश्यक छ भन्ने पाठ समेत सिकाएको छ ।’ आइसोलेसन वार्डको द्वारमा अर्को कोठामा स्वास्थ्यकर्मी सहितको टोलीले सीसीटीभी क्यामेराबाट निगरानी गरेपनि प्रहरी भने परिचालन गरिएको छैन । वार्डको तल आकस्मिक कक्षमा मात्रै प्रहरी खटिएका छन् । भर्ना भएकी ती महिलाको स्वाब संकलन गरेपनि परीक्षण परिणाम हालसम्म नआएको अवस्थामा उनलाई आइसोलेसन वार्डमै राखिएको उनले बताए ।

बिरामीका गुनासै–गुनासो 

सिरहाको लहान नगरपालिका–२२ जहदी गाउँका २३ वर्षीय रामप्रिय साह चैत्र २२ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा भर्ना भए । उनी काठमाडौंमा एमबीबीएसको अध्ययनका लागि प्रवेशिका परीक्षाको लागि तयारी गर्नुका साथै बीएससी माइक्रो बायोलोजीमा समेत अध्ययनरत विद्यार्थी हुन् । लकडाउन हुनु केही दिनअघि मात्र उनी घर फर्किएका थिए ।

काठमाडौंमै हुँदा उनलाई रुघाखोकी लागेको थियो । त्यहाँ औषधि खाँदा समेत निको नभएपछि उनी गाउँ फर्किएको बताउँछन् । गाउँ आएपछि श्वास फेर्न समस्या भएपछि गाउँको स्थानीयदेखि निजी अस्पतालमा समेत जचाउँदा प्रादेशिक अस्पतालमा रेफर गरेका कारण एम्बुलेन्समार्फत उनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

‘चैत २२ गते साँझ ६ बजेतिर भर्ना भएँ,’ साहले भने, ‘त्यो राति एक्स–रे सहित विभिन्न जाँच गराउदा राति खाना समेत खान पाइएन, रातभर भोकै सुत्नुपर्‍यो ।’

अस्पतालभित्र रहेको शौचालय अत्यन्तै फोहोर रहेको उनले बताए । ‘कोठाभित्रको शय्याको पनि जति दूरी हुनुपर्ने हो त्यति छैन,’ उनले भने, ‘यदि कुनै संक्रमित बिरामी आए भने यहाँको अवस्था कतिसम्म खराब छ भने कोरोना संक्रमित नभएको मानिसलाई पनि  संक्रमण हुने खतरा छ ।’

बिहान–बेलुका चिया, बिस्कुट र चाउचाउ सहितको खाजा दिने गरिएको छ । २ पटकमा दाल, भात र तरकारी सहितको खाना समेत दिने  गरिएको छ तर खाना दिँदा त्यही भूइँमा नै राखिदिने गरिएको उनले बताए । ‘हामी आफैंले लिएर जानुपर्ने हुन्छ । एउटा पानीको जार राखिएको छ, त्यहाँ एउटा बोतल छ, त्यसै बोतलबाट सबै बिरामीले पानी खानुपर्ने हुन्छ । ‘कहिल्यै पनि शौचालयको सरसफाइ गरिएको छैन,’ उनले थपे, ‘न त वार्डको स्यानिटाइज नै गरिएको छ ।’

आइसोलेसन वार्डभित्र रहेका बिरामीको जाँच गर्न स्वास्थ्यकर्मी र चिकित्सक नआउने गरेको उनले गुनासो गरे । ‘१ दिन स्वाब संकलन गर्न पीपीई सहितको पोशाकमा स्वास्थ्यकर्मी आएपनि त्यसपछि जाँचका लागि कहिल्यै कुनै पनि स्वास्थ्यकर्मी आएका छैनन्,’ उनले भने, ‘वार्डभित्र बिरामी आइसकेपछि समस्या आउँदा जतिसुकै कराउँदा पनि स्वास्थ्यकर्मी आउने गरेका छैनन् ।’ उनीसहित सिरहाबाट आएका चारै जनाको स्वाब परीक्षण गरिएपनि नतिजा नआएको उनले बताए ।

आइसोलेसन वार्डका लागि डा. पण्डितको अगुवाइमा ३ जना कन्सल्टेन्ट फिजिसियन र स्वास्थ्यकर्मी परिचालन गरिएको छ । ८ जना नर्सलाई त्यहाँ सीसीटीभी क्यामेराको परिचालन तथा निगरानीका लागि २–२ जनालाई ड्युटी बाँडेर चौबिसै घण्टा परिचालन गरिएको उनले बताए । १ हप्ता काम गर्ने नर्सलाई नर्सिङ कलेजकै छात्रावासमा १४ दिनका लागि क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको उनले बताए ।

‘हामीले आइसोलेसन वार्डमा भर्ना भएका बिरामीसँग कन्ट्याक्ट गर्ने गरेका छैनौं,’ डा. पण्डितले भने, ‘त्यहाँ तैनाथ रहेका नर्सले माइकमार्फत बोलेर उहाँहरूको मागलाई सुनुवाइ गरिरहेका छन् ।’ कन्सल्टेन्ट फिजिसियन डा. रविरञ्जन प्रधान, मेडिकल अधिकृत डा. अजयकुमार यादव र डा. सन्त यादवलाई आइसोलेसन वार्डका लागि परिचालन गरिएको उनले बताए ।

‘म आफैं पनि बिरामीको जाँचका लागि एक पटक आइसोलेसन वार्डमा पुगेको छु,’ डा. पण्डितले भने, ‘आवश्यकता परे चिकित्सक पनि ती वार्डमा जान्छन् तर सकभर नगएर नै काम चलोस् भन्ने तरिकाले अहिले काम गरिरहेका छौं ।’

आइसोलेसनमा कार्यरत रहेका नर्सहरू नर्सिङ कलेजको क्वारेन्टाइनमा १४ दिन बसिरहेको भएपनि उपचारमा संलग्न चिकित्सक भने आ–आफ्नो घर नै फर्किरहेका छन् । ‘अहिलेसम्म हामी चिकित्सकहरू आ–आफ्नै घर जाने गरेका छौं,’ डा. पण्डितले भने, ‘तर केही लक्षण देखिए हामी पनि नजिकैको होटेलमा नै क्वारेन्टाइन भएर बस्ने पूर्व तयारी समेत गरेका छौं ।’ 

डाक्टरको क्वारेन्टाइनका लागि होटलका नम्बरहरू लिएर कोठा छुट्याएर राखिदिन होटल सञ्चालकलाई अस्पताल प्रशासनले भनिसकेको उनले बताए ।  चैत्र २४ गतेसम्म अस्पतालको आइसोलेसन वार्डमा ८ जना भर्ना भएका छन् । स्वाब संकलनको परिणाम ‘नेगेटिभ’ आएपनि रोगको लक्षण देखिएकै कारण १४ दिनसम्म आइसोलेसनमा भर्ना गरेर राखिएको उनले बताए । केही बिरामीमा लक्षण नदेखिएर ‘नेगेटिभ’ रिजल्ट आएपनि विदेशबाट भ्रमण गरेर आएको ‘ट्राभल हिस्ट्री’का आधारमा आइसोलेसनबाट डिस्चार्ज गरेर क्वारेन्टाइनमा रिफर गर्ने गरिएको उनले बताए ।

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

असार ९, २०८१

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

असार ११, २०८१

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x