धनुषाका २८ वर्षीय कोरोना संक्रमित युवक काठमाडौँस्थित नेपाल दूरसञ्चार कार्यालयका चालक रहेको खुलेको छ। धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ४ अरेरवा गाउँका उनीमा कोरोना संक्रमण पुष्टि भएको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले पनि उनी दूरसञ्चार कार्यालयका चालक रहेको पुष्टि गरे।
लक्ष्मीनियाँ गाउँपालिका ४ का वडाध्यक्ष दिलीप यादवका अनुसार संक्रमित युवक होली विदामा गाउँ आएका थिए। होली सकिएको भोलिपल्ट नै उनी काठमाडौँ फर्किएका थिए। उनले परिवारका सदस्यबाट पाएको जानकारी अनुसार संक्रमित युवक काठमाडौँको बबरमहलस्थित दूरसञ्चार शाखामा पाले(चौकीदार) को रुपमा नियुक्त भएका हुन्।
तर, उनी चालक समेत भएका कारण उनले दूरसञ्चार बबरमहलका प्रमुखको गाडी पनि चलाउदै आएका थिए। अहिले लकडाउनमा भने उनी दूरसञ्चारमा पालेको नै काम गर्दै आएको तथा त्यहाँ बबरमहलमा नै बस्दै आएका थिए।
आरडीटी किटमा चेक गराउदा पोजेटिभ आएपछि टेकुस्थित अस्पतालमा स्वाब संकलन गरिएको थियो । उक्त स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएपछि अहिले उनी अस्पतालमा भर्ना भएको वडाध्यक्ष यादवले बताए।
यस अघि संक्रमित ब्यक्तिले धनुषाका सिडिओलाई आफू निर्माण कम्पनीमा चालक रहेको तथा त्रिपुरेश्वरमा बसोबास गर्दै आएको बताएका थिए। चालक भएका कारण पूर्वपश्चिम राजमार्गमा आवत जावत लागि रहेको तथा २० दिन अघि काठमाडौं आएको बताएका थिए ।
अजय अनुरागी
अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।