प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दल नेकपाकै १ सय ५२ जनाले केन्द्रीय कमिटी बैठक बोलाउन गरेको हस्ताक्षरप्रति असन्तुष्टी जनाएका छन् ।
मंगलवार आफ्नो सरकारीनिवास बालुवाटारमा प्रतिपक्षी दलका केही नेतासहित जनस्वास्थ्य विज्ञहरूसँगको छलफलमा उनले आफ्नै पार्टीका मान्छेहरू जनता र देशप्रति उदासीन रहेको आरोपसमेत लगाएका हुन् ।
'केही मानिस र केही संस्थाहरूमा अत्यन्त गैरजिम्मेवारीपन देखिन्छ,' उनले भने, 'अन्त खोज्नुपर्दैन मेरै पार्टीमा त्यो देखिन्छ । २५ जना भन्दा बढी भेला हुन नपाइने भनिएको छ तर मेरै पार्टीमा ४ सय ५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनिरहेका छन् ।'
उनले थपे, 'कहाँ बस्ने हो के गर्ने हो त्यसको खोज केही पनि छैन तर बैठक चाहिँ चाहियो भन्ने कुरा मेरै पार्टीमा उठेको छ । स्थायी कमिटी अहिल्यै बस्नुपर्यो, त्यसबाहेक केही छैन भन्ने कुराकानी आएको छ । त्यो देशप्रतिको, जनताप्रतिको गम्भीर उदासीनता लापरवाही र वेवास्ता गर्ने प्रवृत्ति र आफ्नो स्वार्थका पछाडि कुद्ने प्रवृत्तिहरू निकै व्यापक रूपमा देखिन्छ ।'
उनले त्यो आफ्नो पार्टीमा मात्र मात्र नभएर अन्त पनि यस्तो प्रवृत्ति देखिएको बताए । 'यस्तो प्रवृत्ति सञ्चारमाध्यमहरूमा देखिन्छ,' उनले भने, 'देश यस्तो संकटमा भएका बेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमले जता पल्टाए पनि विरोध, उता पल्टाएपनि विरोध गर्ने । कहिले क्वारेन्टाइनमा राख्यो भन्ने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन, भन्ने लकडाउन गर्योख भने किन गर्योर भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने ?'
लोकान्तर संवाददाता