पहिरोपीडितलाई गाउँपालिकाले घर बनाइदिने

प्रतिकात्मक तस्वीर

बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले पहिराले घरबार गुमाएका पानबहादुर रसाइलीको घर बनाइदिने भएको छ ।

साउन १२ गते राति अविरल वर्षाका कारण तमानखोला–२ खोलेसबाङमा गएको पहिराले भत्किएको रसाइलीको घर गाउँपालिकाले निर्माण गरिदिने भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।


Advertisement

पहिराका कारण रसाइलीको घर पुरिँदा उनकी पत्नी हुमकुमारीको घाइते अवस्थामा उद्धार गरिएको थियो भने १३ वर्षीय छोरा खिमबहादुर र ११ वर्षीया छोरी रीताको मृत्यु भएको थियो ।

‘पहिरोका कारण घर पुर्दा २ सन्तान नै गुमाउनपुर्‍यो,’ अध्यक्ष बुढाले भने, ‘२ परिवार गुमाएको पीडा त छँदैछ, घरसमेत नरहेकाले घर बनाइदिने निर्णय गरेका छौं ।’


Advertisement

पहिरो पीडित परिवारलाई गाउँपालिकाका तर्फबाट अध्यक्ष बुढा मगरले राहतस्वरुप १ लाख ५० हजार मंगलवार हस्तान्तरण गरे । उनले तत्काल राहतका लागि उक्त रकम प्रदान गरिएको र घर बनाउनका लागि गाउँपालिकाले थप २ लाख ५० हजार प्रदान गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको उनको भनाइ छ ।

रसाइली परिवारलाई घरसमेत गुमाएपछि हातमुख जोर्न समस्या भएकाले लत्ताकपडा तथा खाद्य पदार्थ खरीद गर्नका लागि सहयोग गरिएको छ ।

अविरल वर्षासँगै आएको पहिराका कारणले घरमा आंशिक क्षति पुर्‍याएको फूलकुमारी रसाइलीको परिवारलाई पनि १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । पीडित परिवारको घरबास नै नभएकाले गाउँपालिकाले घर निर्माण गर्न २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको र तत्कालै जग्गा व्यवस्थापन गरी घर निर्माण थालिने गाउँपालिका अध्यक्ष बुढाले बताए ।

कमेन्ट गर्नुहोस्