सुदूर तराईमा हिन्दीको विकल्प थारु गीत : ‘जोरसे बजैबु मन्ड्रा, टु नचहो लेहेङ्गा फारफार'

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

३ वर्ष अघिसम्म तराईका अधिकांश बस्ती हिन्दी र भोजपुरी फिल्मी गीतले गुञ्जायमान हुन्थे । विवाह, पाटी, मेला महोत्सव, भोजभतेर होस् वा चाडपर्वमा हिन्दी गीतकै दबदबा थियो । नेपाली, थारु लगायत स्थानीय भाषाका गीत निकै कम सुनिन्थ्यो ।

तर समय फेरिएको छ । हिन्दी गीत बज्ने बस्तीमा आजभोलि स्थानीय भाषाका गीत गुञ्जायमान भएका छन् । स्थानीय भाषाभाषी समुदायभित्र पनि लोपोन्मुख गीतहरू आधुनिक प्रविधिमार्फत गुञ्जिन थालेका छन् ।


Advertisement

थारु गायिका समीक्षा चौधरी भन्छिन्, ‘धेरै वर्ष भएको छैन । हरेक बस्तीमा, खासगरी तराईका जिल्लामा हिन्दी फिल्मी गीत बज्थे । केही मात्र नेपाली र अन्य जातजातिका गीतहरू सुनिन्थे । तर आजभोलि स्थानीय भाषाभाषीका गीत बज्छन् । थारु बस्तीमा थारु गीत बढी, पहाडी बस्तीमा नेपाली गीत बढी बज्छन् । निकै खुशी लाग्छ, थारु लगायत स्थानीय भाषाभाषीको गीत निकै रुचाइएको छ ।

हालसम्म करीब २०० वटा थारु गीतमा स्वर दिएकी गायिका समीक्षा चौधरीका दशैं र दिपावलीको अवसरमा मात्रै आधा दर्जन थारु भाषाको आधुनिक र सांस्कृतिक गीत बजारमा आउने तयारीमा छन् । राष्ट्रिय थारु कलाकार मञ्चकी सहसचिव समेत रहेकी गायिका समीक्षाले दशैंको अवसरमा आउने आधुनिक थारु झुमरा (सांस्कृतिक) गीत गुनगुनाइन् –


Advertisement

ए हो ढानी टुही बरा सुग्घर 
टुहि डेखके भौरा लोभाए ... 

उनले मडुवा भाग–२ अन्तर्गत कमेडी गीत, ‘जाँर डारु पिना लागल बानी, भकरी बोतल डेख्टी किल मुहम पानी’, ‘चोरी–चोरी नयना लरल’ आधुनिक गीत, ‘लमहीक् बजारम ठण्डा प्याक–प्याक, मोरिक साली डेखो हुइटीन् बरा च्वाक’ र ‘छल्को छल्को नेंगठो छैली मुसुमुसु हस्ठो, थारु गाउँके सक्कु ठर्‍यान् मोहनी लगैठो’ बोलको मघौटा गीत आउन लागेको जानकारी गराइन् ।

स्थानीय भाषाभाषीका गीत–संगीत आधुनिक प्रविधिमार्फत धमाधम बजारमा आउन थालेपछि हिन्दीलगायत बाह्य सांगीतिक दबदबा हट्न थालेको हो । आजभोलि खासगरी गीतको रेकर्डसँगै म्युजिक भिडियो नै व्यावसायिक यूट्युब च्यानलमार्फत बाहिर ल्याउने ‘ट्रेन्ड’ चलेको छ ।

राष्ट्रिय थारु कलाकार मञ्चका उपाध्यक्ष समेत रहेका गायक रोशन रत्गैयाले विभिन्न भाषाभाषीको विकास क्रमसँगै उनीहरूको गीतसंगीतको विकासले पनि फड्को मार्दै आएको बताउँछन् । स्थानीय भाषा, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन गर्नुपर्छ भन्ने चेतनाको विकाससँगै स्थानीय श्रजकहरू पनि व्यावसायिक रूपमा आउन थालेका उनले बताए ।

‘कुनै जमाना थियो, हामीले आफ्नो शोख पूरा गर्न गीत गाउँथ्यौं । आजको जस्तो पहिले सूचना प्रविधिको विकास पनि भएको थिएन । जनचेतनाको अभाव उस्तै थियो । फलतः स्थानीय कला, संस्कृति, गीत संगीत लोपोन्मुुख अवस्थामा थिए,’ मञ्चका उपाध्यक्ष रत्गैयाले भने, ‘अब चाहिँ चेतनाको विकाससँगै सांगीतिक क्षेत्रको व्यावसायिक विकास हुँदै गएको छ । पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म सांगीतिक विकास लहर छ ।’

उनका अनुसार हाल दैनिक २–५ वटासम्म थारु भाषाका गीत–संगीत रेकर्ड हुँदै आएका छन् भने करीब ४० वटा यूट्युब च्यानलमार्फत विभिन्न भाषाभाषीका गीत संगीत प्रसारण हुँदै आएका छन् ।

गायक रत्गैयाले पनि दशैंको अवसरमा आउन लागेको थारु गीत गुनगुनाए –

‘ओई छैली आँखीम् कजरा कत्रा सुहावन
टुहार उ लाली जोबल बरा लोभावन ...

नवउदीमान गायिका अन्नु चौधरी पनि आजभोलि गीत रेकर्डिङमा निकै व्यस्त छिन् । छोटो अवधिमा नेपाली र थारु गीत गएर निकै चर्चामा रहेकी उनको स्वरमा सजिएका ९ वटा थारु आधुनिक तथा सांस्कृतिक गीत दशैंअघि सार्वजनिक हुने तयारीमा रहेका बताइन् ।

दशैंमा आउन लागेका गीतमध्ये आधुनिक थारु गीत गायिका अन्नु चौधरीले यसरी गुनगुनाइन् –

बिन्दिया बोलाइ सजना
टु अजा अजा रे सजना ...

उनी हाँस्दै अगाडि थप्छिन्, ‘आम श्रोताहरू पनि आजभोलि निकै सचेत छन् । सांस्कृतिक जागरणप्रति सबै जागरुक छन् । त्यही भएर सबैले गीत–संगीतमा आफ्नो मौलिकता खोज्छन् । दर्शक र श्रोताको माग अनुसार संगीत पस्किँदा राम्रो प्रतिक्रिया आउँछ ।’

पछिल्लो समय नेपाली बस्तीबाट हिन्दी गीत विस्थापन हुने मात्रै होइन, नेपालको सीमा जोडिएका भारतीय बस्तीमा समेत नेपालका गीत–संगीत गुञ्जिन थालेका छन् । मोडल वीर चौधरीले नेपाली भाषाभाषीका गीत संगीतको विकास र प्रभाव नेपालमा मात्रै नभई सीमावर्ती भारतीय क्षेत्रमा पनि विस्तार हुँदै गएको बताए ।

एक हप्ताअघि भारतको उत्तर प्रदेशको विभिन्न क्षेत्रमा भोजपुरी म्युजिक भिडियो छांयाकनको क्रममा पुगेका मोडल वीर भन्छन्, ‘भारतमा पनि हाम्रो गीत संगीत रुचाउने श्रोता र दर्शक पाएँ । साह्रै खुशी लाग्यो ।’

तर पछिल्लो समय भाषाभाषीको गीत संगीतको विकासको क्रममा नयाँ–नयाँ गीत संगीत उत्पादनको क्रममा छाडा प्रकृतिको तथा समाजले पचाउन नसक्ने गीत संगीत आउन थालेको छ । शब्द चयनमा ध्यान नदिँदा र संवेदनशीलता नअपनाउँदा भाषाको मौलिकता नै विकृत हुँदै गएको स्वयं गायिका समीक्षा स्वीकार गर्छिन् ।

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्