कुनै लाभ नपाएरै यी व्यक्ति ८ वर्षदेखि सर्प संरक्षणमा तर सरकारको सहयोग अर्कैलाई

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

जनकपुरधाम उपमहानगरपालिका–१२ कटैया चौरीस्थित रीना झाको घर अगाडि रहेको इँटामा कात्तिक ३ गते ठूलो गोमन सर्प लुकर बसेको थियो । इँटा लिन गएका मजदुरको हातमा सर्पको पुच्छर लाग्यो ।

सर्प, सर्प भन्दै मजदुरले हल्ला गरेपछि स्थानीय भेला भए । सर्प भने इँटाभित्र पस्यो । इँटाभित्र लुकेको गोमन सर्प नै भएको निष्कर्षपछि स्थानीय त्रसित बने ।


Advertisement

केहीले सर्प मार्नुपर्छ भनेर सुझाव दिए भने केहीले भगाउने उपाय सुझाए । तर सर्प नजिक जाने आँट कसैलाई भएन । गोमन सर्प तराई क्षेत्रमा पाइने विषालु सर्प मानिन्छ । गोमनले टोकेपछि धेरैजसो व्यक्तिको अस्पतालसम्म नपुग्दै मृत्यु हुने गरेको छ ।

गोमन, करेत प्रजातिका विषालु सर्प देख्ने वित्तिकै धेरैले मार्ने प्रयास नै गर्छन् । तर स्थानीय विजयप्रताप सिंहले सर्प संरक्षणमा लागेका देवनारायण मण्डललाई फोन गरे । मण्डल ‘मिथिला वाइल्ड लाइफ ट्रस्ट’ संस्था गठन गरेर सर्पको निःशुल्क संरक्षण गर्ने काम गर्छन् ।


Advertisement

मण्डलले आफू जनकपुर बाहिर रहेकाले आफ् विद्यार्थीलाई पठाइदिने जानकारी दिए । जनकपुरधामबाट २० किलोमिटर टाढाबाट मोटरसाइकल चढेर २० वर्षीय गणेश साह र २१ वर्षीय चन्दन ठाकुर २ घण्टापछि सर्प भएको स्थानमा थिए ।

करीब आधा घण्टाजतिमा सर्पलाई थकाएपछि सुरक्षित तरिकाले सर्पलाई झोलामा राखेर पछि नजिकको चौरमा छोडेका थिए । 

धनुषाधाम किसाननगरका साह अहिले १२ कक्षामा अध्ययनरत छन् । १४ वर्षको उमेरदेखि नै उनले सर्प समात्ने तालिम मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलबाट लिएका थिए । अहिलेसम्म कूल १ हजार ३३३ सर्पलाई घरबाट समातेर उद्धार गरेको उनी बताउँछन् । गत वैशाखमा उनले २ वटा दुधिलो करेत आफ्नै गाउँ किसाननगरमा फेला पारेका थिए । करेत सर्पका विभिन्न प्रजाति हुने तर फेला पारेको सर्प ‘बंगारस वाली वाला’ र ‘बंगारस निगर वाला’ प्रजातिका सर्प पहिलो पटक फेला परेका भनेर पुष्टि भएको उनले बताए ।

उनी मात्र होइन, उनीजस्तै २० वर्षीय आदर्श मिश्र, २३ वर्षीय अमरनाथ यादव, २२ वर्षीय रबिनन्दन यादव, २४ वर्षीय प्रशन्ना ठाकुर, २२ वर्षीय कृष्णा झासहित युवाको समूह देवनारायण मण्डलको नेतृत्वमा सर्प तथा वन्यजन्तु उद्धार तथा संरक्षणको काममा निःशुल्क नै लागेका छन् ।

मण्डल यसरी बने सर्पका संरक्षक
 
१४ वर्षअघि मण्डल भारतको दिल्ली गएका थिए । पढाइ सँगसँगै उनले त्यहाँ एक जना चार्टर्ड एकाउन्टेन्ट (सीए) को फर्ममा काम गर्ने मौका समेत पाए । सीएले दिल्लीलाई आधार इलाका बनाएर वाइल्ड लाइफ एसओएस ‘सेभ आवर सोल’ नामको संस्था चलाइरहेका थिए । मण्डल पनि संस्थामा काम गर्न थाले । सन् २००६ देखि मण्डल आगरास्थित संस्थामा २४ घण्टै काम गर्न थाले । करीब १ हजार जंगली जनावरको बीचमा बसोबास गर्ने, खाना खाने, जनावरसँगको निकटता तथा अभ्यास समेत हुन थाल्यो ।

मुख्यरूपमा भालु, निल गाई, हरिण, बाँदर, लंगुर, खरायो, हात्ती, विभिन्न प्रजातिका सर्पका बीचमा उनी बस्न थालेपछि जंगली जनावरसँग उनको उठबस हुन थाल्यो । यसरी त्यहाँ काम गर्दा उनलाई जंगली जनावरका गतिविधिबारे राम्रो ज्ञान हासिल भयो ।

सन् २००६–२०१२ सम्म उनले आगरामै काम गरे । त्यहाँ थुप्रै पशुपंछीहरू घाइते हुँदा उपचार गराइ पुनर्वास गराउने तथा विभिन्न प्रजातिका सर्पलाई उद्दार गर्ने कला उनले सिके । आगरामा हुँदा प्रत्येक वर्ष २८ दिनको लागि बिदा मनाउन उनी आफ्नो गाउँ मिथिलेश्वर मौवाही फर्किन्थे ।

सन् २०१२ मा उनी बिदामा घर आउँदा धनुषाधामको जंगल हेर्न गए । तर जंगलको दुर्दशा देखेर उनी आश्चर्यचकित भए । किनभने सन् २००३ मा विद्यालयका ५ जना साथीसँगै जंगलमा जाँदा जंगल यति घना थियो कि कसैमा जंगल छिर्ने हिम्मत समेत भइरहेको थिएन तर सन् २०१२ मा हेर्दा जंगल पूरा खाली थियो । भारतमा गएर भारतको लागि काम गर्नुभन्दा आफ्नै जिल्लाको धनुषाधाम जंगल र जनावरका लागि काम गर्नुपर्छ भनेर उत्प्रेरित हुँदै उनले यहीँ काम गर्ने निधो गरे । 

त्यतिबेला संयोगले धनुषाकै यदुवंश झा वनमन्त्री र धनुषा सबैलाका वज्रकिशोर यादव वन विभागका निर्देशक थिए । मण्डलले ती दुवै जनासँग भेटेर धनुषाधामको जंगलबारे छलफल गर्दा जंगललाई संरक्षित गर्नका लागि मन्त्री तयार भएपछि उनी झनै उत्प्रेरित भए । पछि जिल्ला वन कार्यालयले पनि संरक्षण गर्नुपर्छ भन्ने कार्यका लागि सहयोग गर्न थाले  । 

मण्डलले २०६९ फागुन २० गते वातावरण तथा वन्यजन्तु संरक्षणका लागि मिथिला वाइल्ड लाइफ ट्रस्ट जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गराएर काम गर्न थाले । ‘हालसम्म हामीहरूले ट्रस्टमार्फत १० हजारभन्दा बढी सर्पलाई संरक्षण गरेर पुनर्वास गराएका छौं,’ मण्डलले लोकान्तरसँग भने, ‘त्यसबाहेक नील गाई, हरिण, मृग, सुनगोहोरो, कछुवा सहितका वन्यजन्तुलाई पनि संरक्षण गर्दै आएका छौं ।’ ८ वर्षदेखि ती सबै काम उनले निरन्तर गर्दै आएका छन् । शुरूका केही वर्ष उनले एक्लै सर्प समात्ने र उद्धार गर्ने काम गर्दै आएका थिए । 

तर कुनै–कुनै दिन जिल्लाको एउटा कुना र फेरि त्यहीँ समयमा अर्को कुनाबाट सर्प समात्नका लागि फोन आउने हुँदा एकैसाथ सबै ठाउँमा पुग्न समस्या हुने गरेपछि उनले उपाय निकाले । ‘त्यसैले मैले केही विद्यार्थीलाई समेत सर्प समात्ने बेला साथै लगेर सिकाउने काम गर्न थालें,’ मण्डलले भने, ‘अहिले ६ जना युवाको समूह तयार भएपछि सबै साथीहरू संरक्षणको काममा लागेका छौं ।’

सरकारी निकायले गर्नुपर्ने काम गर्दै आएको भए पनि हालसम्म राज्य वा सरकारबाट कुनै पनि किसिमको आर्थिक सहयोग प्राप्त नभएको उनी बताउँछन् । गत आर्थिक वर्षमा धनुषामा मात्रै ६७० वटा सर्पदंशका घटना भएको उनले बताए । सर्पदंशको उपचार हुने स्थानबाट लिइएको तथ्यांक अनुसार १ दिनमा औसत २ जनालाई सर्पले टोक्ने गरेको छ । विषालु नभएका सर्पले पनि टोकेको अवस्थामा मानिस अस्पतालसम्म आउँदा र उपचार गर्दासम्म करीब प्रतिबिरामी १७ हजार रुपैयाँसम्म खर्च हुने गरेको उनी बताउँछन् । 

वन्यजन्तु संरक्षणको कामका लागि स्थानीय पालिकाले १/१ जनालाई रोजगारी दिएर स्थायी समाधान निकाल्नुपर्ने उनको सुझाव छ । ‘युवालाई तालिम दिन म तयार छु, स्थानीय तह वा प्रदेश सरकारले नै रोजगारी दिए युवाहरूले काम पनि पाउने र सर्पसहित वन्यजन्तुको संरक्षण पनि हुनेछ,’ उनले भने । ४०–४५ हजार रुपैयाँसम्ममा सर्प समात्ने औजार तथा सामग्री किन्न सकिने उनले बताए ।

राज्यको लगानी झलनाथ खनाल प्रतिष्ठानलाई 

सर्प पाल्न तथा एन्टी भेनम औषधि उत्पादन गर्न सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राज्यले लगानी गर्दै आएको छ । नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री समेत रहेका खनालको नाममा २०७१ सालमा स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तका अनुसार प्रतिष्ठानमा संघ, प्रदेश र स्थानीय गरी ३ वटै तहका सरकारले लगानी गर्दै आएका छन् । 

हालसम्म करीब १८ करोड़ रुपैयाँजति आएको उनले बताए । संघको ४० प्रतिशत, प्रदेशको ६० प्रतिशत र स्थानीय तह लालबन्दी नगरपालिकाले प्रत्येक वर्ष १ करोड़ रुपैयाँ लगानी गर्ने भनेर संघ सरकारसँग सम्झौता भएको पन्तले बताए ।    

रेवती पन्त

हालसम्म योजना अनुसार पूर्व सम्भाव्यता अध्ययन, डीपीआर लगायतको काम सम्पन्न भएर जग्गा समेत खरिद गरेर अब भवन निर्माणको डिजाइन तथा इन्जिनीयरिङको काम भइरहेको उनले बताए । स्थानीय १४ जना व्यक्तिबाट साढे ८ बिघा जग्गा ६ करोड रुपैयाँमा किनिएको उनले बताए ।

‘केही जग्गामा सर्पपालनको काम हुनेछ भने केही जग्गामा ल्याब स्थापना गरेर ‘एन्टी भेनम’ औषधिको उत्पादनको काम हुनेछ,’ नेकपा सर्लाहीका नेता समेत अध्यक्ष रहेका पन्तले भने, ‘यो अर्बौं, खर्बाैंको परियोजना हो, ३–५ वर्षसम्ममा उत्पादनको काम शुरू हुनेछ ।’ अहिले सम्पूर्ण काम प्रतिष्ठानले गर्ने र उत्पादनको काम शुरू भएपछि प्रतिष्ठानले संरचना नेपाल सरकारलाई हस्तान्तरण गर्ने उनले बताए ।

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्