भारतको तेलंगाना राज्यमा भालेभिडन्तका लागि तयार पारिएको कुखुरोले आफ्नै मालिकलाई मारेको छ ।
उक्त कुखुरोको पञ्जामा चक्कु बाँधिएको थियो र भाग्ने क्रममा उसले मालिकको तिघ्रामा चक्कुले हानेको थियो ।
भिडन्त गर्नै लागेको बेलामा कुखुरो भाग्न खोजेको थियो र त्यसक्रममा मालिकलाई प्रहार गर्न पुगेको थियो ।
मालिकलाई चोट लागेपछि अस्पतालतिर तत्कालै दौडाइएको छ । अत्यधिक रगत बगेकाले उनी अस्पताल पुग्नुअघि नै बितेका थिए ।
कुखुरोलाई केही समयका लागि प्रहरी चौकीमा राखेर पोल्ट्री फार्म पठाइएको थियो ।
ती व्यक्तिको मृत्युपछि यस अवैध प्रतियोगिताका आयोजकहरूलाई प्रहरीले व्यापक रूपमा खोजी गरिरहेको छ । त्यस अवैध भिडन्तमा अन्य १५ जना पनि सहभागी थिए ।
उनीहरूलाई भवितव्य ज्यान मुद्दा, अवैध बाजी थाप्ने काम र भालेभिडन्तको आयोजना लगायतका अभियोग लगाइने सम्भावना छ ।
भारतमा भालेभिडन्तमा प्रतिबन्ध लगाइएको छ तर तेलंगाना, आन्ध्र प्रदेश, कर्नाटक र उडिसामा अवैध रूपमा भालेभिडन्त गर्ने गरिएको छ ।
एजेन्सी