कोरोना महामारी फैलिनुमा कसको कमजोरी ?

प्रतिकात्मक तस्वीर

भारतमा हरेक दिन ४ लाखभन्दा बढी कोरोना संक्रमित थपिन्छन् । नेपालमा पनि ७ हजारभन्दा बढी थपिन थालेका छन् ।

अवस्था भयावह बन्दैछ । आम नागरिक भयभीत छन् । राज्यका संयन्त्रहरू संक्रमण रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा प्रभावकारी हुन सकेका छैनन् ।


Advertisement

यो स्थिति रातारात आएको भने होइन । यसमा सरकार, सरकारी संयन्त्र, राजनीतिक दलदेखि आम नागरिकसमेतको लापरबाही छ । कोरोनालाई ख्यालख्याल ठान्दा नै यो स्थिति निम्तिइएको हो ।

भारतको बंगाल खाडीको हावाले नेपालमा पानी पर्ने, राजस्थानको धूलोले यहाँ प्रदूषण हुने, भारत हुँदै आएको सलहले यताका खेतीलाई ध्वस्त पार्ने दृष्टान्त हुँदाहुँदै सीमापारि कोरोना संक्रमण भयावह भइरहँदा यता रोकथाम, नियन्त्रण र उपचारका लागि तयारी नगर्नु मूर्खता सावित भएको छ ।

सरकारले कोभिड–१९ को पहिलो लहरसँग जुध्न २०७६ चैत ११ गते लकडाउन गरेको थियो । भारतमा त्यसअघि नै संक्रमण फैलिएर ठाउँठाउँमा लकडाउन गरिएको थियो । सीमा नाका सिल गरेर नेपाल–भारत आउजाउ बन्द गरिएको थियो । त्यस बेला नाकामा हजारौंले सास्ती बेहोर्नुपर्‍यो । कतिपय लुकीछिपी भित्रिए । भारतमा कोरोनाको दोस्रो लहर सुरु हुँदा गत वर्षकै जस्तो स्थिति यता पनि आउँछ भनेर सावधानी अपनाउन ध्यान दिइएन ।

चैतको शुरूआतमै भारतमा कोरोनाको दोस्रो लहर आएको र नेपालमा पनि स्थिति भयावह हुन सक्ने आकलन केही निकायले गरेका थिए । सुरक्षा निकायले भारततर्फका सम्पूर्ण नाकामा कडाइ गर्नुपर्ने भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई जानकारी गराएका थिए । तर सीसीएमसी कानमा तेल हालेर बस्यो ।

‘हाम्रो सरकार भारतलाई बिच्काउन चाहँदैन थियो, त्यसैले थाहा पाएर पनि समयमै केही कदम चालेन,’ एक सुरक्षा अधिकारीले भने । खुला सीमा नियमन गर्न सरकारले तत्कालै कुनै योजना बनाएन ।

समय हुँदाहुँदै पनि होल्डिङ सेन्टर, क्वारेन्टाइन, आइसोलेसन, अस्पतालमा बेड तथा जनशक्ति व्यवस्थापनमा तयारी गरिएन । अहिले मुलुकभर कोरोनाको दोस्रो लहर फैलिरहँदा संक्रमितलाई उपचार पाउनै गाह्रो हुन थालेको छ । अस्पतालमा जनशक्ति, बेड, अक्सिजनलगायत पूर्वाधार अपुग देखिएको छ । समयमै उपचार नपाएर संक्रमितको ज्यान गइरहेको छ । 

सीसीएमसीले नै मुलुकमा दोस्रो लहरको संक्रमण फैलिनुमा सरकारका सबै निकाय दोषी रहेको निचोड निकालेको छ । ‘हामी सबैको गल्ती भएको छ भन्ने निचोड हाम्रो अध्ययनले देखायो,’ सीसीएमसी स्रोतले भन्यो, ‘अब यस्तो कमजोरी दोहोर्‍याउनु हुन्न ।’

सरकारको लापरबाही

कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा व्यापक रूपमा फैलिनुमा सबैभन्दा बढी कमजोरी सरकारकै रहेको कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न बनाइएको अस्थायी संयन्त्र सीसीएमसीले स्वीकार गरिसकेको छ । पहिलो लहरको संक्रमणका बेला सरकारले आइसोलेसन बेड र क्वारेन्टाइन निर्माण, ट्र्याकिङ र ट्रेसिङ, स्वास्थ्य सामग्री आयातमा तदारुकता देखाएको थियो । पीसीआर परीक्षणको दायरा बढाउँदै लगिएको थियो । भारतसँगको खुला नाकामा आउजाउ गर्नेलाई क्वारेन्टाइनमा राख्ने, विदेशबाट हवाईमार्गबाट आउनेलाई पनि होल्डिङ सेन्टर र क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको थियो ।

गत मंसिरबाट सत्ता राजनीतिको खिचातानी बढ्दै जाँदा कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अस्पतालका डाक्टर र नर्सहरूको जिम्मा भयो । तर उनीहरूलाई पनि आर्थिक स्रोत थिएन । आइसोलेसन बेड र क्वारेन्टाइन निर्माण तथा ट्रयाकिङ र ट्रेसिङ हुन छाड्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक पदाधिकारीका अनुसार सरकारले त्यसबीचमा पीसीआरको दायरा बढाएर सामुदायिक स्तरमा नमूना परीक्षण पनि गर्नुपर्थ्यो । ‘तर सरकारी निकायले नेपालीले कोरोना पचाइहाल्छन् भन्ने प्रधानमन्त्रीको भनाइलाई सर्वोपरि ठाने,’ उनले भने ।

अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दलहरू जनशक्ति प्रदर्शनको होडमा लागे । दलहरूले गरेको लगातारको कार्यक्रमले पनि स्थितिलाई थप भयावह बनाएको स्वास्थ्यविद्हरू बताउँछन् । विरोधी र विपक्षी मात्र नभएर प्रधानमन्त्री ओली नै पूर्वमा झापादेखि पश्चिममा धनगढीसम्म पुगेर आमसभा गर्न भ्याए ।

‘पछिल्लो १ वर्षमा स्वास्थ्य मापदण्डलाई कसैले पनि गम्भीर रूपमा पालना गरेनन्,’ सीसीएमसी सचिवालयले गरेको अध्ययनको निचोडमा छ ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी ठूलो मान्छेले नियम नै मान्नु पर्दैन भन्ने ठान्दा यस्तो समस्या आएको मान्छन् । ‘स्वास्थ्य मापदण्डलाई सबैले पालना गर्नुपर्ने हो । तर यहाँ ठूलाले पालना गर्नु नपर्ने र सानाले मात्र मान्नुपर्छ भन्ने छ । जसले गर्दा ठूलाको हेरेर सिक्नुपर्ने सानाले पनि नियम मान्न छाड्छन्,’ उनले भने । प्रधानमन्त्री ओलीले बालुवाटारमा ५० भन्दाभन्दा बढीलाई जम्मा गरेर यही महिना पूजापाठ गरे । ठोरीमा सीता–राम र लक्ष्मणको मूर्ति राख्न पनि एक हूल टोली पठाए । त्यसको नेतृत्वकर्ता थिए, पर्यटनमन्त्री भानुभक्त ढकाल । ढकाल अहिले संक्रमित भएर आइसोलेसनमा छन् ।

जनता उत्तिकै लापरबाह

यसबीचमा आम नागरिक पनि स्वास्थ्य मापदण्ड पालनामा गम्भीर भएनन् । मास्क लगाउने, भीडभाड नगर्ने, भौतिक दूरी राख्ने, साबुनपानीले हात धुने, सेनिटाइजर लगाउनेलगायत न्यूनतम मापदण्डलाई उनीहरूले ख्याल गरेनन् । स्वास्थ्य मन्त्रालयले वैशाख १७ गते मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसकिने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने जनाइसकेको छ । तर अझै कतिपयले स्वास्थ्य मापदण्ड पालनालाई उति ध्यान दिएका छैनन् ।

सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने भनेको छ । तर ठूलो संख्यामा जन्ती लिएर विवाह, पार्टी र अन्य सामाजिक कार्यक्रम भइरहेकै छन् । ‘कोरोना फेरि संक्रमण बढ्नुमा सर्वसाधारण जनताको पनि उत्तिकै गल्ती देखिएको छ,’ सीसीएमसीको अध्ययनको निष्कर्ष छ ।

कुम्भ मेला र नाकामा फितलो निगरानी

भारतमा दोस्रो लहर चल्दै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहसहित नेपाली भारतको उत्तराखण्डको हरिद्वारस्थित कुम्भ मेलामा गएका थिए । पूर्वराजा–रानीलाई आउनेबित्तिकै कोनोरा पोजिभिट देखियो । हरिद्वार गएका धेरै नेपाली संक्रमण बोकेर आएको आकलन सीसीएमसी सचिवालयले गरेको छ । भारतमा कोरोनाको संक्रमण बढिसकेकाले कुम्भ मेलाबाट फर्कनेलाई नाका वा विमानस्थलमा परीक्षण गरेर मात्र पठाउने व्यवस्था सरकारले गर्नुपर्थ्यो । तर सरकारले खुला गर्ने भनेर घोषणा गरेका १३ नाकामा स्वास्थ्य परीक्षणलाई अझै प्रभावकारी बनाउन सकेको छैन । ती नाकामा सरकारले क्वारेन्टीन नै राख्न सकेको छैन ।

भारतमा दोस्रो लहर बढेपछि त्यहाँ रहेका नेपाली घर फर्किए । भारतबाट अन्य मुलुकमा जान विमान उपलब्ध नभएपछि उनीहरूले पनि नेपालको बाटो प्रयोग गर्न थाले । नेपाल आएर लैनचौरस्थित भारतीय दूतावासमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनेको लाइन बढ्यो । त्यति बेलै नेपाल सरकारले कडा कदम चाल्नुपर्ने थियो । भारतबाट आउने नेपाली र नेपालको बाटो प्रयोग गर्दै तेस्रो मुलुक जान खोज्ने भारतीय संक्रमण लिएर आएका थिए । ‘अहिले पनि धेरै भारतीय कोरोना संक्रमणका कारण यहाँका अस्पताल र होटलमा छन्,’ सीसीएमसीका एक पदाधिकारीले भने ।

सरकारले उपत्यकासहित मुलुकका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ । वैशाख १६ गतेयता मात्र भारतसँगका १३ नाकाबाट ३९ हजार २५० जना छिरेका छन् । स्वास्थ्य मापदण्डअनुसार नेपाल भित्रिने विदेशीसँग कोभिड–१९ परीक्षणको प्रमाण हुनुपर्ने, उनीहरूलाई कम्तीमा १० दिन क्वारेन्टाइनमा राख्नुपर्ने र सीमामा स्वास्थ्यसमेत परीक्षण गरिनुपर्ने हो तर यो मापदण्डलाई बेलैमा पालना गराइएन ।

अध्यागमन विभागको तथ्यांकअनुसार त्रिभुवन विमानस्थलबाट वैशाख १३ देखि १९ गते रातिसम्म १२ हजार ५६७ जना भित्रिएका छन् । जसमा १० हजार २१० नेपाली र २ हजार ५७ विदेशी छन् । विमानस्थलमा पनि स्वास्थ्य मापदण्डअनुसार काम भएको छैन । विमानस्थलमा ओर्लिएकालाई होल्डिङ सेन्टरमा लाने र क्वारेन्टाइनमा राख्ने प्रक्रियालाई सरकारले नै लागू गरेको छैन ।

‘विमानस्थलबाट आउनेहरू सिधै घर जान्छन् । उनीहरूलाई कुनै पनि परीक्षण हुन्न र अन्त कुनै पनि लगेर राखिन्न,’ विमानस्थलमा कार्यरत एक सुरक्षाकर्मीले भने ।

सीसीएमसीको कमजोरी

सरकारले २०७७ वैशाख १६ गते कोरोना भाइरस संक्रमणविरुद्धको लड्न भन्दै अस्थायी प्रकृतिको संयन्त्र सीसीएमसी खडा गरेको थियो । जसको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्दै आएका छन् । पोखरेलको नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिमा उनीसहित १० मन्त्री सदस्य छन् । तर काममा चित्त नबुझेपछि प्रधानमन्त्री ओलीले सीसीएमसीले निर्णय गर्न नमिल्ने गराइदिए ।

शुरूआतमा सीसीएमसीले आफैं निर्णय गर्थ्यो तर अहिले मन्त्रिपरिषद्लाई राय सिफारिस गर्ने अधिकार मात्र छ । सीसीएमसीका सदस्यहरूबीच समन्वय नहुने, सबै सुरक्षा र विपद् व्यवस्थापन सम्बन्धित संरचना गृह मन्त्रालयअन्तर्गत हुने र स्वास्थ्य मन्त्रालयले स्वास्थ्यको क्षेत्रमा आफ्नै किसिमले काम गर्ने भएपछि सीसीएमसी अहिले औपचारिकताका लागि मात्र उपस्थित रहेको देखिन्छ ।

प्रधानमन्त्री ओलीले सोमबार गरेको सम्बोधनमा पनि सुरक्षाको जिम्मा गृह मन्त्रालयलाई, अस्पताल र स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य मन्त्रालयलाई, विदेशबाट सामग्री खरिद गरेर ल्याउने जिम्मा परराष्ट्र मन्त्रालय र सूचनाको प्रचारप्रसारको जिम्मा सञ्चार मन्त्रालयलाई रहेको जनाएका छन् ।

‘स्थायी संरचना हुँदाहुँदै यसरी अस्थायी संयन्त्र खोल्नु नै गलत थियो । त्यसमाथि पनि यो स्वास्थ्य संकट हो, यस्तो बेला स्वास्थ्य मन्त्रालयलाई नै नेतृत्व गर्न दिनुपर्थ्यो,’ अवकाशप्राप्त उपरथी विनोज बस्न्यातले भने । कान्तिपुर दैनिकमा खबर छ । 

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्