
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र नेपाली पोखरेलको शपथ आज शनिवारै गराउने तयारी हुँदैछ ।
मुख्यमन्त्री नेपालीले जनता समाजवादी पार्टीका हरिशरच आचार्य, स्वतन्त्र सांसद दीपक मनाङे र माओवादीका १ सांसदलाई मन्त्रीको नियुक्ति दिएर शपथको तयारी भइरहेको छ ।
लामो रस्साकस्सीबीच प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) बमोजिम शनिवार साँझ नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
यसअघि नियुक्तिका लागि दबाव दिन गण्डकी प्रदेश सभाका विपक्षी गठबन्धनले प्रदेश प्रमुख निवासमा धर्ना दिएका थिए ।
कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको समर्थनमा सरकार गठनमा दाबी पेश गरेपछि षड्यन्त्र भएको भन्दै विपक्षीहरू आन्दोलित भएका थिए ।
विपक्षी गठबन्धनले शुक्रवार ३१ सांसद सशरीर उपस्थित भई सामूहिक हस्ताक्षर बुझाएका थिए । जसमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २/२ तथा स्वतन्त्र १ सांसदसहित बहुमत अर्थात् ३१ सदस्यको समर्थन थियो । गण्डकीमा ६० सांसद छन् ।
मुख्यमन्त्री गुरुङले संसदमा विश्वासको मत ल्याउन नसकेपछि उनी बिहीवार स्वतः पदमुक्त भएका थिए । उनको पक्षमा नेकपा एमालेका २७ जनाले मतदान गरेकोमा विपक्षमा ३० मत थियो । विपक्षमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २/२ जनाले मतदान गरेका थिए । जनमोर्चाका कृष्ण थापा तटस्थ बस्दा स्वतन्त्र सांसद दीपक मनाङे संसदमै आएका थिएनन् ।
को हुन् मुख्यमन्त्री नेपाली ?
गण्डकीमा मुख्यमन्त्री नियुक्त कृष्णचन्द्र नेपाली २०७४ सालको प्रदेश सभाको निर्वाचनमा नवलपरासी पूर्व १(१) बाट निर्वाचित हुँदै प्रदेश सभामा प्रवेश गरेका थिए । प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलका नेता उनी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पनि हुन् ।
२००५ जेठ ५ गते तनहुँको राम्चे (हाल ब्यास–११) मा बाबु गोवद्र्धन शर्मा र आमा द्रौपदा शर्मा दम्पतीबाट माहिलो छोराको रूपमा जन्मिएका उनको घरभित्रै राजनीतिक पृष्ठभूमि थियो । उनका पिता प्रजातन्त्रका सेनानी गोवद्र्धन शर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य र तनहुँका सभापति बनेका थिए ।
कांग्रेसको १२ औं महाधिवेशनमा लुम्बिनी अञ्चलबाट केन्द्रीय समितिमा निर्वाचित कृष्णचन्द्र नेपाली त्यसअघि ४ पटक (२०४८ देखि २०६७ सम्म) कांग्रेस नवलपरासीको सभापतिमा निर्वाचित भएका थिए ।
विगत ४ दशकदेखि सक्रिय राजनीतिमा क्रियाशील नेपालीले प्रजातन्त्रको पुनःस्थापनाको लागि भएको आन्दोलनको क्रममा पटक–पटक गरी ३ वर्षभन्दा बढी जेल जीवन बिताइसकेका छन् ।
२०२२ देखि २०२८ सालसम्म उनले पिता स्व. गोवद्र्धन शर्माका साथ भारतमा निर्वासित जीवन बिताएका थिए । राजनीतिक जीवन सँगसँगै उनले लामो समय काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कूलमा राजनीतिशास्त्र, भूगोल, इतिहास पढाए । उनी विभिन्न विद्यालयमा हेडमास्टरको भूमिकामा समेत थिए ।
२०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचारमा सक्रिय भई नेपाली कांग्रेसलाई विजयी गराएको आरोपमा मन्त्रिपरिषद्को निर्णयले उनलाई जुम्ला सरुवा गर्ने निर्णय गर्यो । साथसाथै २०३६ सालताका पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर उनले शिक्षण पेशा परित्याग गरे ।
नेपाल बार एशोसिएशनका सदस्य समेत रहेका उनले प्रखर अधिवक्ताको रूपमा पनि परिचय बनाएका छन् । जनपक्षीय कानूनी सेवामा समर्पित उनको सिंगो प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरू तनहुँ र नवलपरासीबाट छुटेका थिए ।
राजनीतिक कारणले आफैं शारीरिक यातनाबाट गुज्रिएका नेपाली एमनेस्टी इन्टरनेसनल नवलपरासीको संस्थापक अध्यक्ष पनि हुन् ।
भारतको दरभंगाबाट बीए उत्तीर्ण उनी त्रिभुवन विश्वविद्यालयबाट बीएड र बीएल पूरा गरेका हुन् । परिवारमा उनका ९९ वर्षीया आमा, पत्नी, २ छोरा र २ छोरी तथा नातिनातिना छन् ।
प्रमुख घटनाक्रम –
– २०२२ देखि २०२८ सम्म पिता गोवद्र्धन शर्मासँग भारतमा निर्वासित जीवन
– २०२९ देखि २०३६ सम्म काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कूलहरूमा अध्यापन
– २०३५ सालमा विद्यार्थी आन्दोलनमा सक्रिय नेतृत्व
– २०३६ सालको जनमतसंग्रहमा सक्रिय नेतृत्व (तनहुँमा नेपाली कांग्रेस विजयी)
– २०३७ सालमा निर्वाचन बहिष्कारपछि जेल चलान
– २०४६ सालमा प्रथम जनआन्दोलनपछि जेल चलान
– २०४८ सालमा सत्याग्रहमा जेल चलान
– २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेस तर्फबाट नवलपरासी–४ मा उम्मेदवार
– २०४८ देखि २०६७ सम्म सभापति, नेपाली कांग्रेस नवलपरासी
– २०६२/६३ को दोस्रो जनआन्दोलनमा जेल चलान
– २०६७ सालमा नेपाली कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित
– २०७० सालको संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र ३ मा प्रत्यक्षतर्फका लागि नेपाली कांग्रेसका उम्मेदवार तर झिनो मतान्तरले पराजित
– २०७४ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ऐतिहासिक पहिलो प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश नवलपरासी पूर्व १(१) बाट निर्वाचित
– २०७५ सालमा गण्डकी प्रदेश नेपाली कांग्रेसको संसदीय दलका नेतामा सर्वसम्मतले निर्वाचित