×

विकासमा विलम्ब : जग्गा अधिग्रहण गरेको १४ वर्ष बित्दा पनि बनेन एकीकृत जाँच चौकी

असार १५, २०७८

रूपन्देहीको बेलहिया (सुनौली) नाकामा एकीकृत जाँच चौकी (आईसीपी) बनाउने योजना बनेको डेढ दशक बितिसक्दा समेत अगाडि बढ्न सकेको छैन ।

‘इन्टिग्रेटेट चेक प्वाइन्ट’ (आईसीपी) निर्माणका लागि जग्गा अधिग्रहण गरेको १४ वर्षसम्ममा समेत आयोजनाले रफ्तार समात्न नसकेको हो ।


Advertisment

राष्ट्रिय स्तरको आयोजना आईसीपी बन्ने अहिलेसम्म अत्तोपत्तो देखिँदैन । 


Advertisment

नेपाल–भारत अन्तरदेशीय व्यापारलाई सहजीकरण गर्दै आयात–निर्यातलाई सहज बनाउने महत्त्वाकांक्षी लक्ष्यसहित २०६४ साल (सन् २००५) मा दुई मुलुकबीच आईसीपी निर्माण गर्ने सम्झौता भएको थियो । तर, पछिल्लो समय आएर भारतीय पक्षले आईसीपी बनाउन आलटाल गरेको छ । 

अधिग्रहण गरिएको मध्ये करीब १८ बिघा जमिन सुख्खा बन्दरगाहका रूपमा प्रयोगमा ल्याइएपनि बाँकी जमिन गौचरणमा परिणत भएको छ ।

नेपालीको ५३ बिगाहा जमिन आयोजनाका लागि अधिग्रहण गरिएको छ । तर, भारतले आफ्नो क्षेत्रमा अहिलेसम्म जग्गा अधिग्रहण गर्ने कामै गरेन, जसका कारण आयोजना कागजमै सीमित हुुने त होइन भन्ने आशंका उब्जिन थालेको छ । 

आईसीपी बनाउन भारतलाई नेपाली पक्षले दबाब पनि दिन सकेको छैन । 

२०६४ सालमै बेलहियासहित नेपालका प्रमुख ४ नाकामा आईसीपी निर्माण गर्ने समझदारी तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रामकृष्ण ताम्राकार र उनका भारतीय समकक्षी प्रणव मुखर्जीको कार्यकालमा भएको थियो । 

समझदारी अनुसार पर्साको वीरगञ्ज र मोरङको विराटनगरमा आईसीपी बनेर सञ्चालनमा आइसकेका छन् । 

त्यस्तै लुम्बिनी प्रदेशकै अर्को बाँकेको नेपालगञ्जमा आईसीपी निर्माणको काम शुरू भएको छ । तर, रून्देहीको बेलहियामा बन्ने/नबन्ने अनिश्चित जस्तै छ । 

आईसीपी बनाउने सम्झौता हुँदा निकै उत्साहित देखिएका यस क्षेत्रका उद्योगी, व्यवसायी अहिले निराश छन् । 

उद्योगी राजेश अग्रवालले प्रमुख नाकामा आईसीपी नबन्दा राज्यको ठूलो राजस्व गुमेको बताए । ‘वीरगञ्ज र विराटनगरमा आईसीपी बन्ने तर वार्षिक दुई खर्बको कारोवार हुने नाकामा आईसीपी नबन्नु दुःखद् कुरा हो,’ अग्रवालले भने ।

सम्झौता अनुसार काम गर्न दबाब दिनुपर्ने उद्योगी/व्यवसायी बताउँछन् ।  

यो आयोजना भन्सार, अध्यागमन, पशु र प्लान्ट क्वारेन्टाइन, भन्सारका लागि आवश्यक पार्किङ, प्रयोगशाला, अधिकृत व्यारेक, विद्युत् सबस्टेसन, पेट्रोल पम्प, दुई प्रवेशद्वार, सुरक्षा पर्खाल, पानी ट्याङ्की, सेड घर र गोदाम, बैंक लगायतका सबै संरचना एउटै स्थलबाट उपलब्ध हुने मोडल हो ।  

सरकारले आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेटमा बेलहियामा मालबाहक गाडी पार्किङ गर्न ‘पार्किङ ग्राम’ बनाउने योजना अगाडि सारेको छ । 

भैरहवा भन्सार कार्यालयका शाखा अधिकृत तीर्थ पासवानले आईसीपी नबन्दा र्‍याड (पार्किङ गर्ने र सामान राख्ने), ट्राफिक जाम, यात्रु क्लियरेन्सदेखि राजस्व चुहावट हुने गरेको बताए । भैरहवा भन्सारबाट सामान्य अवस्थामा दैनिक ८०० मालबाहक गाडी नेपाल भित्रिन्छन् । 

पासवानले भने, ‘ठूलो योजना अगाडि नबढ्दा खर्बभन्दा बढी कारोवार हुने नाका अस्तव्यस्त बनेको छ । व्यापारीको लागत बढेको छ । त्यो बढ्नु भनेको उपभोक्ताकै थाप्लोमा पर्नु हो ।

‘पार्किङ ग्राम’सँगै अलपत्र आईसीपी बनाउनु सरकार र उद्योगी दुवैका लागि आवश्यक छ । ‘पार्किङ ग्राम’सँगै आईसीपी छिट्टो बन्नुपर्ने नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टंकप्रसाद पोखरेलले बताए । 

सिद्धार्थनगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुलप्रसाद न्यौपाने आधुनिक भन्सार नबनाएसम्म राजस्व छलि नरोकिने बताउँछन् ।

सम्झौतामा दुवै देशका तर्फबाट आवश्यक जग्गा अधिग्रहण गरी भारत सरकारको प्राविधिक तथा आर्थिक लगानीमा एकीकृत जाँच चौकी निर्माण गर्ने भनिएको छ । 

सम्झौता अनुसार नेपालले ५२ बिघा जग्गा अधिग्रहण गरिसकेको छ । भारततर्फ आईसीपी निर्माण गर्ने भनिएको क्षेत्रमा ५ तल्लासम्मका लस्करै घर छन् । 

त्यसैले उतातिर अहिलेसम्म जग्गा अधिग्रहणको काम टुंगिएको छैन ।

आयोजनाका लागि नेपालतर्फ स्थानीय सम्पर्क कार्यालय तोकिएको संघीय आयोजना कार्यान्वयन इकाई भैरहवाका निमित्त प्रमुख इञ्जिनीयर ध्रुव पौडेलले नेपालले सबै तयारी पूरा गरे पनि भारततिरबाट ढिलाइ भएको बताए । 

‘भारतीय तर्फबाट के काम भयो भन्ने जानकारी आएको छैन । कन्ट्रक्सनको कुरा भारतले जानकारी दिएको छैन,’ पौडेलले भने ।

एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यातकर्ताले कम समयमै सहज रूपमा वस्तु आयात–निर्यात गर्न सक्नेछन् । 

सवारीको चापका कारण ट्राफिक जाम नहुने, भन्सारमा हुने गरेको चोरी–पैठारीमा कमी आउने र राजस्व चुहावट पनि रोकिने थियो । 

नेपालतर्फबाट अधिग्रहण भएको ५२ बिघा १८ कठ्ठा जग्गा अहिले सशस्त्र प्रहरीले सुरक्षा गरेर बसेको छ ।

‘अधिग्रहण जग्गा तारबार गरेर राखिएको छ । समस्या भारततर्फ जग्गा अधिग्रहणमा छ । मन्त्रालय स्तरबाटै यसको समाधानका लागि पहल गर्नुपर्छ,’ उनले भने ।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार शुरूमा आईसीपी निर्माण गर्न २ अर्ब ३७ करोड ५३ लाख भारतीय रुपैयाँ लाग्ने भनिएको थियो । 

हाल सरकारले ‘पार्किङ ग्राम’ बनाउने योजना अघि सारेसँगै बेलहियामा भन्सार जाँचपासमा हुने सवारी साधनको ‘जाम’ हट्ने उनको विश्वास छ । 

अहिले भन्सारका संरचना जीर्णसमेत भइरहेको अवस्थामा सरकारले आईसीपी निर्माणमा सक्दो छिटो पहल लिए भौतिक संरचना निर्माण हुने र व्यापारीहरूलाई पनि नाकामा धेरै सहज हुने उनले बताए । 

भारततर्फ उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लास्थित सुनौली र आसपासको केवटलिया, जुगौली र सुक्रौली गाउँको ७७ हेक्टर जमिन आईसीपीका लागि अधिग्रहण गरिने बताइएको छ ।

त्यसमध्ये ७५ प्रतिशत जमिन अधिग्रहण भएको भनिएपनि उक्त स्थानमा बस्ती र खेत भएकाले जग्गा भने खाली भएको छैन । 

यो भारत सरकारको केन्द्रीय योजना हो । तर, जग्गा अधिग्रहणको काम राज्य सरकारले गर्ने भनिएको छ । 

केन्द्र र राज्य सरकारबीच तालमेल नमिल्दा योजना बीचमै अलपत्र परेको बताइन्छ । नेपाल–भारत दुवैतिर नाकावारपार निर्माण गरिने आईसीपीको मुख्य उद्देश्य दुई देशबीचको व्यापारलाई सहज बनाउने हो ।

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x