विदेशमा मासिक ५ लाख तलब छाडेर स्वदेशमै बाख्रा–गाई पाल्दै खड्का दम्पती

उत्तम पोखरेल
उत्तम पोखरेल

पोखरेल लोकान्तर डट्कमका प्रदेश १ प्रतिनिधि हुन् ।

मोरङको उर्लाबारी–९ का राजीव खड्का वैदेशिक रोजगारीको सिलसिलामा कुवेत, कतार हुँदै विभिन्न देश पुगे । उनको कमाइ पनि मासिक ५ लाख रुपैयाँसम्म थियो ।


Advertisement

कम्पनीमा सुपरभाइजरको जिम्मा पाएका खड्काको कमाइ दिनप्रतिदिन बढिरहेको थियो । खड्कासँगै पत्नी हिमादेवी भट्टराई पनि वैदेशिक रोजगारीमै गएकी थिइन् । हिमादेवी गएको १ वर्ष नपुग्दै बिरामी हुन थालिन् । राजीवले १५ वर्ष विदेशमै बिताएका थिए ।


Advertisement

सामान्य बिरामी भएकी पत्नीले स्वदेश फर्केर केही गर्नुपर्छ भन्ने इच्छा व्यक्त गरिन् । स्वदेश फर्किन हिमादेवीले राजीवलाई दिनरात दबाब दिन थालिन् । त्यसपछि स्वदेश फर्किएर कृषि पेशा शुरू गरिएको राजीव बताउँछन् ।

‘श्रीमतीले अब परिवारबाट टाढा भएर नबस्ने, आफ्नै गाउँमा गएर केही गर्नुपर्छ भनेर दबाब दिएपछि के गर्ने भन्ने अन्योलमा परियो,’ उनले भने, ‘गाउँमा गएर के गर्ने भन्ने चिन्ताले निकै लामो समय सतायो । गाउँमा गएर के गर्ने ? यहाँ राम्रो कमाइ छ, म जान्न भनेर श्रीमतीसँगै बारम्बार विवाद गरे तर उनले मानिनन् ।’


Advertisement

पत्नीकै योजना अनुसार अहिले व्यावसायिक रूपमा पशुपालनमा लागेको उनी बताउँछन् । बाख्रा, गाईपालन गरिरहेका खड्का मेहनती किसानका रूपमा परिचित भएका छन् ।

‘अर्काको देशमा काम गर्न खर्चने समय आफ्नै खेतवारीमा खर्चियो भने त्यसले पनि कम आम्दानी दिँदैन जस्तो लाग्छ,’ हिमादेवी भन्छिन्, ‘हामीलाई यहाँ काम गर्न लाज लाग्छ, अरुको देशमा गएर काम गर्न लाज लाग्दैन ।’

राजीव र हिमादेवीले गाउँमै ३ बिगाहाभन्दा बढी क्षेत्रफलमा बाख्रा र गाईपालन गरिरहेका छन् । बोयर, जमुनापारी, खरी र स्थानीय रैथाने जातका बाख्रापालन गरिरहेका छन् । फर्ममा एउटा बाख्राको मूल्य १० हजारदेखि डेढ लाख रुपैयाँसम्म छ ।

‘राज्यबाट हाम्रो अपेक्षा केही पनि छैन,’ हिमादेवी भन्छिन्, ‘राज्यले कृषकका नाममा दिने अनुदान बन्द गरेर बजारीकरण गरिदिए पुग्छ । हामी राज्यबाट यति अनुदान लिउला भन्ने छैन र चाहिँदैन तर राज्यले अनुदान नभई कृषकले उत्पादन गरेका वस्तुलाई बजारीकरण गरिदिनुपर्‍यो ।’

यी दम्पतीको कृषि फर्ममा न सरकारी अनुदान प्रवेश गरेको छ, न कुनै बैंक वा वित्तीय संस्थाको ऋण नै । विदेशमा चुहाएको पसिनाबाट आर्जित रकम नै व्यवसायमा लगानी गरेका छन् । 

कोरोना भाइरस संक्रमणको महामारीबाट विश्व नै आक्रान्त भएको समयमा आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने प्रेरणाका स्रोत बनेका छन् यी दम्पती । आफ्नै ठाउँमा पसिना बगाउँदा खुशी लागेको हिमादेवी बताउँछिन् ।

‘कोरोना भाइरसको महामारीमा हामी विदेशमै भएको भए परिवार तथा आफन्तसँग भेट हुन्थ्यो, हुँदैन्थ्यो,’ राजीव भन्छन्, ‘मेरा लागि श्रीमती प्रेरणाको स्रोत बनिन् ।’

कृषि फर्ममा १ जनालाई रोजगारी दिएका छन् भने गाई–बाख्राका लागि खोले, घाँस, पानी दिने जस्ता काममा आफैं खटिन्छन् ।
  
यी दम्पतीबाट अरुले पनि केही सिक्नुपर्ने छिमेकी समेत रहेकी स्थानीय पत्रकार रञ्जना अधिकारी बताउँछिन् । उनी भन्छिन्, ‘यो दम्पतीले जस्तै अरुले पनि काम गरे कृषिमा परिवर्तन ल्याउन समय लाग्दैन ।’

उत्तम पोखरेल
उत्तम पोखरेल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्