१९ असार २०८३, शुक्रबार
मन्त्री नटुट्ने जिल्ला

सधैँ शक्तिको केन्द्रमा रुपन्देही : जुनसुकै सरकार आए पनि कोही न कोही मन्त्री !

असार ३०, २०७८
सधैँ शक्तिको केन्द्रमा रुपन्देही : जुनसुकै सरकार आए पनि कोही न कोही मन्त्री !

केन्द्रीय राजनीतिमा रूपन्देहीबाट प्रभावशाली नेताहरूको प्रतिनिधित्व छ ।

नयाँ बन्ने हरेक सरकारमा रुपन्देहीका कुनै न कुनै नेता प्रभावशाली मन्त्री बन्ने गर्छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि रुपन्देहीका प्रभावशाली कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री बनेका छन् । 

यहाँबाट एमालेका उपामहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, कांग्रेस केन्द्रीय सदस्य खाँण, राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा, जनता समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, कांग्रेसकै भरतकुमार शाह, एमाले नेता छविलाल विश्वकर्मा, राधा ज्ञवाली लगायतले केन्द्रमा प्रतिनिधित्व गर्छन् । २०६२/०६३ को जनआन्दोलनपछि बनेका हरेक सरकार रुपन्देहीबाट मन्त्री बनेका छन् । 

जनआन्दोलनपछि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा रूपन्देहीबाट एमालेका नेता छविलाल विश्वकर्मा कृषि तथा सहकारी मन्त्री बनेका थिए । उनी अहिले पनि रूपन्देही क्षेत्र नम्बर १ बाट पनि निर्वाचित सांसद हुन् । संविधान सभाको पहिलो निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेका विष्णु पौडेल जलस्रोत मन्त्री बनेका थिए ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा रुपन्देहीका बालकृष्ण खाँण सिञ्चाइमन्त्री बने । त्यसपछि एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा फेरि पौडेल रक्षामन्त्री भए । पौडेलसँगै रुपन्देहीबाट माओवादी नेता हकी कुल्ला खाँ राज्यमन्त्री बने । त्यस्तै एमाले नेता घनश्याम भुसाल विना विभागीय मन्त्री बने । खनालपछि तत्कालीन माओवादीका वरिष्ठ नेता रहेका डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा ओमप्रकाश यादव ‘गुञ्जारी’ मन्त्री बने । 

पहिलो संविधान सभा विघटनपछि मन्त्रपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारमा पनि रुपन्देहीका रामप्रसाद न्यौपाने मन्त्री बने । संविधान सभाको दोस्रो निर्वाचनपछि तत्कालीन कांग्रेस सभापति स्व. सुशील कोइराला नेतृत्वको सरकारमा ऊर्जामन्त्री बनिन्, रुपन्देहीकी राधा ज्ञवाली । कोइरालापछि बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा विष्णु पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाले । त्यसपछि प्रचण्ड नेतृत्वको सरकारमा रुपन्देहीकै खाँण फेरि रक्षामन्त्री बने ।  

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा स्वास्थ्यमन्त्री बने । त्यस्तै कांग्रेस जिल्ला सभापति तत्कालीन संविधान सभा सदस्य अब्दुल रज्जाक खानेपानी राज्यमन्त्री बने । २०७४ को प्रतिनिधि सभाको निर्वाचनपछि फेरि ओली नेतृत्वको सरकार पौडेल अर्थमन्त्री बने । 

पौडेलले अर्थसँगै केही समय गृह, उर्जा लगायत ४ वटा मन्त्रालय सम्हाले । ओली नेतृत्वकै सरकारमा रुपन्देहीका अर्का एमाले नेता घनश्याम भुसाल कृषि मन्त्री बनेका थिए ।

विश्लेषक मनिकर कार्की पार्टीमा प्रभाव राख्ने नेताहरू रुपन्देहीमा धेरै रहेकाले रुपन्देही अगाडि रहेको बताउँछन् । 

उनले भने, ‘जिल्लाको प्रभाव पनि हो । त्यसका साथै गुटमार्फत शक्तिमा पुगेका नेताहरू रुपन्देहीमा धेरै छन् । यसले रूपन्देहीको पहुँच बढी देखिन्छ ।’

रूपन्देहीका विकासमा एमालेका प्रभावशाली नेता विष्णु पौडेल र खाँणले धेरै योजना ल्याएका छन् । विकासका सवालमा पौडेल र खाँण सधैँ सहकार्य गर्छन् । 

वरिष्ठ पत्रकार डीआर घिमिरे रुपन्देहीले विकासमा फड्को मार्नुमा यहाँका नेताहरूले पाएको अवसर प्रमुख कारण रहेको बताउँछन् ।

बुटवलमा खानेपानी र नमूना अटोभिलेज बनाउने सवालमा राजनीतिक दलको खिचातानीले एसियाली विकास बैंक सहयोग गर्नबाट पछि हटेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्