आलेख

बालुवाटारदेखि बार्दलीसम्म...

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

बालुवाटारदेखि बार्दलीसम्म...

मार्टिन लुथर किङले सन् १९६३ अगस्ट महिनाको घमाइलो दिनमा 'आइ ह्याभ द ड्रीम' भन्दै हजारौँ जनताको बीचमा उभिएर सम्बोधन गरेका थिए ।


Advertisement

लुथरले आफूजस्तै अश्वेत रंगका बालबच्चाले गोराहरूका बालबच्चासँगै बसेर स्कूल पढ्न पाउनेछन् भन्ने सपना देखेका थिए। साथै गोराहरूसँगै खेल्ने, सँगै संघर्ष गर्ने र सँगै जेल जाने सपना देखेका थिए। 


Advertisement

मलाई लागेको थियो, बालुवाटारको सरकारी मुकामबाट निस्किएर बालकोटमा रहेको आफ्नै घरको बार्दलीमा पुगेपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मार्टिन लुथर किंगले जस्तै कुनै त्यस्तो महान सपनाको कुरा गर्नेछन्, महान संकल्पको सपना सुनाउनेछन् । 

तर उनले त्यसो गरेनन्। बरु उनले आफ्नै पार्टीका सहकर्मी (जो प्रधानमन्त्री पनि भैसकेका छन्) माधव नेपालतर्फ लक्षित गर्दै 'लाज शरम पचेका, देउवासँग हात मिलाउने गद्दार' भनेर निकै निकृष्ट गाली गरे ।


Advertisement

ओलीले बार्दलीमा उभिएर कुनै सपनाको संकल्प गरेनन्। चुच्चे रेल ल्याउन नसकेकोमा कुनै जवाफ दिएनन्। हावाबाट बल्ने बिजुली, पानी जहाज र चुलाचुलामा ग्यास पुर्‍याउन नसकेकोमा माफी पनि मागेनन्।

उनले आफूले नै देखाएका महान सपनाहरू खण्डित भएकोमा आत्मालोचनासम्म पनि गरेनन्। बरु रिसाए, कराए, झर्किए, धम्की दिए, चुनौती दिए। नेपाली जनताका मनमा उठेका हजारौं प्रश्नहरूको जवाफ दिनुपर्नेमा उल्टै प्रश्न नै प्रश्न पो गरे। 

प्रचण्ड र माधव नेपालसँगको रिसका कारण आजको दिनमा समेत उनले 'अदालतको भण्डाफोर' गर्छु भनिरहेका छन्। देशको प्रधानमन्त्री भैसकेको मान्छेको बोलीमा जनताको भावना मात्र हैन इज्जत पनि जोडिएको हुन्छ।

अदालत भनेको एमाले, माओवादी वा कांग्रेसको विषय हैन। यो देशको मुटु हो। हाँसिमजाकमा होस् वा गालीगलौज, त्यसको शृंखला हेर्दा केपी ओली जस्तो निम्छरो चेतनाको मानिस कसरी यो स्थानसम्म आइपुग्न सकेको होला भनेर जो कोहीले गम खान सक्छ ।

कम्युनिस्ट पार्टीको प्रधानमन्त्री बनेका केपी ओली जब बालुवाटारबाट पदमुक्त भएर नाराजुलुस, बाजागाजा, आफ्नो अनुहार हेरीहेरी आफैँ हुन्छु दंग भनेजस्तै डमी र फोटोहरूको बीचमा अगाडि बढे तब उनकाे वर्गीय दृष्टिकोण र उनका समर्थकहरूको गतिशील, प्रगतिशील चेतनाको भाष्य के कसो हो, प्रस्ट रूपमा पटाक्षेप भइरहेको थियो।

एउटा प्रधानमन्त्री जस्तो सम्मानित स्थानमा पुगिसकेको मान्छे, जसका पछाडि दर्जनौं सेना र प्रहरी हुन्छन्, सिंगो देश हुन्छ, ऊसँग सिंगो देशको प्रतिनिधित्व गरेको विरासत हुन्छ। तिनलाई किन केही थान 'चोरीको मोटरसाइकल' पुँपुँ र पिँपीँ गराउँदै टोले गुण्डाजस्तो सडकमा तमासा देखाएर यात्रा गर्नुपरेको होला?

सन्त नेताका रूपमा छवि बनाएका कांग्रेस नेता स्वर्गीय कृष्णप्रसाद भट्टराई पनि प्रधानमन्त्री भएकै थिए। प्रधानमन्त्रीको पद त्यागेर बालुवाटारबाट निस्किँदा एउटा टिनको बाकस, एउटा छाता र सुराही लिएर निस्किएका थिए। उनको कार्यकाल देख्न नपाए पनि उनको भौतिक शरीर नियाल्ने अवसर यो स्तम्भकारलाई पनि मिलेको छ।

नेपालको शासन सत्तामा लामो समयदेखि रहँदै आएका कोइराला खानदानका गिरिजा बाबु पनि सामान्य ढंगले बालुवाटारबाट निस्किएका थिए।

बीपी कोइरालाका साहित्य पढ्दा उनको राजनीतिक उचाइको छनक पाइन्छ। सुशील कोइराला पनि सामान्य जीवनशैलीका कारण नै चर्चामा आएका थिए । बालुवाटारबाट निस्किँदा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले कायम नगरेको सांस्कृतिक कीर्तिमानी केपी ओलीले देखाए। 

प्रचण्डको त्यो संवोधन

केपी ओली र प्रचण्डबीच खासगरी संसद् विघटनयता टसल मात्र चलेन, एक किसिमको वाकयुद्ध नै चल्यो ।

संविधानको रक्षा र गणतन्त्रको रक्षाका लागि प्रचण्ड सडकमा थिए भने जसरी पनि चुनाव गरेर अगाडि बढ्ने बहानामा केपी ओलीले संविधानका धारा उपधाराहरू सबै भत्काइरहेका थिए । राष्ट्रपति त्यसका लागि 'रबर स्ट्याम्प' बनेर सहयोग गरिरहेकी थिइन् । 

'हामी यहाँ छौं' लेखिएको प्लेकार्ड बोकेर प्रचण्डलगायतका नेताहरू सडकमा थिए । संविधान मिच्ने केपी ओलीलाई भित्तामा पुर्‍याइदिन्छु भन्दै प्रचण्ड गर्जिएका थिए ।

आइतवार संसद्मा प्रचण्डले ओलीलाई लक्षित गर्दै आगोसँग नखेल्न चुनौती दिए । शायद उनले मैले भित्तामा पुर्‍याइदिएँ नि भन्न खोजेको हुनुपर्छ ।

झट्ट हेर्दा यो केपी ओली र प्रचण्डको झगडाजस्तो देखिए पनि गहिरो गरी हेर्दा यो प्रतिगमन र अग्रगमनबीचको संघर्ष थियो। कुर्ची भाँच्ने र कुर्ची जोगाउने बीचको वर्गसंघर्ष थियो।  

प्रचण्डले मार्टिन लुथर किङले जस्तो करीब दुई दशक अगाडि गणतन्त्र नेपालको सपना देखेका थिए। जनता र संविधानको सर्वोच्चता भएको नेपाली समाजको सुन्दर सपना देखेका थिए।

आदिवासी, जनजाति, दलित, उत्पीडित वर्ग राज्यको मूलधारमा समेटिएको सपना देखेका थिए । जनवादी व्यवस्थाको सपना देखेका थिए । २१ औँ शताब्दीको वैज्ञानिक समाजवादको सपना देखेका थिए। 

त्यो पूरा भएको होस् वा नहोस्, सपना भनेको कल्पना हो । कल्पना भनेको व्यवहारत: पूरा हुने कुरा हो । चरा उडेको देखेर मानिसहरूले आफू पनि चराजस्तै उडेको कल्पना गरे । फलस्वरूप जहाजको निर्माण भयो । यो पृथ्वी कल्पनाको महासागर हो।

प्रचण्डको सपना कति पूरा भए, कति पूरा हुन बाँकी छन्। तर प्रचण्ड आजको उपलब्धिहरूका निम्ति सर्वथा धन्यवादको पात्र छन्। सगरमाथा आरोहण गर्नका लागि धेरै आधार शिविरहरू पूरा गर्नुपर्ने हुन्छ। हामी नेपाली जनताहरू यतिखेर खुला आकाशको स्वतन्त्रताको आधार शिविरमा उभिएर आकाश छुने सपना देखिरहेका छौं । 

कुनै त्यस्तो खास सपना नै नभएका, लहडको भीडमा कता-कताबाट आएका केपी ओलीले संसद् र संविधानको निर्मम अपहरण, हत्याको प्रयास गरे। संविधानका पानाहरू, धारा, उपधाराहरूलाई रिसाएको चितुवाले झैं कोपारे, चिथोरे।

केपी ओलीको बालुवाटार बहिर्गमनपश्चात नेपाली राजनीतिमा कोर्स करेक्सन भएको छ। कम्तिमा लोकतान्त्रिक निर्वाचन हुन सक्ने आधार देखिएको छ। संविधानमाथि दिनहुँ हुने हमलाको रक्षार्थ नेपाली कांग्रेस खडा भएको छ। प्रतिगामी कदमको हार भएको छ। अग्रगमनको जीत भएको छ।

भनिन्छ, आमालाई जति आफ्नो सन्तानको माया अरू कसैलाई हुँदैन। भयो भने पनि त्यो क्षणिक हुन्छ। नेपालको संविधानको माया प्रचण्डलाई जति अरू समकालीन नेताहरूलाई नहुन सक्छ । यो संविधानका लागि प्रचण्डले आफ्नो जीवनको महत्त्वपूर्ण उमेर खर्चिएका छन् । आँसु र पसिना बगाएका छन् ।

देशको संविधान केही समूह, व्यक्ति र विचारहरूका लागि सौतेनी आमाको काखमा थियो। संविधान रोएको थियो। च्यातिएको थियो । भाँचिएको थियो । तड्पिएको थियो। आमा समान मानिने संविधानका रक्षकहरू भक्षक भएर निस्किएका थिए । तिनलाई कुनै पश्चाताप थिएन । तिनलाई कुनै हीनताबोध पनि थिएन। 

तर संविधानमाथि प्रतिगमनकारी हमला हुँदा प्रचण्डलाई जत्तिको पिर कसैलाई परेको देखिएन । जब संसद् विघटन भयो त्यस दिनदेखि उनको अनुहारमा चमक हराएको थियो। 

यो संविधानमा केपी ओलीको रुचि थिएन । उनी भेलबाडीसँग बग्दै यो संविधानको पक्षमा आएका थिए। उनले चाहेर वा नचाहेर धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरेका थिए। प्रधानमन्त्री बन्नका लागि प्रचण्डसँग पार्टी एकतासम्म गरेका थिए। 

यसरी हेर्दा प्रचण्ड केपी ओलीभन्दा हजार गुणा गतिशील राजनीतिकर्मीका रूपमा देखा परेका छन्। गिरिजाबाबु, माधवकुमार नेपाल लगायतसँगको सहकार्यमा १२ बुँदे शान्ति सम्झौता, राजतन्त्रको अन्त्य, संविधान सभाको निर्वाचन, गणतन्त्र घोषणासम्म आइपुग्दा प्रचण्डले थुप्रै हण्डर खाएका छन् ।

अनुभव बटुलेका छन्। आजको मितिसम्म प्रतिगामी तत्वहरूसँग वर्ग संघर्ष देखा परेको छ। पछिल्लो समय दुई-दुई पटक भएको संसद् विघटनका विरुद्ध प्रचण्डले गरेको संघर्ष एउटा ताजा उदाहरण हो।

सम्भवत: प्रचण्ड गतिशील भएकै कारण खासखास समयमा राजनीतिक ध्रुवीकरण देखा परेको छ। त्यो ध्रुवीकरणमा एउटा प्रगतिशील सफलता हात पर्ने गरेको छ।

गिरजाबाबुसँगको सहकार्य, माधव नेपालसँगको सहकार्य र अन्य मधेशवादी दलहरूसँगको सहकार्य खासखास समयमा प्रभावशाली देखिएका छन्। बाह्य हस्तक्षेप बढेका बेला बाहेक अन्य समयमा, मधेशको मात्र हैन आदिवासी, जनजाति, दलित, उत्पीडित वर्गका लागि प्रचण्डले उठाएको वैचारिक रुझान इतिहासको पानामा दर्ज भएको छ। 

शायद गिरिजा बाबुले गणतन्त्रका लागि जोखिम मोलेर अगाडि नबढेको भए नेपालको राजनीति कता जान्थ्यो यसै भन्न सकिन्न। गिरिजाबाबुले पनि घरको बार्दलीबाट सम्बोधन गरेका थिए । त्यो सम्बोधन गणतन्त्रको पक्षमा थियो । आज बार्दली बाट सम्बोधन हुँदैछ। तर त्यो संवैधानिक सर्वोच्चताको विपक्षमा ।

लोकतान्त्रिक गणतन्त्रको विपक्षमा। एउटा भनाइ छ, 'नउक्लिँदासम्म अग्लो हो सगरमाथा, उक्लिएपछि त तल परिहाल्छ। कागताली मिलाएर कता-कताबाट राज्यारोहणको सगरमाथामा उक्लिएका केपी ओलीलाई म देशभरीबाट चुनिएको पो हुँ भन्ने ठूलो भ्रम छ, जबकि त्यो हैन । उनी जम्माजम्मी झापाको एउटा निर्वाचन क्षेत्रको प्रतिनिधि हुन् ।

अन्तमा, केपी ओलीले बार्दलीमा उभिएर भारदारी सभा गरी कुनै संसार जितेको अलेक्जेन्डर जस्तो ठाँटिएर के- के आवेगपूर्ण भाषण गर्दै थिए। बालुवारदेखि बार्दलीसम्म देखिएको केपी ओलीको यात्रा इतिहासमै स्मरण गर्न लायक एउटा परिघटना बनेको छ ।

यति धेरै अवसर र प्रतिपक्ष नै नभएको जस्तो राजकाजको परिस्थितिमा पनि उनले सधैँ तिकडम, जालझेल, छलकपट र आफ्ना विरोधी, विपक्षीहरूसँग रिसइबी साँधिरहे । उनले त संवैधानिक अपराध गरेको स्वीकार गरेर नेपाली जनतासमक्ष माफी माग्नुपर्ने हो। तर यस्तो महान कर्म शायद केपी ओलीको सातौं अवतारमा पनि सम्भव नहोला ।

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्