०७ असार २०८३, आइतबार
कानूनलाई नै गिज्याउने डिभोर्सका घटना

सम्बन्धविच्छेदको नयाँ 'भेरियन्ट'– पतिको कमाइबाट विदेशमा पढाइ, पीआर पाएपछि लात !

असोज १७, २०७८
सम्बन्धविच्छेदको नयाँ 'भेरियन्ट'– पतिको कमाइबाट विदेशमा पढाइ, पीआर पाएपछि लात !

गुल्मीको मालिका गाउँपालिकाका ३२ वर्षीय विक्रम (नाम परिर्वतन) र बुटवल उपमहानरपालिकाकी ३० वर्षीया रञ्जना (नाम परिर्वतन) २०७४ मंसिरमा विवाह बन्धनमा बाँधिए । 

१० वर्षको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका थिए । गाउँमा जन्मिएका विक्रम र शहरमा जन्मिएकी रञ्जनाबीच गाउँमा भेट हुँदा प्रेम सम्बन्ध गाँसिएको थियो । 

पछि परिवारकै सहमतिमा भव्य तबरले विवाह भएको थियो । विक्रमले गाउँको ऋण धन गरेर बुटबलमा जग्गा जोडेपछि विवाह भएको थियो ।

त्यो समय विक्रमविना बाँच्न नसक्ने भन्दै रञ्जनाले नै विवाहका लागि जिद्दी गरेकी थिइन् । 

विवाह भएको १ वर्षपछि विक्रमले फेरि ऋण धन गरेर आफ्नी श्रीमतीलाई थप पढाइका लागि जर्मनी पठाए  । त्यहाँ पठाउँदा उनलाई झण्डै १९/२० लाख ऋण लाग्यो ।

श्रीमतीलाई विदेश पठाएर एक्लै बस्न उनको मन मानेको थिएन, तर श्रीमतीप्रतिको माया र विश्वास पनि उत्तिकै थियो । रञ्जना विदेश गइन् । मास्टर डिग्रीको पढाइ सकाइन् ।

लगत्तै कोरोना भाइरसको संक्रमण विश्वभर फैलियो । रञ्जनाले विदेशमा पढाइ सकेपनि काम पाउन सकेकी थिइनन्, त्यतिबेला पनि विक्रमले नेपालबाटै पैसा पठाए ।

जर्मनीमा कोरोना संक्रमण अलि कम भयो । रञ्जनाले पैसा कमाउन थालिन् । त्यसयता विक्रम र रञ्जनाबीच कुराकानी हुन छाड्यो । केही समय त व्यस्त भएर होला भन्ने ठानेर विक्रम चुप रहे ।

घण्टा, दिन, हप्ता हुँदै महिना बित्यो, तर सम्पर्क भएन । यसैगरी ६ महिना बिते । तब रञ्जना एक्कासि नेपाल आएर डिभोर्स मागेपछि विक्रम छाँगाबाट खसेजस्तै भए ।

उनले सम्झाउन खोजे । आफूबाट केही गल्ती भयो कि भनेर अनुनय विनय पनि गरे, तर रञ्जना केही कुरा सुन्ने मनस्थितिमा थिइनन् । उनले त डिभोर्सका लागि जिल्ला अदालत गुल्मीमा निवेदन समेत दिइसकेकी रहिछन् । 

बुझ्दै जाँदा थाहा भयो– जर्मनीमा रञ्जनाको अर्कै पुरुषसँग सम्बन्ध रहेछ । अनि विक्रमले डिभोर्स दिए । उनले त्यतिका समय गरेको माया, प्रेम र लगानी बालुवामा पानीसरह भयो ।

.....

उदयपुरको त्रियुगा नगरपालिका– ३ का रोहित राई (नाम परिर्वतन)ले उदयपुरकै रविना लिम्बू (नाम परिर्वतन)सँग २०६६ सालमा प्रेम विवाह गरेका थिए ।

३ वर्षको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका थिए । एसएलसी पास गरेकी रविनालाई विवाहपश्चात रोहितले १२ कक्षा पढाए । बिएस्सी नर्सिङ पनि पढाए ।

त्यससँगै रविनाले सरकारी जागिरमा नाम समेत निकालिन् । सरकारी जागिरे भइन् ।

त्यसबीचमा उनीहरूको एक छोरी पनि भइसकेकी थिइन् । गाईघाटमा पहिल्यै खरिद गरेको जग्गामा घर बनाउने सल्लाह गरी पैसा कमाउन रोहित बहराइनतर्फ गए । 

२०६९ सालदेखि २०७७ सम्म विदेशमा कमाएर रोहितले गाईघाटमा २ तले घर बनाए । छोरी पनि हुर्किँदै गइन् । ८ वर्ष विदेश बसेका रोहित २ पटक मात्र घर आएका थिए ।

पछिल्लो समय अब घर बस्ने र व्यापार गर्ने भन्दै वैदेशिक रोजागरीमा नजाने गरी उनी नेपाल फर्किए । तर घर फर्किएपछि उनको होश हवास उड्यो ।

रविनाले अंशसहित सम्बन्धविच्छेद गरी पाऊँ भन्दै उदयपुर जिल्ला अदालतमा निवेदन दिएकी रहिछन् । उनले सम्झाउन खोजे, तर रविनाले उनको कुरै सुनिन् ।

विदेशमा कमाएको पैसा, घर र सम्पत्तिसहित श्रीमतीलाई डिभोर्स दिन बाध्य भए ।

त्यत्रो खर्च गरेर पढाएको, विदेशमा पैसा कमाएर कुनै अभाव हुन नदिएको श्रीमती सम्पत्ति समेत चिरेर बिदा भएपछि उनी बिलखबन्दमा छन् ।

त्यसमाथि छोरी पढाउने जिम्मेवारी उनको काँधमा छ । अब फेरि विदेशिनका लागि रोहित पासपोर्ट बोकेर काठमाडौंका म्यानपावर धाइरहेका छन् ।

माथिका २ वटा त प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय वैदेशिक रोजगारी र विशेष गरी प्रेम विवाह गरेकाहरूको बिग्रँदो सम्बन्धले सम्बन्ध विच्छेदका घटना बढिरहेका छन् ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको तथ्यांक हेर्ने हो भने सम्बन्धविच्छेद गर्ने क्रम हरेक वर्ष बढ्दै गएको देखिन्छ । २०४२ सालदेखि २०७८ साल असोज १३ गतेसम्ममा २७ हजार ५४८ जोडीले सम्बन्धविच्छेद गरिसकेका छन् ।

पञ्जीकरणको विभागको तथ्यांकले २०७० सालयता सम्बन्धविच्छेद गर्नेको संख्या ह्वात्तै बढेको देखाउँछ । ०७० सालमा देशभरमा ३९४ जनाले सम्बन्ध विच्छेद गरेका थिए । 

२०७१ मा १ हजार ३७५ जोडी, ०७२ मा १ हजार ६५ जोडी, ०७३ मा २ हजार २८३ जोडी, ०७४ मा २ हजार ७७६ जोडी, ०७५ सालमा ३ हजार ९३५ जोडी, ०७६ सालमा ५ हजार ४६ जोडी र ०७७/७८ मा ६ हजार ६४४ जोडीले सम्बन्धविच्छेद गरेका छन् ।

बर्सेनि सम्बन्धविच्छेदको ग्राफ उच्च गतिमा उकालो लागेको देख्न सकिन्छ ।

पैसा कमाउने भाँडा भयो डिभोर्स– मुरारी सापकोटा वकिल

पछिल्लो समय धनीसँग विवाह गर्ने र केही वर्षपछि सम्बन्धविच्छेद गरेर सम्पत्ति कुम्ल्याउने ट्रेन्ड नै देखिएको अधिवक्ता मुरारी सापकोटाले बताए ।

‘कानूनले महिलालाई अधिकार दिएको छ, तर त्यसको गलत प्रयोग भइराखेको छ । पैसाका लागि विवाह गर्ने र सम्बन्धविच्छेद गरेर पैसा कुम्ल्याउने गरेको देखिन्छ,’ वकिल सापकोटाले लोकान्तरसँग भने । 

कतिपय अवस्थामा भने वास्तविक आवश्यकताका आधारमा पनि सम्बन्धविच्छेद भएको उनले बताए । श्रीमानले मानिसक यातना दिने, कुटपिट गर्नेजस्ता घटनापश्चात महिलाले डिभोर्स माग्ने गरेको उनको भनाइ छ ।

पीआरका लागि समेत सम्बन्धविच्छेद हुने गरेको उनले सुनाए ।

‘कतिपय अवस्थामा विदेशमा पीआर पाउनका लागि पनि श्रीमतीसँग छोडपत्र गरेको देखेका छौं,’ सापकोटाले भने ।

कानूनले सुविधा दिएपछि बढेको होः नानीछोरी महर्जन, वकिल

महिलाहरू पहिला कानूनको घेरमा थिएनन्, अर्थात कानूनले महिलालाई अधिकार दिएको थिएन, तर अहिले अधिकार दिएपछि आफू स्वतन्त्र हुनलाई सम्बन्धविच्छेद बढेको वकिल नानीछोरी महर्जनले बताइन् ।

‘कतिपय महिलाहरू पीडित हुनुहुन्छ, उहाँहरूलाई यो कानूनले अधिकार दिएको छ, त्यसकारण सम्बन्धविच्छेदको संख्या बढेको हो,’ महर्जनले लोकान्तरसँग भनिन्, ‘अहिले महिलाहरू स्वावलम्बी पनि भएका छन् । आफू एक्लै बाँच्न सक्ने भएपछि अरूको अन्डरमा किन बस्ने भन्ने भएर पनि डिभोर्स माग्नेहरू बढेको पाएको छु ।’

साथै सम्बन्धविच्छेदको दुरुपयोग समेत भइरहेको उनले बताइन् ।

विदेश जाने प्रयोजनका लागि पहिला पेपर म्यारिज गर्ने र पछि त्यसको दुरुपयोग गरेर केटाहरूको पैसा तथा सम्पत्ति माग्ने गरेको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्