२३ जेठ २०८३, शनिबार

धुलिखेल विश्व स्मार्ट दिगो शहर संगठनको सदस्यमा निर्वाचित

कात्तिक २, २०७८
धुलिखेल विश्व स्मार्ट दिगो शहर संगठनको सदस्यमा निर्वाचित

‘खाद्य हरियाली शहर’उन्मुख काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका विश्व स्मार्ट दिगो शहर संगठनको सदस्यमा निर्वाचित भएको छ ।

सन् २०२१ देखि २०२३ सम्मका लागि कार्यसमिति सदस्यमा धुलिखेल नगर निर्वाचित भएको हो । विश्वका १३६ देशका शहर सदस्य रहेको संगठनको १७ सदस्यीय कार्यसमितिमा धुलिखेल पनि निर्वाचित भएको जनाइएको छ ।

विश्व स्मार्ट दिगो शहर संगठनको पाँचौँ महासभाबाट धुलिखेल नगरपालिका निर्वाचित भएको नगर प्रमुख अशोक ब्याञ्जूले जानकारी दिए । नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहेका ब्याञ्जूले महासभालाई सोमबार सम्बोधन गरेका छन् ।  “संसारका ठूला देशका शहरसँगै संगठनको कार्यसमिति सदस्यमा निर्वाचित हुनु गौरवको विषय हो”, उनले भने । 

धुलिखेल नगरलाई हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ शहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो शहर बनेको घोषणा गरिएको थियो । आगामी महिना बेलायतको ग्लास्गोमा आयोजना हुने राष्ट्र सङ्घीय जलवायु सम्मेलन कोप–२६ अघि यो सूची सार्वजनिक गरिएको हो । उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानाडाको टोरोन्टो, स्पेनको बार्सिलोना र अमेरिकाका लस–एन्जलस्समेत सूचीकृत छन् । 

धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनका ल्याएको थियो । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय शहरको रूपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको ब्याञ्जूले बताए । धुलिखेल संसारका ठूला र सफा शहरको सूचीकृत हुनु गौरवको विषय मानिएको छ ।

यसअघि नगरले जलवायु परिवर्तनको असरलाई कम गर्न नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको थियो ।

नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ शहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो शहर बनेको घोषणा गरिएको अवसरमा धुलिखेलमा शून्य ग्रीन हाउस ग्यास उत्सर्जनसहित वातावरणमैत्री विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आउँदा दिनमा समेत नगरद्वारा जिवाश्म इन्धन अप्रसार सन्धि अभियान कार्यान्वयनमा पहिलो प्राथमिकतामा राखिने जनाइएको छ । 

यसैबीच, शहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न धुलिखेल नगरमा ‘खाद्य हरियाली शहर’ कार्यक्रम थालिने भएको छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिका बीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ ।

उक्त कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दिगोरूपमा वैज्ञानिक ढङ्गबाट नगर सफा–सुन्दर हुने जनाइएको छ । वैज्ञानिक माध्यमबाट नगरलाई दिगो रूपमा खाद्य हरियाली शहर बनाउन नगरसँग सम्झौता गरिएको ब्याञ्जूले बताए । यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिने बताइन्छ ।” 

यस कार्यक्रममा जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत समावेश गरिनेछ । सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगोरूपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायत काम हुने जनाइएको छ ।

नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ शहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्