१५ असार २०८३, सोमबार
द्वन्द्वको नयाँ फ्ल्याशपोइन्ट

बेलारुसको सीमामा तनाव– बेलायत र पोल्यान्डले सेना थुपार्दा पुटिनको निशाना कता ?

कात्तिक २८, २०७८
बेलारुसको सीमामा तनाव– बेलायत र पोल्यान्डले सेना थुपार्दा पुटिनको निशाना कता ?
REUTERS

पश्चिमी सैन्य गठबन्धन नेटोले रुसको क्राइमिया नजिक केही दिनयता युद्ध अभ्यास थालेपछि रुस र पश्चिमबीचको तनाव नयाँ उचाइमा पुगेको छ । 

अमेरिकाको यूएस सिक्स्थ फ्लीटले नोभेम्बर महिनाको आरम्भतिर माउन्ट ह्वीट्नी जहाज कृष्णसागर (ब्ल्याक सी) मा नेटो साझेदार तथा सहयोगीहरूसँग नियमित जलक्षेत्रीय अभ्यासका लागि गएको जानकारी दिएको थियो । त्यससँगै नेटोका खोजी तथा निगरानी (रिकोनेसा) विमानहरू रुसको हवाईक्षेत्र नजिक बाक्लै गरी उड्न थालेका छन् । 

अमेरिकीहरूले यो नियमित सैन्य अभ्यास भएको बताए पनि रुसले यो तालिकाबाट बाहिर गएर गरिएको अभ्यास बताएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रसिया २४ नामक टीभी च्यानलसँग कुरा गर्दै कृष्णसागरमा अमेरिका र नेटो साझेदारहरूले तनाव चर्काउने उद्देश्यले शक्तिशाली जहाज तथा रणनीतिक हवाई उडानका साथ अभ्यास गरिरहेको बताए । 

त्यसको प्रतिकारस्वरूप रुसको रक्षा मन्त्रालयले त्यही क्षेत्रमा पूर्वयोजनाविना नै अभ्यास गर्ने प्रस्ताव गरेको भए पनि तनाव चर्किने भएकाले आफूले त्यसका लागि अनुमति नदिएको पुटिनको भनाइ छ । 

त्यसो त गत मे महिनामा पनि नेटोले कृष्णसागर क्षेत्रमा ठूलै सैन्य अभ्यास गरेको थियो । स्टेडफास्ट डिफेन्डर २१ नाम दिइएको उक्त युद्ध अभ्यासले नेटोका ३० सदस्य राष्ट्रमध्ये एकमाथि आक्रमण गरिएको खण्डमा नेटोले दिने सैन्य प्रतिक्रियाको परीक्षण गर्न खोजेको थियो । अमेरिकी सैनिकहरूको तैनाथी तथा हातहतियारको सहज आपूर्ति गर्न सक्ने नेटोको क्षमतालाई पनि उक्त अभ्यासले जाँचेको थियो । 

रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै नेटोले युद्ध अभ्यासलाई जायज ठहर्‍याउन खोजेको छ । रुसले युक्रेन नजिक महिनौंदेखि सेना तैनाथी गरेपछि अमेरिकी तथा युरोपेली अधिकारीहरूले त्यो युक्रेनमाथि आक्रमणको पूर्वसंकेत भएको व्याख्या गरेका छन् । 

गत अप्रिल महिनामा रुसले युक्रेनसँगको सीमा नजिक हजारौं सैनिकहरू भेला पारेपछि अमेरिका र नेटो साझेदारहरूको कान ठाडो भएको थियो । तीमध्ये कतिपय सैनिक पछि आआफ्नो अड्डामा फर्केको भए पनि ठूलो संख्यामा अझै पनि सीमा नजिक खटिएका छन् । सयौं हतियारबन्द गाडीहरू, ट्यांकहरू, आर्टिलरी र नयाँ पैदल सेनाका इकाइहरू पनि त्यहाँ तैनाथ छन् ।

तर पूर्वी युरोपमा आफ्नो प्रभाव विस्तार गर्नका लागि नेटोले प्रयास गरिरहेकाले प्रतिरक्षाका लागि आफूले सैन्य तैनाथी गरेको रुसको भनाइ छ । त्यही विस्तारको भूराजनीतिक सन्दर्भमा नेटोले जानाजान सैन्य तनाव बढाएको रुसको आरोप छ । 

युक्रेनका साथै अर्को छिमेकी बेलारुसमा समेत रुसले सैन्य उपस्थिति बढाएको छ । त्यहाँ उसले प्याराट्रूपरहरू तथा बमवर्षक विमान समेत पठाएको छ ।

पहिला यस तैनाथीको पृष्ठभूमिको चर्चा गरौं । बेलारुस र पोल्यान्डको सीमामा एसिया तथा अफ्रिकाबाट आएका दुई हजार शरणार्थीहरू भेला भएका छन् । उनीहरू कठ्यांग्रिदो जाडोमा लुगलुग काँप्दै पोल्यान्ड प्रवेश गर्न खोजिरहेका छन् ।

शरणार्थीहरूलाई पोल्यान्डका साथै लाट्भिया र लिथुआनियामा प्रवेश गर्न प्रेरित गरी बेलारुसले आफ्ना छिमेकीहरूमाथि ‘हाइब्रिड अट्याक’ गर्न खोजेको युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लेयेनले आरोप लगाएकी छन् ।

पोहोर साल बेलारुसमा भएको आमनिर्वाचनमा धाँधली गरी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले कार्यकाल लम्ब्याएको आरोप लगाउँदै युरोपेली संघ (ईयू) ले बेलारुसविरुद्ध प्रतिबन्ध लगाएको थियो । लुकाशेन्कोले निरंकुश शासन चलाउँदै मानवअधिकारको घोर उल्लंघन गरेको पनि ईयूको कथन छ ।

ईयूले लगाएको प्रतिबन्धका कारण आक्रोशित भएका लुकाशेन्कोले उसका विरुद्ध प्रतिकारका लागि शरणार्थी संकट उब्जाएको ईयूका अधिकारीहरू बताउँछन् । लुकाशेन्कोले युरोपमा मानव तस्कर, लागूऔषध तस्कर तथा सशस्त्र आप्रवासीहरू पठाएर युरोपलाई अशान्त बनाउन खोजेको उनीहरूको आरोप छ । 

बेलारुस आइपुगेका शरणार्थीहरूलाई कुन विन्दुबाट युरोपेली संघको सदस्य राष्ट्रको सीमाभित्र पसाउने अनि अर्को देशको सीमारक्षकलाई के बताउने भनी बेलारुसीहरूले तालिम दिएको आरोप पनि छ । अनि बेलारुसका विपक्षी दलहरूलाई समर्थन गरेकाले पोल्यान्डविरुद्ध लुकाशेन्को बढी रिसाएको पनि बताइएको छ । 

त्यस्तो कदमलाई दण्ड दिनका लागि ईयूले बेलारुसमाथि थप प्रतिबन्धका विषयमा विचार गरिरहेको सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 

बेलारुसले भने यी सबै आरोपको खण्डन गरेको छ । आफूमाथि थप प्रतिबन्ध लगाइएमा युरोप पठाउने ग्यासको आपूर्ति रोकिदिने चेतावनी पनि बेलारुसले दिएको छ ।

यस्तो स्थिति कायम रहँदा यसले हिंस्रक द्वन्द्व वा युद्धलाई निम्त्याउन सक्ने चेतावनी पनि दिइएको छ । इस्टोनियाका परराष्ट्रमन्त्री काल्ले लानेटले शरणार्थी संकट बृहत्तर युद्धमा परिणत हुन सक्ने बताएका छन् । 

त्यस्तै बेलायतका सर्वोच्च सैन्य अधिकारी चीफ अफ डिफेन्स स्टाफ जनरल सर निक कार्टरले शनिवार द टाइम्स रेडियोसँग कुराकानी गर्दै बेलायतका तथा उसका नेटो साझेदारहरू र मस्कोबीच सैन्य द्वन्द्व चर्किने जोखिम बढेर गएको बताएका छन् । 

बहुध्रुवीय विश्व व्यवस्थाले प्रतिस्पर्धालाई थप चर्काएको र यसले दुर्घटनावश शुरू हुने युद्धको सम्भाव्यतालाई बढाएको उनको कथन छ । हुन पनि बेलारुस र युक्रेनको तनाव युद्धको फ्ल्याशपोइन्ट बन्न सक्ने सम्भावना छ । 

युद्धको सम्भावनालाई बल पुग्ने गरी आरोपप्रत्यारोपको शृंखला चलेको छ । शरणार्थी संकट चर्काउन रुसको पनि भूमिका रहेको आरोप पश्चिमी मुलुकहरूले लगाएका छन् ।

पोल्यान्डले शरणार्थीहरूलाई पश्चिम एसियाका मुलुकबाट बेलारुस ल्याएर ईयू सदस्य मुलुकको सीमामा ल्याउने षड्यन्त्रमा रुस संलग्न रहेको ठाडो आरोप लगाएको छ । बेलारुसका लुकाशेन्कोलाई मस्कोको आशीर्वाद प्राप्त भएकाले उनले ईयूविरुद्ध साहस प्रदर्शन गर्न सकेका हुन् ।

पुटिनले भने रुसमाथि लगाइएको आरोप झूटो भएको बताएका छन् अनि रुसी विमानहरूले शरणार्थीहरू बोक्ने नगरेको स्पष्ट पारेका छन् । बेलारुसका राष्ट्रपति लुकाशेन्कोले युरोपलाई पठाउने ग्यासको आपूर्ति कटौती गर्ने भनी दिएको धम्कीलाई पनि अनुचित बताएका छन् । तर पुटिनको भनाइलाई पश्चिमीहरूले पत्याइरहेका छैनन् । 

युक्रेन सीमानजिक सैन्य तैनाथी कायम रहेको अवस्थामा बेलारुसमा समेत सैन्य तैनाथी रुसले गरेकाले यो बृहद् रणनीति अन्तर्गत चालिएको कदम हो भन्ने बुझाइ पश्चिमको छ । सैन्य विश्लेषकहरूले बेलारुस सीमामा तनाव चर्किएको फाइदा उठाउँदै पूर्वी युक्रेनमा आक्रमण गर्ने पुटिनको योजना हो भनेर समेत अनुमान गरेका छन् । 

ईयूसँगको तनाव बढिरहेको अवस्थामा आफ्नो साझेदारको सुरक्षाका लागि मस्कोले बेलारुसमा पोल्यान्ड सीमानजिक सैनिकहरू समेत पठाएको छ । त्यसो त रुसले यसरी अचानक आफ्ना सैनिकहरू त्यहाँ अभ्यासका लागि पठाएको भनेको छ । त्यससँगै गत साता दुईपटक रुसका आणविक बमवर्षक विमानहरू बेलारुसमा उडेका थिए ।

रुसी अधिकारीहरूले पोल्यान्डमा बेलारुस सीमा नजिक सैन्य तैनाथी बढेकाले प्रतिक्रियास्वरूप यो उडान गरिएको बताएका छन् । 

युक्रेन सीमानजिक सैन्य तैनाथी कायम रहेको अवस्थामा बेलारुसमा समेत सैन्य तैनाथी रुसले गरेकाले यो बृहद् रणनीति अन्तर्गत चालिएको कदम हो भन्ने बुझाइ पश्चिमको छ । सैन्य विश्लेषकहरूले बेलारुस सीमामा तनाव चर्किएको फाइदा उठाउँदै पूर्वी युक्रेनमा आक्रमण गर्ने पुटिनको योजना हो भनेर समेत अनुमान गरेका छन् । 

त्यसको प्रतिकार गर्नका लागि बेलायतले आफ्ना सयौं सैनिकहरू बेलारुस सीमा नजिक पोल्यान्डमा तैनाथ गरेको छ । पोल्यान्डका २० हजार सैनिकहरू पहिलेदेखि नै बेलारुस सीमामा खटिएका छन् ।

त्यसमाथि रुसले नेटोमा पठाउने गरेको आफ्नो प्रतिनिधिको क्रियाकलाप बन्द गर्ने अनि मस्कोमा रहेको नेटोको कार्यालय पनि बन्द गर्ने निर्णय लिएकाले पश्चिमसँगको युद्धको सम्भावना थप बढेको छ । 

salt training

कमेन्ट गर्नुहोस्