
काठमाडौं उपत्यकामा बढ्दो सवारीसाधनको चाप र पर्याप्त पार्किङ क्षेत्र नहुँदा हुँदै आएको सास्ती कम गर्न बहुतले पार्किङ बनाउने परियोजना अघि सारिएको छ । काठमाडौं उपत्यकामा बहुतले पार्किङ बनाउने चर्चाका बीच नगर विकास कोषले २ वर्षभित्रमा विभिन्न ३६ स्थानमा पार्किङ बनाउन ऋण लगानी गर्ने भएको छ ।
कोषले अहिले विभिन्न ३६ स्थानमा पार्किङ आवश्यक देखिएको भन्दै स्थानहरू तोकेर सम्बद्ध निकायहरूसँग प्रस्ताव माग गरेको छ । यी स्थानमा कम्तीमा १०० सवारीसाधन पार्किङ गर्ने संरचना विकास तथा निर्माण गर्दा करीब रू. ३ अर्ब ६० करोड लगानी आवश्यक पर्ने देखिएको छ । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आयोजना पहिचान भएका स्थानमा २५ वर्षसम्मका लागि ऋण लगानी गरिने बताए । ‘एउटा बहुतले पार्किङ भवन अर्थात् १०० सवारीसाधन अटाउन सक्ने संरचना विकास गर्न अधिकतम रू. १० करोडसम्म लागत पर्न जान्छ,’ सापकोटाले भने ।
सामान्यतया एउटा कार तथा सवारीसाधन पार्किङ गर्ने संरचना निर्माणमा न्यूनतम रू. ८ लाखदेखि अधिकतम रू. १० लाखसम्म लागत आवश्यक हुने आकलन गरिएको उनले बताए । यो लगानी कोषले ऋणका रूपमा गरिदिनेछ । अहिले छनोट भएका अधिकतम स्थानमा पार्किङ बनाइने उनले बताए ।
शहरी विकास मन्त्री तथा सचिवज्यूबाट पनि निरन्तर चासो आएकाले यो परियोजना कार्यान्वयनमा जाने उनको दाबी छ । स्थान छनोट, डिजाइनदेखि निर्माण सम्पन्न गर्दासम्म २ वर्षजति लाग्ने उनले बताए ।
कोषले सम्भावित ३६ स्थानमा आवश्यक पर्ने देखेर ती स्थान तोकेको भन्दै उनले अन्य स्थानबाट पनि प्रस्ताव तथा माग आएमा अध्ययन गरेर ऋण लगानी गरिने बताए । १५ दिनभित्रमा प्रस्ताव पेश गर्न भनेको कोषले आएका प्रस्तावहरूको अध्ययन गरेर अघि बढिने उनले बताए । कोषले शुक्रवार सूचना जारी गर्दै उक्त अवधिभित्र परियोजना निर्माण तथा सञ्चालन गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाहरूसँग लिखित कागजात माग गरेको छ । आर्थिक अभियान दैनिकमा हिमा विकले खबर लेखेकी छन् ।