
यो साता पर्सियाली खाडीको राजनीतिमा क्रान्तिकारी परिवर्तन आएको झलक दिने एउटा घटना भएको छ ।
खाडी मुलुक कतारका शासक शेख तमिम बिन हमाद अल थानी अमेरिकाको भ्रमणमा जाँदा अमेरिकी राष्ट्रपति जो बाइडनले कतारलाई प्रमुख गैरनेटो साझेदार बनाउने योजना रहेको घोषणा गरे । गत अगस्ट महिनामा अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता लैजाँदा कतारले सहयोग गरेकाले यो दर्जा दिन लागेको बाइडनले बताए ।
बाइडनको यस घोषणासँगै अमेरिकाका लागि कतारको भूरणनीतिक महत्त्व स्थापित भएको छ । अमेरिकाको पूर्ववर्ती ट्रम्प प्रशासनले साउदी अरबलाई बढी महत्त्व दिएको थियो । अनि कतारविरुद्ध साउदी नेतृत्वको गठबन्धन गल्फ कोअपरेसन काउन्सिलले लगाएको नाकाबन्दीलाई अमेरिकाले अप्रत्यक्ष समर्थन गरेको थियो । यसरी एक समयमा क्षेत्रीय रूपमा एक्ल्याइएको कतार अहिले खाडीको सर्वाधिक महत्त्वपूर्ण राष्ट्र बन्न लागेको छ ।
कतारसँग भएको ग्यासखानीका कारण यो स्थिति आएको हो । वर्ल्डोमिटरको आँकडाअनुसार, रुस र इरानपछि सबैभन्दा धेरै प्राकृतिक ग्यासको भण्डार भएको मुुलुक कतार हो । कतारसँग संसारको कुल ग्यासको १२.५ प्रतिशत सञ्चिति छ ।
त्यसो त ग्यास उत्पादनको सवालमा अमेरिका शीर्ष स्थानमा छ भने रुस दोस्रो स्थानमा छ । तर कतार पनि छैटौं स्थानमा रही आफूलाई ऊर्जा आपूर्तिको क्षेत्रमा प्रमुख खेलाडीका रूपमा स्थापित गराउन सफल छ ।
कतार थोरै जनसंख्या भएको अनि भौगोलिक रूपमा अत्यन्तै सानो देश हो । त्यसैले उसको ग्यास देशभित्र खपत भएर पनि निकै बढी उब्रिन्छ । उसको वार्षिक खपतभन्दा ६०९ गुणा बढी उससँग सञ्चिति छ । यसको अर्थ हुन्छ, उससँग अझै ६०९ वर्षलाई पुग्ने ग्यास छ ।
त्यसैले कतार संसारका विभिन्न देशलाई ग्यास आपूर्ति गर्छ । इरानबाहेक खाडीका अन्य मुलुकमा पर्याप्त मात्रामा तेल छ तर ग्यास छैन । कतार यसको ठीक उल्टो छ किनकि उससँग तेलभन्दा बढी ग्यास छ । संसार अब जीवाष्म इन्धन (फसिल फ्युल) बाट नवीकरणीय ऊर्जातर्फ आकर्षित भइरहेको स्थितिमा कतारको ग्यास भण्डारले उसलाई थप बलियो बनाउने देखिन्छ ।
बाइडनले पनि कतारको ग्यासकै कारण उसलाई ‘मेजर नन नेटो अलाई’को दर्जा दिएका हुन् । यसको जरो अहिले युरोपमा चलिरहेको संकेटसँग जोडिन्छ । अमेरिकाको साझेदार युरोप ग्यासका लागि रुसप्रति चरम निर्भर छ । युरोपले उपभोग गर्ने एकतिहाइ ग्यास रुसबाटै आउँछ ।
तर युक्रेन संकटका कारण रुसबाट युरोपमा हुने ग्यासको आपूर्ति जोखिममा परेको युरोपेलीहरूको सोच छ । युक्रेनमाथि रुसले आक्रमण गरेमा रुसमाथि आर्थिक तथा अन्य प्रतिबन्ध लगाइने र बदलामा उसले ग्यास आपूर्ति बन्द गरिदिने आकलन युरोपको छ । अमेरिका पनि त्यससँग सहमत देखिन्छ ।
यस्तो अवस्थामा ग्यास आपूर्तिको विविधीकरणमा अमेरिका र युरोपले जोड दिएका छन् । त्यसो त युरोपले आफूसँग ग्यास किनोस् भन्ने अमेरिकाको चाहना हो तर महंगो पर्न जाने भएकाले युरोप त्यसमा इच्छुक छैन । त्यसैले अमेरिका कतारलाई गैरनेटो प्रमुख साझेदारको दर्जा दिएर युरोपमा ग्यास आपूर्ति गर्न उसलाई फकाइरहेको छ ।
कतारले युरोपलाई सहयोग गर्न आफू इच्छुक रहेको बताएको छ तर उसले सीमित मात्रामा मात्र सहयोग गर्न सक्छ । कतारका ऊर्जामन्त्री साद अल काबीले रुसबाट ग्यास आपूर्ति रोकिएमा आफू एक्लैले युरोपको माग पूरा गर्न नसक्ने बताएका छन् ।
त्यसो त कतारले पहिले नै एसियाका विभिन्न मुलुकहरूसँग ग्यास आपूर्तिको दीर्घकालीन सम्झौता गरिसकेको छ । त्यस सम्झौतालाई तोडेर ऊ युरोपमा चाहिएजति ग्यास दिन असमर्थ देखिन्छ ।
त्यससँगै कतारले युरोपेली संघ (ईयू) लाई ग्यास आपूर्तिका विषयमा एउटा शर्त तेर्स्याएको छ । कतारले बेचेको ग्यास ईयूमा मात्र उपयोग हुनुपर्ने, त्यसलाई ईयूले अन्यत्र बेच्न नपाउने कतारको भनाइ छ । आफ्नो ग्यास युरोपेलीहरूले नाफा खाएर नबेचून् भन्ने कतारको चिन्ता जायज छ ।
त्यसैले आपूर्ति सम्झौतामा ‘डेस्टिनेसन क्लज’ (गन्तव्यसम्बन्धी प्रावधान) राख्नुपर्ने कतारको भनाइ छ । तर ईयूले प्रतिस्पर्धा कानूनको हवाला दिँदै यसमा अनकनाइरहेको अवस्था छ ।
जे भए पनि युरोपको ऊर्जा मागलाई रुसबाट चुनौती तेर्सिएमा कतारको सहयोग अपरिहार्य छ । त्यसले पनि कतारको महत्त्वलाई थप उचाइ दिएको छ ।
आफूसँग भएको भूरणनीतिक महत्त्वको प्राकृतिक स्रोतका अलावा रणनीतिक अवस्थितिका कारण पनि कतार अमेरिकाका लागि अपरिहार्य बन्दै गएको छ । इरान, इराक र टर्की कतारबाट नजिकै पर्छन् अनि खाडीका महत्त्वपूर्ण राज्यहरूको स्थलसीमा कतारसँग जोडिन्छ ।
कतारमा रहेको अल–उदैद एयरबेस अमेरिकी सेनाको सेन्ट्रल कमान्डअन्तर्गत पर्छ । मध्यपूर्वमा सैन्य कारवाहीका लागि अमेरिकाको महत्त्वपूर्ण संरचनाका रूपमा उक्त एयरबेस रहेको छ ।
विशेषगरी अफगानिस्तानबाट सैनिकहरू फिर्ता लगेपछि अमेरिकाले आतंकवादीहरूको सूचना संकलन, खोजी र निगरानी (आईएसआर) कारवाहीका लागि कतारको एयरबेसलाई पहिलेभन्दा बढी उपयोग गर्न थालेको छ ।
कतारको महत्त्व बढ्नुमा उसको बुद्धिमत्तापूर्ण कूटनीतिक पहल पनि जिम्मेवार छ । नाकाबन्दी प्रकरणपछि कतारले खाडी मुलुकहरूसँगको सम्बन्ध सुमधुर बनाइसकेको छ भने इरान र टर्कीसँग पनि उसको राम्रो सम्बन्ध छ । इरानसँग राम्रो सम्बन्ध राख्दा पनि अमेरिकाले कतारलाई विश्वास गरेर साझेदारको दर्जा दिनु कतारको कूटनीतिक विजय हो ।
अनि अलजजीरा जस्तो सञ्चारमाध्यम तथा विभिन्न विदेशी परियोजनामा सुझबुझपूर्ण लगानी गरेर कतारले आफ्नो सफ्ट पावरको प्रदर्शन पनि गर्न सकेको छ । सफ्ट पावरका कारण नै खाडीमा पहिलोपटक विश्वकप फूटबल जस्तो भव्य आयोजनको अवसर कतारले पाउन लागेको छ । अर्को साल हुने उक्त आयोजनले कतारको छविलाई थप उकास्नेछ ।
अब अमेरिकाले कतारलाई दिएको साझेदारको दर्जाको चर्चा गरौं । यस्तो दर्जा पाउने मुलुक नेटो साझेदारको हैसियतमा चाहिँ पुग्दैन । अर्थात्, मानौं कतारमाथि आक्रमण भयो भने उसको रक्षाका लागि अमेरिका बाध्य हुँदैन । तर उसलाई हातहतियार तथा सैन्य तालिम दिन अमेरिकाले उच्च प्राथमिकता चाहिँ दिन्छ ।
यस दर्जामार्फत रुसका विरुद्ध कतारलाई हतियार बनाउने अमेरिकाको रणनीतिक योजना देखिन्छ । तर कतारलाई रुस र चीनबाट अलग्याउँला भनी अमेरिकाले सोचेको छ भने त्यो उसको भूल हो भन्ने विश्लेषकहरूको मत छ ।
कतारले रुससँग सुमधुर सम्बन्ध कायम गरेको छ । यसै वर्षको आरम्भतिर रुसमा आयोजित सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरममा कतार सक्रिय रूपमा सहभागी थियो र रुसले उसलाई निकै सम्मान पनि दिएको थियो ।
हालैका वर्षमा कतार र रुसको द्विपक्षीय सम्बन्धमा उल्लेख्य वृद्धि भएको देखिन्छ । रुसमा कतारले पूर्वाधार, ऊर्जा र बैंकिङको क्षेत्रमा १३ अर्ब डलर लगानी गरेको आँकडा पाइन्छ । दुई देशबीचको व्यापार पनि वर्र्षैपिच्छे बढ्दै गएको छ ।
त्यस्तै कतारलाई चीनसँगको सम्बन्धबाट छुटाउन पनि अमेरिकाले सक्ने देखिँदैन । अमेरिका नेतृत्वको पश्चिमले बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार गरेको भए पनि कतारका शासक उद्घाटन समारोहमा भाग लिन त्यहाँ पुगिसकेका छन् । त्यसमाथि चीन कतारी ग्यासको ठूलो उपभोक्ता हो ।
अनि बदलिँदो विश्व राजनीतिमा कतार तथा खाडीका अन्य मुलुकहरूको परराष्ट्रनीति अमेरिकाप्रतिको निर्भरताबाट बिस्तारै चीनसँगको सम्बन्ध विस्तारतर्फ जान थालेको देखिन्छ ।
अमेरिकाले यसलाई रोक्ने कोशिश गरेको छ । केही महिनाअघि यूएईलाई ह्वावेको ५जी परित्याग गरेमा मात्र आफ्नो एफ–३५ लडाकू विमान दिने भनी अमेरिकाले शर्त तेर्स्याएको भए पनि यूएईले टेरपुच्छर लगाएन ।
यसरी खाडीमा बेइज्जती खेपेपछि तनावमा आएको अमेरिकाले कतारलाई साझेदार बनाएर आफ्नो प्रभाव कायम रहेको देखाउने प्रयास गरेको हुनसक्छ । तर खाडी मुलुकहरूलाई थाहा छ, अमेरिकाको ध्यान अब मध्यपूर्वबाट सरेर हिन्द–प्रशान्त क्षेत्रतर्फ केन्द्रित हुन थालेको छ । त्यसैले उसले जति कोशिश गरे पनि खाडी मुलुकहरूले उसलाई पहिलेको जस्तो पत्याउने अवस्था छैन ।
तैपनि अमेरिकाले कतारलाई दिएको ‘मेजर नन नेटो अलाई’को दर्जाले कतारलाई विश्वव्यापी रूपमा कूटनीतिक सम्मान दिनेछ । यो अनि हालै भएका घटनाक्रमले खाडीको क्षेत्रीय राजनीतिमा आमूल परिवर्तन ल्याएको देखिन्छ ।
खाडीमा यसअघि साउदी अरबको वर्चस्व रहने गरेकोमा अब ऊ दोस्रो दर्जाको खेलाडीमा घटुवा भएको देखिन्छ । जीवाष्म इन्धनको विकल्प संसारले क्रमशः खोज्दै जाँदा साउदीको तेलको माग भविष्यमा घट्नेछ ।
अनि कतारको जति मात्रामा ग्यास साउदीसँग छैन । त्यसमाथि साउदीका युवराज मोहम्मद बिन सलमानले यमनमा चलाएको युद्धका कारण पनि साउदीको छवि धमिलिएको छ । आफ्नो देशमा आलोचकहरूमाथि दमन गर्ने अनि टर्कीमा पत्रकार जमाल खाशोग्जीको हत्या गराउने बिन सलमानलाई विश्व समुदायले सकारात्मक रूपमा लिँदैन ।
खाडीमा अब (अमेरिका र इजरायलको समर्थनप्राप्त) यूएई अनि (अमेरिका र टर्कीको समर्थनप्राप्त) कतार नै सबभन्दा महत्त्वपूर्ण रणनीतिक खेलाडी बन्ने आकलन गर्न सकिन्छ । उनीहरूको उदयसँगै इरान पनि खाडीमा प्रभावशाली बन्ने देखिन्छ किनकि यूएई र कतार दुवैसँग उसको राम्रो सम्बन्ध छ ।
भौगोलिक रूपमा सानो मुलुक भए पनि कतारले आफ्नो भूरणनीतिक अवस्थिति तथा आफूसँग भएको प्राकृतिक स्रोतको सही परिचालन गर्न सकेकाले उसको शक्ति बढेको हो । बढेको यस शक्तिलाई कतारले आफ्नो कूटनीतिक छवि थप उकास्नका लागि प्रयास गर्ने विश्वास लिन सकिन्छ ।