
लामो समयदेखि निर्माणको पर्खाइमा रहेको बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको जग्गा विकासको काम शुरू भएको छ ।
चालू आर्थिक वर्षभित्रै जग्गा विकासको काम पूरा गरेर भौतिक संरचना निर्माण शुरू गर्नेगरी जग्गा विकासका लागि बोलपत्र आह्वान गर्ने तयारी गरिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनले जानकारी दिए ।
यसका लागि ७५ करोड रुपियाँ लागत अनुमान गरिएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले एक वर्षअघि शिलान्यास गरे पनि जग्गा विवादका कारण काम शुरू हुन सकेको थिएन ।
अहिले जग्गा विवाद समाधान हुने देखिएकाले खाली जग्गा विकासको काम शुरू गर्ने तयारी गरिएको प्रमुख पुनले बताए । उनले फागुनको पहिलो सातामा जग्गा विकासका लागि बोलपत्र आह्वान गर्ने र बोलपत्र स्वीकृत भएलगत्तै औद्योगिक क्षेत्रको ३३८ बिघा जग्गामध्ये ८० प्रतिशत क्षेत्र समतल बनाउन थालिने उनले बताए । गोरखापत्र दैनिकमा खबर छ ।