
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोग गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् । सत्ता गठबन्धनमा एमसीसीमा सहमति नभएपछि प्रधानमन्त्रीले विपक्षी दललाई सहमत गराउने कोशिष गरेका हुन् ।
बिहीवार राति भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओलीको निवास पुगेर देउवाले एमसीसीमा समर्थन गर्न आग्रह गरेका हुन् । बालुवाटारमा सत्ता गठबन्धनको बैठक सकिएलगत्तै पत्नीसहित देउवा बालकोट पुगेका थिए ।
झण्डै २ घण्टा लामो भेटमा एमसीसी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव बारे छलफल भएको थियो । स्रोतका अनुसार ओलीले वैशाख ३० गतेका लागि तोकिएको चुनाव प्रभावित पार्न महाभियोग प्रस्ताव दर्ता गरिएको भन्दै आपत्ति जनाएका थिए ।
राति साढे ८ बजेपछि बालकोट पुगेका देउवा झण्डै साढे १० बजे बालकोटबाट बाहिरिएका थिए । एकचरण छलफल गरेर बाहिरिएका देउवा एमालेका अरु नेताहरु गएपछि फेरि छलफलमा बसेका थिए ।
दुई नेताहरुबीच भएको यो महत्वपूर्ण भेटवार्ताबारे दुवै पक्षले खुलाएको छैन । ‘मिडियामा भन्नु पर्ने केही कुरा भएको छैन’ ओलीको सचिवालयले भन्यो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भने देउवा ओलीको भेटप्रति शंका व्यक्त गरेको छ । ‘एमसीसी पास गर्न सत्तासाझेदार दलहरु तयार नदेखिएपछि प्रधानमन्त्री देउवा केपी ओलीलाई गुहार्न अहिले भर्खर बालकोट पुगेका छन’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेका छन् ।
गठबन्धनको बैठक भोलि बिहान १० बजेका लागि तय भएको छ । प्रधानमन्त्री देउवाले भोलि बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा कार्यव्यबस्था परामर्श समितिको बैठकमा कानून मन्त्री दीलेन्द्र बडूले एमसीसी टेबुल गर्न प्रस्ताव गरेका थिए । तर सहमति नजुट्दा बुधवार कार्यसूचीमा परेको थिएन ।
शुक्रवार दिउसो १ बजे बस्ने प्रतिनिधि सभा बैठक अघि साढे ११ बजेका लागि कार्यव्यबस्था परामर्श समितिको बैठक बोलाइएको छ ।