
नेकपा एकीकृत समाजवादीका 'सम्मानित' नेता झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)मा संसदले पास गर्ने तयारी गरेको व्याख्यात्मक घोषणा कार्यान्वयनको ग्यारेण्टी माग गरेका छन् ।
प्रतिनिधि सभामा एमसीसीमाथि आइतवार भएको सैद्धान्तिक छलफलमा भाग लिँदै खनालले आफूहरूले गर्न खोजेको व्याख्यात्मक घोषणाअनुसार संशोधन गर्न तयार छ भन्ने कुरा सरकारले ग्यारेण्टी गर्नुपर्ने बताएका हुन् ।
‘अहिले एमसीसीको व्याख्यात्मक कुरा राखेर पारित गर्ने कुरा भइरहेको छ । एकतर्फी रूपले मात्र घोषणा गर्दा त्यो कार्यान्वयन नहुन सक्छ । यो संसदले व्याख्या गरेको कुरा एमसीसी मान्न तयार छ भने यो सम्झौता सुधार गर्न सकिन्छ । सदनले पास गरेको संशोधन लागू गर्न अमेरिका तयार छ भन्ने कुराको ग्यारेण्टी सदनले जान्न चाहन्छ,’ खनालले भने, ‘हामीले अमेरिकी सहयोग नलिऔँ भनेका छैनौँ, यथास्थितिमा हामी संशोधनको पक्षमा छैनौँ, नो एमसीसी ।’
खनालले एमसीसी सम्झौतामा धेरै आपत्तिपूर्ण कुरा रहेकोले विरोध गरिएको बताए । ‘एमसीसी सम्झौतामा एक ठाउँ होइन ठाउँठाउँमा अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणा लागू हुने कुरा गरिएको छ, जुन शर्त हामीलाई मान्य छैन, हामी हाम्रै सुरक्षा छाता ओढ्न चाहन्छौं,’ खनालले भने ।
अमेरिकाको प्रचलित कानून र भविष्यमा बन्ने कानून मान्नुपर्ने कुरा आपत्तिपूर्ण रहेको बताए । ‘अमेरिकाले तिब्बत कानून बनाउँदैछ, हङकङ कानून बनाउँदैछ, ती कानून पनि हामीले पारित गर्ने ? हाम्रो देशले सबै अमेरिकी कानून मान्दै गए छिमेकी देशसँगको सम्बन्ध कस्तो होला ? जुन देशले छिमेकीसँगको सम्बन्ध राम्रो बनाउन सक्दैन त्यो देशको भविष्य हुँदैन,’ खनालले भने, ‘नेपालले युक्रेनबाट पाठ सिकेर छिमेकीसँगको सम्बन्धमा दूरदर्शी र बुद्धिमत्तापूर्ण ढंगले निर्णय गर्नुपर्छ ।’
खनालले एमसीसीबारे छलफलका लागि संसदको वातावरण अनुकूल नरहेको भन्दै राजनीतिक सहमति कायम गरेर छलफल गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे ।
सम्झौतामा अमेरिकाले चाहेको अवस्थामा जुनसुकै समयमा संशोधन हुन सक्ने उल्लेख भएको र त्यसअनुसार संशोधन गराउनुपर्ने खनालले बताए ।
‘यथास्थितिमा नो एमसीसी । यस्थास्थितिमा एमसीसी पारित गर्ने अवस्थामा छैनौँ,’ उनले भने ।
संसदको अवरोध खुलाउन प्रधानमन्त्रीले पहल गर्नुपर्ने र नसक्दा प्रधानमन्त्रीमाथि प्रश्न उठ्ने पनि खनालले बताए ।
एमसीसीमाथि छलफल गर्नका लागि संसदमा छलफलको वातावरण बनाइनुपर्ने उनले बताए ।
‘वेलमा जे आवाज आइरहेको छ त्यो बन्द हुनुपर्यो । समामुखले वेलमा शान्ति स्थापना गर्ने उपाय निकाल्नुपर्छ,’ खनालले भने ।