०६ साउन २०८३, बुधबार
अधिकांश सांसदका खुद्रे योजना

चुनावी राजनीति– झण्डै १५ सय योजना बोकेर गाउँगाउँ पुगे प्रदेशका माननीय

फागुन २९, २०७८
चुनावी राजनीति– झण्डै १५ सय योजना बोकेर गाउँगाउँ पुगे प्रदेशका माननीय
फाइल फोटो

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रदेश सांसदहरू विभिन्न योजना बोकेर गाउँगाउँमा पुगेका छन् । 

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सांसदले छनोट गरेका योजनाका लागि प्रदेश १ का १ सय ३७ मध्ये १ सय ३६ स्थानीय तहमा बजेट पुगेको छ ।

सोलुखुम्बुको लिखुपिके गाँउपालिकामा भने कुनै पनि कार्यक्रम परेको छैन । यो प्रदेश सांसदमार्फत बजेट नपाउने प्रदेशकै एक मात्र स्थानीय तह हो ।

राजनीतिक प्रतिशोध साँधेर आफ्नो पालिकामा बजेट विनियोजन नगरिदिएको गुनासो लिखुपिके गाँउपालिकाका अध्यक्ष डम्बर बस्नेतले गरे । 

गाउँपालिका अध्यक्ष नेकपा माओवादी केन्द्रका हुन् भने प्रदेश सांसद नेकपा एमालेबाट निर्वाचित भएका छन् ।

उक्त क्षेत्रबाट निर्वाचित एमाले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने आफूले राजनीतिका प्रतिशोध नसाँधेको बताए ।

दूधकोशीमा मोटरेबल पुल अलपत्र परेकाले त्यसलाई प्रथामिकता दिएको उनको भनाइ छ ।

एक करोड बजेट पाउनेमा ७१ लाख एउटै योजनामा छुट्याएको उनले बताए । स–साना योजना बनाउनुभन्दा एउटै योजनालाई प्राथमिकता दिएको उनको भनाइ छ । 

चालू आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रदेश पूर्वाधार विकास कार्यक्रमका नाममा सांसदलाई साढे ७४ करोड बजेट बिनियोजन गरिएको थियो । तर दुई सांसद कारवाहीमा परेपछि डेढ करोड रुपैयाँ भने घटेको छ । माओवादीले टंक आङ्बुहाङलाई कारवाही गरेर पदमुक्त गरेको छ भने एमालेकी गुलेफुन खातुन कीर्ते मुद्दामा दोषी ठहर भएर फरार छिन् ।

आङ्बुहाङ प्रत्यक्ष निर्वाचित सांसद हुन भने खातुन समानुपातिक तर्फकी सांसद हुन् ।

प्रत्यक्ष निर्वाचित सांसदलाई १ करोड र समानुपातिक सांसदलाई ५० लाख रूपैयाँ बजेट उपलब्ध हुने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७८ मा उल्लेख छ ।

प्रत्यक्ष निर्वाचित सदस्यले एक–एक करोड र समानुपातिक सदस्यले ५० लाख रुपैयाँ बराबरका योजना छनोट गरेर समन्धित जिल्ला समन्वय समितिमार्फत पठाएका छन् । 

पूर्वाधार विकास कार्यक्रममा ९१ सांसदले १४ सय ९५ वटा योजना छनोट गरेका छन् ।

प्रत्यक्ष निर्वाचित सदस्यले एक–एक करोड र समानुपातिक सदस्यले ५० लाख रुपैयाँ बराबरका योजना छनोट गरेर समन्धित जिल्ला समन्वय समितिमार्फत पठाएका छन् । 

जिल्ला समन्वय समितिले सांसदले छनोट गरेका योजना स्थानीय तहमा पठाइसकेपछि आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट स्थानीय तहलाई पठाउने गरेको छ । 

सांसदहरूले छनोट गरेका योजनाको बजेट स्थानीय तहमा पठाइसकिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव पुण्यप्रसाद रिजालले बताए । उनका अनुसार धेरै योजनाहरू १ लाखसम्मका मात्रै रहेका छन् ।

पूर्वाधार विकाससम्बन्धी योजना छनोट गर्दा ५ लाख रुपैयाँभन्दा माथि र विपन्न लक्षित क्षमता विकास, महामारीजन्य रोग र प्रकोप नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी, खेलकुद तथा सांस्कृतिक जनचेतनामूलक, सहकारी एवं सञ्चारसम्बन्धी आयोजनामा अधिकतम पन्ध्र लाखसम्म विनियोजन गर्न सकिने व्यवस्था छ । 

एक लाख रुपैयाँभन्दा कम छनोट गर्न नपाउने कार्यविधिमा उल्लेख गरिएको छ । अधिकांश सांसदले १ लाख हाराहारीका स–साना योजनाहरू सिफारिश गरेको उपसचिव रिजालले जानकारी दिए ।

१६ माघमा नै सम्बन्धित स्थानीय तहमा छनोट भएका कार्यक्रमको बजेट निकासा गरिसकेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

संघमा जस्तै प्रदेशमा पनि सांसदलाई बजेट उपलब्ध गराउने कुराको विरोध समेत हुँदै आएको छ ।

नीति निर्माण गर्नेहरू बजेटको लुछाचुँडीमा लाग्नु उपयुक्त नभएको आर्थिक विश्लेषक डा. अर्जुन बराल बताउँछन् । 

वडाध्यक्षले गर्ने काम सांसदहरूले गरिरहेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्