
सरकारले नेपाल प्रहरीमा थपिएका तल्लो तहका ३ पदमा बढुवा प्रक्रिया शुरू गरेको छ ।
सरकारले प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा मनोबल खस्किएको निष्कर्षसहित थप भएका पदमा बढुवा प्रक्रिया अघि बढाएको हो ।
यो प्रक्रियामा प्रहरीका तल्ला तहमा रहेका ३ तहका २० हजार ४१९ प्रहरीको बढुवा हुनेछ । बढुवा प्रक्रिया बिहीवारबाट नै शुरू भएको हो ।
सरकारले प्रहरी नियमावली २०७१ को नवौं संशोधनमार्फत जवान र हबल्दारको बीचमा प्रहरी सहायक हवल्दार, हवल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हवल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायब निरीक्षक पद सिर्जना गरेको थियो ।
यी नयाँ सिर्जना गरिएका पदमा एकैपटक बढुवा गर्न कार्यसम्पादन मूल्यांकन चाहिने भएकाले पहिलो पटकलाई वरिष्ठताका आधारमा बढुवा गर्ने प्रक्रिया थालिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रहरी प्रशासन शाखाका उपसचिव गणेश गैह्रेका अनुसार नियमावली संशोधनपछि ३ पदमा गरेर २० हजार ४१९ प्रहरीको बढुवा हुनेछ ।
उनका अनुसार प्रहरी नायब निरीक्षकबाट प्रहरी वरिष्ठ नायब निरीक्षकमा १ हजार ४१८ जना, प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दारमा ३ हजार ७४८ जना र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा १५ हजार २५३ जना बढुवा हुनेछन् ।
यीमध्ये पहिलो चरणमा बिहीवार प्रहरी वरिष्ठ नायब निरीक्षकमा १९१ जना, प्रहरी वरिष्ठ हबल्दारमा १ हजार १७३ जना तथा प्रहरी सहायक हवल्दारमा १ हजार ७५२ जना बढुवा सिफारिस भएका छन् ।
दरबन्दी सिर्जना भएअनुरूप क्रमशः बढुवा गर्दै लैजाने प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभाग अन्तर्गतको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले लामो समयसम्म वृत्ति विकास हुन नसकेका तल्लो तहका प्रहरीहरूलाई काममा हौसला बढाउन यो निर्णय लिइएको बताए ।
‘लामो समयदेखि तल्लो तहका प्रहरीहरूको बढुवा हुन सकिरहेको थिएन, उनीहरूको बढुवा गरेर वृत्ति विकास गर्न पद थप्ने निर्णय गरेका हौं,’ गृहमन्त्री खाँणले भने, ‘यसमा सम्माननीय प्रधानमन्त्रीको पनि ठूलो सहयोग रहेको छ ।’ राजधानीमा खबर छ ।